coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पहिचान र साँघुरिँदो राष्ट्रियता

संस्कृति मानवीय सिप, लगन, श्रम र मेहनतको प्रतिफल हो। विश्वभरका मानवद्वारा सिर्जित संस्कृति विश्व संस्कृतिको दायराभित्र पर्छ। विश्व श्रम बजारमा विश्व संस्कृतिका अनेकन् रंग र आयाम सिर्जना भई चाकाचुलीझैँ फनफनी घुमिरहेछन्। अमूर्त संस्कृतिको बाहकका रूपमा रहेको भाषाको निश्चित सीमा नभएझैँ विश्व संस्कृति विश्वजनिन मानव सिप र मेहनतमा मौलाएको हुन्छ। विश्वलाई फराकिलो प्राज्ञिक चश्माले हेर्न, बुझ्न र अध्ययन गर्न सकेमा विश्व मानवद्वारा सिर्जित विश्व संस्कृतिको बुझाईमा सहज हुनेछ।

नेपालको सन्दर्भमा भन्नुपर्दा मेचीदेखि महाकाली र उत्तरदेखि हिमालसम्म झाँगिएको विशाल संस्कृतिभित्र सिंगो नेपाली संस्कृति प्रतिबिम्बित छ। वर्तमान नेपालको सीमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न जातजाति तथा समुदायले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका हाम्रा विभिन्न जाति एवं समुदायका पुर्खाले सिर्जना र अवलम्बन गरी हामीलाई सुम्पिएर गएका भौतिक/अभौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो।

पूर्वको किरात संंस्कृति, काठमाडौँको उन्नत नेवार संस्कृति, पश्चिम तराईको थारू संस्कृति अर्थात मगरातको मगर संस्कृति नै किन नहोस्। भौगोलिक, सांस्कृतिक, जातीय, भाषिक तथा धार्मिक विविधताको सोपानमा हाम्रो एकतापूर्ण नेपाली संस्कृति र पहिचान उपल्लो, सर्वोपरि र पूर्ण छ। विश्व संस्कृतिको दायराभित्र हाम्रो पहिलो पहिचान मानव हो। भूगोल निर्धारित हाम्रो दोस्रो पहिचान नेपाली हो अनि जातीयादि पहिचानचाहिँ  

पहिचानको सवाल

सामान्यतयाः कुनै पनि वस्तुको गुण, मूल्यादि चिन्ने वा जान्ने काम पहिचान हो। नेपाल जातीय दृष्टिकोणले पत्रैपत्रयुक्त विचित्र राष्ट्र हो। यहाँ बस्ने एवं नेपाली नागरिकता प्राप्त गर्ने हाम्रो समष्टिगत पहिचान नेपाली हो। कुनै पनि जाति संसारमा जातिच्युत वा जातिबाट पतित हुन चाहन्न। जातीयताको आधारमा गरिने भेदभाव, जातीवाद, संकीर्ण जातियताको सोचले कसैको भलो पनि गर्दैन। यसो भन्दैमा जातीय स्वधर्म, संस्कृति एवं मौलिक पहिचानमाथि प्रश्न उठाउनु भनेको अरिङ्गालकोे गोलोमा हात हालेसमान हो। सबैलाई चेतना भया। दस वर्षअघि प्रारम्भ भएको शान्ति प्रक्रिया एउटा उज्यालोतर्फको यात्रा थियो, जुन आज विस्तारै अँध्यारोमा परिणत हुँदै गएको छ। वास्तवमा विविधतामा एकता, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता नेपालको मुख्य विशेषता हो। लिच्छविकालदेखि आधुनिक कालसम्म आइपुग्दा पनि नेपाली समाज र समुदायमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावले दरिलो जरा गाडेको छ। प्राचीनकालदेखि नै नेपालका विभिन्न जातजातिबीच एकापसमा सुमधुर र अन्योन्याश्रित सम्बन्ध रहिआएको सन्दर्भमा सामुदायिक एवं क्षेत्रीय अविश्वास देखा पर्नु बडो दुःखद् पक्ष हो।

