५ वैशाख २०८१ बुधबार
खेल

अपराजित विराटनगर क्वालिफायरमा

काठमाडौं–एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबार विराटनगरले काठमाडौं किङ्स ११ लाई ८ रनले र भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजलाई ७ विकेटले हराउँदै शीर्ष चारको स्थान पक्का गर्दा लिग चरण पार गर्नका लागि अन्य टोलीबीच रस्साकस्सी जारी छ । 

‘समग्र टोलीले उत्कृष्ट प्रदर्शन गरेकाले हामी विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेका छौ  । अब प्लेअफमा टोलीको वास्तविक परीक्षण हुनेछ । जहाँ हामीले अझ उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।’

अंशुमन रथको अलराउन्ड प्रदर्शन तथा बाबर हायतको अर्धशतकप्रेरित विराटनगर अपराजित यात्रालाई निरन्तरता दिने क्रममा काठमाडौंमाथि ८ रनको विजय हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्त्याइएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो । १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले ९ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो ।

जितसँगै विराटनगरले अविजित रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का गर्दा काठमाडौंको यात्रा लगभग टुंगिएको छ । काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । सिद्धान्त लोहनी ९ तथा सागर कुमार १२ रन बनाएर क्रिजमा थिए । अन्तिम ओभर लिएर आएका रामनरेश गिरीले पहिलो बलमै सागरलाई करण केसीमार्फत क्याच गराए । दोस्रो बल डट खेलाएका रामनरेशको तेस्रो बलमा सिद्धान्तले छक्का हान्दै सम्भावना जीवित राखे ।

काठमाडौंलाई जितका लागि ३ बलमा ११ रनको आवश्यकता थियो । रामनरेशले चौथो बल वाइड फाले । अब काठमाडौंलाई जित्न ३ बलमा १० रन आवश्यक प¥यो । लामो सट खेल्न लागेको बेला सिद्धान्त (१५) ले अनिलकुमार शाहलाई क्याच थमाएपछि काठमाडौंको आशा पातलियो । त्यसपछि बाँकी दुई बलमा रामनरेशले १ रन मात्र दिए ।

