coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यापारिक मार्गका संरचना हटाउँदै स्थानीय

विस्तरा भइरहेको ६ लेनको वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको सिमरास्थित स्थानीयको पक्की घर भत्काउँदै स्काभेटर ।

बारा–देशको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण कार्यमा स्थानीय घरधनी सहयोगी बनेको पाइएको छ । सडक क्षेत्रमा पर्ने अधिकांश घरधनीले घर तथा पक्की संरचना भत्काएर ६ लेन सडक निर्माण कार्यमा सहयोगी बनेका हुन्।

सडक विस्तार गर्दा घर र टहरा हटाउँन प्रहरी प्रशासनको सहयोग लिनुपर्ने भएपनि उक्त व्यापारिक मार्गमा पर्ने भौतिक संरचना हटाउन स्थानीय आफैं कस्सिएर लागेका छन् । बाराको पथलैयादेखि पर्साको सुक्का बन्दरगाह रहेको सिर्सियासम्मको २६ किलोमिटर सडकलाई ६ लेनको व्यापारिक मार्ग बनाउन लागिएको हो। 

उक्त क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्यमा स्थानीय सहयोगी बनेकाले निर्माण कार्य छिटो सम्पन्न हुने व्यापारिक मार्ग विस्तार आयोजना वीरगन्ज–पथलैयाका अधिकारीको भनाइ छ । उक्त सडक खण्डमा पर्ने सिमरा बजार क्षेत्रको जग्गामा भएका घरटहरा आफैंले हटाएको स्थानीय पुष्कर रायमाझीले बताए।

सडक विस्तार कार्यमा घरटहरा सहित जग्गा परेपछि त्यसलाई नहटाउँदा सडक निर्माणमा अवरोध हुनसक्ने भएकाले व्यापारिक मार्ग विस्तार आयोजनाले निकालेको सूचनाको आधारमा नै घरटहरा हटाएको रायमाझीले बताए ।
६ लेनको व्यपारीक मार्गमा पथलैया, सिमरा, जितपुर, नितनपुर लगायत गाउँ र सहर पर्ने व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख रवीन्द्रलाल दासले बताए । जितपुर बजार क्षेत्रका बाहेक अधिकांशले सडकमा पर्ने भौतिक संरचना आफैं हटाएर सहयोगी भूमिका निर्वाह गरेको आयोजना प्रमुख दासले बताए।

‘हाल रहेको दुई लेनको सडक खण्डको मध्य भागबाट दायाँ २५ मिटर र बायाँ २५ मिटर विस्तार गरी ५० मिटरको ६ लेनको सडक निर्माण भइरहेको छ,’ आयोजना प्रमुख दासले भने, ‘दुई लेनको सडकलाई एकैचोटी ६ लेनमा विस्तार गर्दा धेरै स्थानीयको घर सडक क्षेत्रमा परेका छन्।’
सडक क्षेत्रमा घर पर्ने सिमराका धेरै घरधनीलाई भौतिक संरचना हटाउन मेसिनरी सामग्री तथा मजदुर उपलब्ध गराएपछि उनीहरुले घरटहरा र भौतिक संरचना हटाएर सहयोग गरेको आयोजना प्रमुख दासले बताए।

‘आव ०७२÷७३ असार ३१ गते दुई वर्षभित्र वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग निर्माणका लागि विभिन्न निर्माण कम्पनी भ्याट र कन्सल्टेन्सी बाहेक लगभग तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँमा ठेक्का सकार गरेर निर्माण कार्यमा खटिएका छन्,’  आयोजना प्रमुख  दासले भने, ‘सडक क्षेत्रमा पर्ने भौतिक संरचनालाई स्थानीयले आफैं हटाउँदा निर्माण कार्यमा संलग्न ठेकेदारको मनोबल बढेको छ।’

आव ०७४÷७५ को असार महिनाभित्र २६ किमी सडक खण्ड निर्माण सम्पन्न गरिने लक्ष्य लिएपनि स्थानीय तह, प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्दा निर्माण कार्यमा ६ महिना ढिलाइ भएको दासले बताए । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म लगभग १६ किमी एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुक्का बन्दरगाहसम्म करिब १० किमीसम्मको अर्को खण्ड गरी दुई खण्डमा सडक विस्तार कार्य अगाडि बढाइएको आयोजनाका अधिकारीले जानकारी दिए।

पथलैयादेखि परवानीपुरसम्म करिब १६ किमीको सडक खण्डलाई एमआर कन्टेक जेभी, शर्मा युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी र एमआर कन्टेक जेभीले खण्ड खण्डमा गरी लगभग एक अर्ब ८१ करोड २६ लाखमा ठेक्का सकार गरी निर्माण कार्य सुरु गरेका छन् । त्यस्तै परवानीपुरदेखि सिर्सियाको सुक्का बन्दरगाहसम्मको करिब १० किमी सडक खण्डलाई एमआर/पप्पु कन्टेक जेभी वीरगन्ज, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी हेटौंडा र पप्पु/लुुम्बनी जेभी वीरगन्जले खण्ड खण्ड गरी एक अर्ब ३१ करोड १५ लाख रुपैयाँमा ठेक्का सकार गरेको दासले बताए।

परवानीपुरदेखि सिर्सियाको सुक्का बन्दरगाहसम्म लगभग १० किमी सडक खण्ड निर्माण ठेक्का पाएको एमआर/पप्पु कन्टेक जेभी वीरगन्ज, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी हेटौंडा र पाप्पु/लुुम्बनी जेभी वीरगन्जको सडक निर्माण कार्यमा अन्यको तुलनामा कम प्रगति देखिएको दासले बताए ।

 

 

प्रकाशित: ११ पुस २०७४ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App