पैसा तान्न ब्याज बढाउने होडमा बैंक

मङ्गलबार, ११ पुष २०७४, ०८ : ५७ विष्णु बेल्वासे

काठमाडौं–लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन्।

निर्वाचनमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आइनसकेको, बैंकले लिएको निक्षेपको अवधि पुसमसान्तमा सकिँदै गरेको र सरकारी ढुकुटीमा लगानीयोग्य रकम थन्किएकाले बैंकमा लगानीयोग्य रकम अभाव भएको बैंकरहरु बताउँछन् । तर, राष्ट्र बैंकका उच्च अधिकारी भने तरलताको अभाव नभएको जिकिर गर्छन्।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ३२ अर्ब मात्र रहेको डेपुटी गभर्नर शिवराज श्रेष्ठले नागरिकलाई बताए । ‘लगानीयोग्य रकम बैंकिङ प्रणालीमा रहे पनि ब्याजदर बढाउने होडबाजीमा बैंकहरु लागेका छन्,’ उनले भने, ‘सातामै ब्याजदर १० प्रतिशतबाट ११.५० प्रतिशत पु¥याउनुपर्ने आवश्यकता थिएन।’

वाणिज्य बैंकहरुले ब्याजदर बढाएका कारण विकास बैंक र वित्त कम्पनीहरु तर्सिन पुगेका छन् । ‘तर्सिनुपर्ने गरी वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने स्थिति छैन,’ उनले भने, ‘पुस मसान्तसम्ममा बैंकिङ प्रणालीमा रहेको ८० अर्ब रुपैयाँ सरकारी खातामा जान्छ र रकम अभाव हुन्छ भन्ने अनुमान कतिपयले गरेका छन्,’ उनले भने, ‘त्यसो भएकाले पनि लगानीयोग्य पुँजी अभाव हुने आशंका गरिएकाले निक्षेपको ब्याजदर बढाएको हुनुपर्छ ।’ तर, त्यसरी आत्तिनुपर्ने अवस्था नभएको दाबी डेपुटी गभर्नर श्रेष्ठले गरे।

सरकारी ढुकुटीमा ३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको पनि उनले जानकारी दिए । ‘निर्वाचनमा भएको रकम पनि बैंकिङ प्रणालीमा आउन थालेकाले पनि लगानीयोग्य पुँजीको अभाव हुँदैन,’ डेपुटी गभर्नर श्रेष्ठले भने, ‘लगानीयोग्य पुँजीको अभाव हुने भनेर अहिले नै अत्तालिनुपर्ने अवस्था छैन ।’

पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव झेलिरहेका बैंकहरुले मुद्दती खातामा उच्च ब्याज दिएर निक्षेप तान्ने होड बाजीमा उत्रेका छन् । मुद्दती खातामा ११.५०  प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका छन् ।  निक्षेपकर्ताले पनि जता बढी ब्याज आउँछ त्यतै रकम राख्न थालेका छन् । बचत खातामा कम ब्याज दिएपछि निक्षेपकर्ताले बढी ब्याज आउने मुद्दती खातामा धमाधम रकम सार्न थालेका छन् ।

अधिकांश बैंकले मुद्दती खातामा ९ देखि ११.५० प्रतिशत ब्याज दिने गरेको बैंकरको भनाइ छ । तर, सबैभन्दा बढी रकम राख्ने बचत खाताको ब्याजदर भने बैंकहरुले बढाएका छैनन् । बैंकले अहिलेसम्म पनि बचत खातामा पाँच प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन् । ‘पछिल्लो समय मुद्दती खातामा दिइने उच्च ब्याजदरले बचतकर्तालाई लोभ्याउने देखिएको छ,’ एक बैंकरले भने, ‘तरलता अभाव अझै नहटेको पनि यसले स्पष्ट संकेत देखाएको छ ।’

‘लगानीयोग्य पुँजी अभाव हटाउन पनि बैंकहरुले मुद्दती र बचत खाताको ब्याजदर नबढाई सुखै छैन,’ एक बैंकरले भने, ‘धेरै कम ब्याज दिने बैंकबाट निक्षेप झिकेर बढी ब्याज आउनेमा राख्न थाल्ने भएपछि कम ब्याज दिने बैंकहरुले पनि बाध्य भएर ब्याजदर बढाउन थाल्छन् ।’
‘बढी ब्याजदर दिएर निक्षेप संकलन गर्नुको अर्थ सस्तोमा ऋण पाइँदैन भन्ने बुझ्नुपर्छ,’ एक बैंकरले भने, ‘ब्याजदर बढ्नु भनेको ऋणको ब्याजदर अझै बढ्ने संकेत देखिनु पनि हो ।’
केन्द्रीय बैंकले कर्जा र निक्षेपको ब्याज अन्तर स्प्रेडदर पाँच प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । तोकिएको स्प्रेड दरभित्र रहेर बैंकहरुले कर्जा लगानी गर्नुुपर्ने बाध्यात्मक स्थिति छ ।  
सामान्य अवस्थामा आउन थालेको लगानीयोग्य रकम अहिले पुनः अभाव हुन थालेको छ । यस्तो अवस्थामा ब्याजदर बढाएर भए पनि बैंकहरु निक्षेप तान्न लागिपरेका छन् । महँगो ब्याजमा लिएको निक्षेप रकम महँगै दरमा लगानी गर्दा कर्जाको ब्याजदर बढ्ने बैंकरहरुको दाबी छ । 
तर, ऋणीहरु भने बढ्दा छिटोछिटो ब्याज बढाउने बैंकले घट्दा भने घटाउन आनाकानी गर्ने गरेको बताउँछन् । 
उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकोले पनि  कर्जाको ब्याज पनि बढाउने निश्चित छ । हाल बैंकहरुले १४ प्रतिशतसम्ममा कर्जा लगानी गरिरहेका छन् । कर्जाको ब्याजदर बढ्दा  कुल गार्हस्थ उत्पादनमा ह्रास आउने विज्ञहरुको भनाइ छ ।