‘समग्र टोलीले उत्कृष्ट प्रदर्शन गरेकाले हामी विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेका छौ ,’ विराटनगरका कप्तान पारसले भने, ‘अब प्लेअफमा टोलीको वास्तविक परीक्षण हुनेछ । जहाँ हामीले अझ उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।’
हारपछि काठमाडौंको इपिएल यात्रा लिग चरणबाट लगभग समाप्त भएको छ । फारभिज माहरुफको टोलीले ५ मध्ये १ खेल मात्र जित्यो । चितवनलाई ४ विकेटले पराजित गर्नुबाहेक अन्य खेलमा काठमाडौं निरीह बन्यो । यससँगै श्रीलंकन टेस्ट खेलाडी माहरुफको कप्तानी प्रयोगमै सीमित बनेको छ । माहारुफले विराटनगरविरुद्ध प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन भएको बताए ।
‘विराटनगरलाई गतिलो चुनौती दिए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनौं,’ प्रतियोगितामा टोलीले गरेको प्रदर्शनबारे महारुफले थपे, ‘चोटका कारण मैले स्तरअनुसारको प्रदर्शन गर्न सकिनँ । सोचेअनुरूपको प्रदर्शन गर्न नसक्नुमा कुनै खेलाडीलाई दोष दिनुभन्दा पनि कप्तानको हिसाबमा म यसको सम्पूर्ण जिम्मेवारी लिन्छु ।’
महारुफले नेपाली समर्थकबाट राम्रो स्वागत पाएको भन्दै क्लबले चाहे प्रतियोगिताको अर्को संस्करणका लागि पनि उपलब्ध हुने बताए ।
सोमबार माहरुफले बनाएको ४२ रन नै काठमाडौंका ब्याट्सम्यानले बनाएको सबैभन्दा ठूलो स्कोर रह्यो । उनीबाहेक नरेश बुढाऐरले ३० रन बनाउँदा सागर पुन १३ रन बनाएर पवेलियन फर्किएका थिए । महारुफ र नरेशले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरे पनि उनीहरू पवेलियन फर्केपछि काठमाडौंको इनिङ धरमराएको थियो ।
विराटनगरका अंशुमनले ४ ओभरमा १९ रन दिएर ३ विकट लिँदा वसन्त रेग्मी र रामनरेशको नाममा समान २/२ विकेट रह्यो । करण र कप्तान पारस खड्काले १/१ विकेट लिए । धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका वसन्तले ११ विकेट आफ्नो नाममा लेखाएका छन् ।
तीन विकेट लिएका अंशुमनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि बाबर हायतसँग ७२ रनको साझेदारी गरे । बाबर हायतले ५० बलमा ५ चौका र ४ छक्कासहित ६७ रन बनाए । प्रतियोगितामा बाबरले २ सय ४० रन बनाइसकेका छन् । प्रतियोगितामा सबैभन्दा बढी १२ छक्का प्रहार गरेका बाबर धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहँदा २ सय ४ रन बनाएका अंशुमन दोस्रो स्थानमा छन् । कप्तान पारसले २५ बलमा २६ रन जोडे ।
काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २/२ विकेट लिँदा जितेन्द्र मुखिया र माहरुफको नाममा १/१ विकेट थियो ।
सोमबारै दोस्रो खेलमा पोखराको अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गरे पनि मध्य र तल्लो क्रमका ब्याट्सम्यानले प्रदर्शन नगर्दा लिग चरण पार गर्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । ओपनर इस्ररुल्लाहले ४१ तथा सुनील धमलाले १५ रन जोडे । असिफ अलीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा टस जितेर ब्याटिङ रोजेको पोखराले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन जोड्यो । १ सय ९ रनको लक्ष्य भैरहवाले १४ बलअघि ३ विकेट गुमाएर पूरा ग¥यो ।
‘यस जितले दोस्रो स्थानमा रहेर प्लेअफ खेल्ने सम्भावना बढाएको छ,’ भैरहवाका कप्तान शरद भेषावकरले भने, ‘पोखराले पहिलो पावर प्लेमा आक्रामक ब्याटिङ गर्दै विशाल स्कोर बनाउने संकेत गरेको थियो । तर, बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि कम स्कोरमा रोक्न सफल भयांै । त्यसले केही सहज भयो ।’
पोखराले अब अन्तिम खेलमा ललितपुरविरुद्ध खेल्नेछ । पोखरा ललितपुर प्याट्रियट्ससँग पराजित हुने र चितवन टाइगर्सले भैरहवालाई पराजित गरे शीर्ष चारमा पुग्ने २ टोलीको टुंगो रनरेटबाट लाग्नेछ । पोखरा र भैरहवाले खेल जिते पनि चारमध्ये अन्तिम १ टोलीको टुंगो रनरेटबाट तय हुनेछ । त्यस्तो स्थितिमा काठमाडौंको सम्भावना पनि जीवित हुनेछ ।

‘इलिमिनेटरमा हाम्रो स्थान पक्का भइसकेको छ । क्वालिफाइङ खेल्ने हाम्रो सम्भावना अझै जीवित छ,’ पोखराका कप्तान शक्ति गौचनले भने, ‘त्यसका लागि हामीले ललितपुरलाई ठूलो अन्तरमा हराउनुका साथै भैरहवाले खेल गुमायो भने हामी दोस्रो स्थानमा रहेर प्लेअफ खेल्न सक्छौं ।’
भैरहवाका लागि आरिफ शेखले अविजित ४८ रन बनाउँदा कप्तान शरद पनि ३२ रनमा अविजित रहे । प्रथम सलुन्केले २५ रन बनाए । सलुन्केले विक्रम सोबको एकै ओभरमा लगातर पाँच चोैका प्रहार गरेका थिए । पोखराका ताज वालीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए । 
त्यसअघि पोखरालाई १ सय ८ रनमा समेट्न दीपेश श्रेष्ठ, शरद र कृष्ण कार्कीले समान २/२ विकेट लिँदा सलुन्के, हरिशंकर शाह, आरिफ र पुनीत मिश्राको नाममा १/१ विकेट रह्यो ।

 

प्रकाशित: ११ पुस २०७४ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App