विश्व मानचित्रमा नेपाल हाम्रो सानो र साझा घर हो भने हामी सबै नेपाली एउटै घरका सदस्यहरु हौँ। नेपाल हाम्रो र सयौं जातजाति एउटै फूलका माला नेपाली हौं। विश्वमा नेपालीको पहिचान र अस्तित्व भुल्नु भनेको समुद्ररूपी विशाल मानसरोवरमा जातिरूपी एक थोपा पानीको फोका गौण सावित भएतुल्य हो। यसो भन्दैमा एउटा विशाल सरोवरमा एक थोपा पानीको मूल्यलाई अस्तित्वविहीन ठान्ने हो भने त्यो हाम्रो ठूलो भूल हुनेछ। फूलको सौन्दर्य र शोभा पत्ता च्यात्नाले धुजाधुजा भएझैँ सिंगो मुलुकलाई भावनात्मकरूपमा टुक्राउने प्रयास कहीँ कतैबाट भएमा इतिहासले त्यसलाई कुनै हालतमा क्षम्य गर्ने छैन।

समावेशिता भनेको भाषा, धर्म, जाति र संस्कृतिसँग प्रत्यक्ष जोडिएको सवाल हो। जातीय पहिचानको पछाडि लाग्दा देशप्रेम, राष्ट्रियता एवं भू–धरातलीय अखण्डतामाथि प्रश्न चिह्न उठ्छ भने त्यस्तो जातीय पहिचानले खासै मूल्य राख्दैन। साथै त्यस्तो अभियान दिगो, भरपर्दो र विश्वसनीय पनि हुँदैन। भाषा, धर्म, कला र संस्कृतिको संरक्षण एवं विकास हुनु भनेको मुलुक समृद्धितर्फ लम्कनु हो। वास्तवमा हाम्रा पूर्वजहरुको चाहना पनि एउटै साझा फूलवारीमा समान अवसर र वातावरणमा अँकुराई फूल्न र फक्रन पाउनुपर्छ भन्ने नै थियो। संसारले चिन्ने हाम्रो जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक पहिचान भनेकै सिंगो नेपाली जाति, सिंगो राष्ट्रभाषा, धर्मनिरपेक्षता र सांस्कृतिक बहुलता हो। अनिमात्र हामी पूर्वका किराती हौं, मधेसका मधेसी हौं, पश्चिम तराईका थारू हांै, सिञ्जाका खस ब्राह्मण क्षत्री हौं, उपत्यकाका आदिवासी नेवार जाति र समुदाय हौं। समष्टिमा हामी नेपाली हौं। त्यसैले अबको आर्थिक विकास र समृद्ध नेपालको परिकल्पना सबै नेपालीको साझा एजेन्डा बन्न सक्नुपर्छ।

राष्ट्रियता र राष्ट्रप्रेम

साधारणतया एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक नै राष्ट्र हो भने राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना राष्ट्रियता हो। हाम्रो पहिचान र चिनारी वास्तवमा राष्ट्रिय अखण्डता, राष्ट्रियता र राष्ट्रप्रेमी भावनाद्वारा अनुप्राणित छ। अमेरिकी मानवशास्त्री क्लिफर्ड गर्जका अनुसार– 'राष्ट्रको राजनीति राष्ट्रिय सांस्कृतिक डिजाइनको प्रतिबिम्ब हो। त्यसैले राष्ट्रिय राजनीतिमा देखापरेको विभाजन हाम्रो सांस्कृतिक विभाजनको उपज हो।' जात र धर्म नेपालको समस्या होइन।

नयाँ संविधान जारी भएसँगै देशमा राष्ट्रियता र देशभक्तिको नयाँ युगको प्रारम्भ भएको भनिँदैछ। एकातिर मधेसीको प्रदेशको सीमांकनको माग जल्दोबल्दो छ भने अर्कातर्फ संघीयताको कुनै पनि संरचनैबिना संघीयतामा प्रवेश गरेको हाम्रो जस्तो उदाहरण दुनियाँमा पाइँदैन। नेपालको सन्दर्भमा संघीयता कार्यान्वयनको प्रवेशविन्दु नै जटिल बन्न पुगेको छ। विदेशीको चरम हस्तक्षेप र अमर्यादित कूटनीति रोक्न सकिएन भने नेपाललाई आधार इलाका बनाएर छिमेकी राष्ट्र भारत र चीनलाई जुधाउने खेल भइरहनेछ। भनिन्छ, संस्कृतिले विश्वलाई जोड्छ भने राजनीतिले टुक्रयाउँछ। त्यसैले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको गम्भीर बहसले जातीय, साम्प्रदायिक र क्षेत्रीय तनाव सिर्जना गर्न सक्ने प्रवल सम्भावना भएकाले विद्वत् वर्गबाट त्यसको वस्तुपरक ढंगले समीक्षा र विश्लेषण गर्नुपर्ने बेला आएको छ।  

अधिकृत, पुरातत्व विभाग  

 

 

प्रकाशित: २४ श्रावण २०७३ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App