सिक्का छाप्न पाँच कम्पनी छानिए
काठमाडौं– नेपाल राष्ट्र बैंकले सिक्का छाप्न पाँच विदेशी कम्पनीलाई छानेको छ । राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पाँचवटा कम्पनीलाई छनोट गरेको हो ।

अब ती कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । पूर्वयोग्यतामा छानिएका कम्पनीमा पोल्यान्डको मेनिका पोलस्का एसए, चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको दी रोयल मिन्ट लिमिटेड, इन्डोनेसियाको दी इन्डोनेसियन गभन्र्मेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन र फिनल्यान्डको मिन्ट अफ फिनल्यान्ड लिमिटेड छन् । यी कम्पनीमध्येबाट सबैभन्दा कम दर प्रस्ताव गर्नेले सिक्का छाप्ने ठेक्का पाउने छन् ।

केन्द्रीय बैंकले प्रत्येक दुई वर्षमा सिक्का छाप्दै आएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलले नागरिकलाई जानकारी दिए । ‘कस्तो डिजाइन बनाउने, कति छाप्ने र कुन कुन दरका छाप्ने भन्ने अझै निश्चित भएको छैन,’ उनले भने, ‘अब गृहकार्य गर्नेछौं ।’
ठूला दरका कागजी नोट मात्रै होइन, मुलुकको केन्द्रीय बैंकले एक–दुई दरका सिक्का पनि विदेशमै छाप्ने गरेको छ । स्वदेशमा सिक्का छाप्दा महँगो पर्ने भएकाले पनि विदेश जाने गरेको राष्ट्र बैंकको भनाइ छ ।

एक रुपैयाँ दरको सिक्का छाप्दा करिब दुई रुपैयाँ लागत पर्ने भएकाले पनि साना दरका सिक्का विदेशमा छपाउने गरेको राष्ट्र बैंकका उच्च अधिकारी बताउँछन् । ‘विगतमा आल्मुनियमका सबै दरका सिक्का नेपालमै छापिन्थ्यो । अहिले सबै सिक्का विदेशमै छापेर ल्याइन्छ,’ ती अधिकारीले भने, ‘नेपालमा महँगो पर्ने भएकाले विदेश जान बाध्य भएका हौं ।’ हाल अल्मुनियमका सिक्का चलनचल्तीमा छैन । 

राष्ट्र बैंकले ०६५–६६ सालदेखि सबै सिक्का विदेशमा छाप्दै आएको छ । नेपालले चीन, दक्षिण अफ्रिका लगायत देशमा एक र दुई रुपैयाँ दरका सिक्का छाप्दै आएको छ ।
राष्ट्र बैंकले सिक्का छाप्न दक्ष जनशक्तिको अभाव हुन थालेकाले पनि सिक्का विदेशमा छाप्न थालेको बताएको छ । 
टक्सार विभागबाट राष्ट्र बैंकले केही वर्षअघिसम्म पाँच पैसा, १० पैसा, २५ पैसा, ५० पैसा, एक रुपैयाँ, दुई रुपैयाँ, पाँच रुपैयाँ र १० रुपैयाँ दरका सिक्का निष्कासन गरेको थियो । 

‘बैंक तथा वित्तीय संस्था, धार्मिक संघ–संस्था, सार्वजनिक सवारीसाधन सञ्चालक समेत ठूलो मात्रामा सिक्का साट्न आउने गर्छन्,’ सम्बद्ध अधिकारीले भने, ‘एकैपटक ठूलो परिणाममा सिक्का खरिद हुने गर्छ ।’ राष्ट्र बैंकले एक रुपैयाँ दरका सिक्का कम मात्रै बजार पठाउने गरेको छ । एक रुपैयाँ दरको सिक्का छाप्दा बढी घाटा हुने भएकाले पनि दुई रुपैयाँको सिक्का बढी दिनुपरेको राष्ट्र बैंकको भनाइ छ । 

एक र दुई रुपैयाँको सिक्का बैंक तथा वित्तीय संस्थामा फिर्ता आउँदैनन् । राष्ट्र बैंकले कागजी नोट पुराना भएपछि फिर्ता लिने गरे पनि पुराना सिक्का फिर्ता लिँदैन । ‘धेरै ठाउँमा प्रयोग भएपछि सिक्का कालो हुने र पहिचान गर्न समेत कठिन हुने गरेका कारण त्यस्तो सिक्का फिर्ता लिइँदैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।
सबैभन्दा बढी सिक्काको प्रयोग तुलादानका बेला हुने गर्छ । तुलादान भनेको व्यक्तिको तौलबराबर सिक्का (एकापट्टि मानिस र अर्कोपट्टि सिक्का राखेर) दान हो । यस्तो धार्मिक कार्यमा सिक्का प्रयोगमा आउने गरेको केन्द्रीय बैंकको भनाइ छ ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad