१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सानो पर्दामा फर्किंदै पारिवारिक सिरियल

टेलिसिरियल ‘अधिकार’मा मुख्य सहायक निर्देशक राधाकृष्ण आचार्य(बायाँ), निर्देशक रमेश कोइराला (बीच) र कलाकार रमेश बुढाथोकी र टेलिसिरियल ‘परिचय’की प्रमुख कलाकार सरिता लामिछाने र अर्की कलाकार कविता शर्मा ।

काठमाडौं–एकताका नेपाल टेलिभिजनको रेटिङमा नम्बर एकमा आएको टेलिसिरियल ‘परिचय’ आधा दशकपछि पुनः टेलिभिजनमा फर्किएको छ । यो सिरियलको निर्देशन पनि अघिल्लो सिरियलका निर्देशक ऋषि लामिछानेले नै गरेका छन् । उनको होम प्रोडक्सनको ब्यानरबाट निर्माण भइरहेको यो सिरियल हेरेका दर्शकबाट पाएको प्रतिक्रियाबाट उनी मख्ख छन्।

लामिछानेका अनुसार सिरियल प्रसारण भएपछि अधिकांश दर्शकले उनलाई र अभिनेत्री सरिता लामिछानेलाई मोबाइल र इमेलमा सुखद सन्देश पठाउँछन् । अभिनेत्री सरिता निर्देशक ऋषिकी श्रीमती हुन् । ‘सिरियल पनि समयको माग अनुसार चल्दो रहेछ । कमेडी सिरियल एकपछि अर्को आउँदा दर्शकले त्यो बेला कमेडीकै माग बढी गरे ।

पारिवारिक सिरियल हेर्दा कहिले भावुक त कहिले खुसी हुने दर्शक कमेडी सिरियलको आगमनपछि रुनुको साटो हाँसेको हाँसेकै भए । सामाजिक विषयलाई कमेडी शैलीमा प्रस्तुत गर्ने सिरियलको शैलीले पारिवारिक सिरियल विस्थापितझैं बने । तर, अहिले अवस्था फेरिन थालेको छ ।

त्यो समयमा पारिवारिक सिरियल कम देखिए,’ ऋषिले भने, ‘नेपालमा झन्डै ८० प्रतिशत दर्शकले सिरियल हेर्छन् । त्यो अनुपातमा फिल्म हेर्नेको संख्या कम छ । फिल्म हेर्न पैसा तिरेर हलमै पुग्नुपर्ने झन्झटभन्दा घरमै बसेर परिवारसँग निशुल्कः सिरियल हेर्न पाउने सुविधाले पनि सिरियलप्रति आकर्षण बढेको छ ।’ उनको सिरियलमा सरिता लामिछाने, वर्षा राउत, सुनिल कटुवाल, आरपी पन्तलगायतका कलाकारको अभिनय छ ।

लामो समयपछि सिरियल लिएर टेलिभिजनमा फर्किने ऋषि एक उदाहरण मात्र हुन् । एकताका टेलिभिजनमा सामाजिक विषयमा बनाइएका टेलिसिरियल निकै प्रसारण हुन्थे । पारिवारिक र सामाजिक विषयका टेलिसिरियलले उचाई लिइरहँदा आएका कमेडी विधाका सिरियलले पारिवारिक सिरियललाई लगभग विस्थापित गरिदिएका थिए । पारिवारिक सिरियल हेर्दा कहिले भावुक त कहिले खुशी हुने दर्शक कमेडी सिरियलको आगमनपछि रुनुको साटो हाँसेको हाँसेकै भए । सामाजिक विषयलाई कमेडी शैलीमा प्रस्तुत गर्ने सिरियलको शैलीले पारिवारिक सिरियल विस्थापित झैं बने । तर, अहिले अवस्था फेरिएको छ ।

कुनै समयमा टेलिभिजनमा एक छत्रराज गरेका कमेडी सिरियलको क्रेज घट्दो क्रममा देखिएको छ । सामाजिक सिरियल बनाउनेले यही मौका छोप्दै नयाँ सिरियल बनाउन सुरु गरेका छन् । कतिले बनाएका प्रसारण हुन थालिसके भने केही प्रसारणको तयारीमा छन् ।

राष्ट्रिय सूचना आयोगका लागि निर्देशक रमेश कोइरालाले निर्देशन गरेको टेलिसिरियल ‘अधिकार’ आगामी पौष २१ गतेबाट नेपाल टेलिभिजनमै प्रसारण हुँदैछ । सात वर्षअघि उनीद्वारा निर्देशित टेलिसिरियल ‘भाग्य आ–आफ्नो’ प्रसारण भएपछि उनी यसपटक फेरि टेलिभिजन पुग्दैछन् । ‘यो बीचको समयमा फिल्म, वृत्तचित्रको काममा लागियो । परिवार तथा आफन्तले पनि सिरियल बनाउनु प¥यो भन्न थाले, ’रमेशले भने, ‘पारिवारिक सिरियल बनाउँदा अलिक बढी खर्च भए पनि त्यसको विशेष महत्व छ । सामाजिक विषयका सिरियलले समाजमा सन्देश दिने भएकाले पनि यसमा बढी लगाव छ ।’

आफ्नो सिरियलले आम जनताले सूचना पाउने अधिकारका विषयमा वकालत गर्ने उनले बताए । पछिल्लो समयमा साना र कम खर्चिला सिरियल बनाएर युट्युब च्यानलमा हेर्ने चलन बढिरहँदा दर्शकले ठूलो क्यानभासको सिरियल खोज्न थालेको रमेशको बुझाइ छ । उनको सिरियलमा सनम कठायत, रश्मी भट्ट, घनश्याम खतिवडा, रिजा भुसाललगायतको अभिनय छ । रमेशले यसअघि ‘जन्मभूमि’, ‘प्रेरणा’, ‘परिणाम’, ‘प्रतीक्षाको आँसु’ सिरियल बनाइसकेका छन् भने उनी निर्देशित फिल्म ‘मन मनमा’ र ‘लिला’ पनि रिलिज भइसकेका छन् ।

साहित्कार रमेश विकलको उपन्यासमा निर्देशक बद्री अधिकारीले  बनाएको टेलिसिरियल ‘अविरल बग्दछ इन्द्रावती’ एकताका टेलिभिजनमा निकै रुचाइएको थियो । साहित्यिक कृतिलाई सिरियलमा प्रस्तुत गर्न रुचाउने बद्रीले सो सिरियल बनाएका थिए । अहिले उनी अर्का साहित्यकार मोदनाथ प्रश्रितको कृति ‘मानव’को सुटिङ र सम्पादनमा व्यस्त छन् । ‘यो सिरियलले ५०÷६० वर्ष अघिको सामाजिक अवस्थालाई चित्रण गर्नेछ । त्यो बेलाको जातपात, सामन्ती संस्कारलाई सिरियलको विषय बनाएका छौं,’ बद्रीले खुलाए, ‘अविरल बग्दछ इन्द्रावतीका विषयसँग केही कुरा मिल्छन् । तर, कथा अलिक फरक किसिमको छ ।’

पछिल्लो समयमा टेलिभिजनको ध्यान कमेडीभन्दा पनि सामाजिक र पारिवारिक  सिरियलतिर गएको बद्रीको बुझाइ छ । ‘टेलिभिजनले सन्देश दिने किसिमका सिरियल खोज्न थालेका छन् । सामाजिक वा पारिवारिक जुन विषय भए पनि सन्देशमूलक चाहिन्छ भन्ने टेलिभिजनको बुझाइ छ,’ बद्रीले सुनाए, ‘त्यसकारणले पनि मेरो सिरियल बढी समाज लक्षित हुन्छन् । कमेडी पनि दर्शकले रुचाउँछन् । तर, सामाजिक विषय दीर्घकालिन हुन्छ ।’

जनता टेलिभिजनले निर्माण गरिरहेको यो सिरियल अब डेढमहिना पछि टेलिभिजनमा आउने छ । थिएटरका नयाँ कलाकारको वर्चस्व रहेको यो सिरियलमा रवि गिरी, गणेश मुनाललगायतका अग्रज कलाकारको अभिनय छ । यो सिरियलपछि बद्री फागुनबाट नयाँ सिरियलको काम सुरु गर्ने योजनामा छन् ।

यतिमात्र होइन, राजधानीमा चलिरहेका अधिकांश टेलिभिजनले विस्तारै सामाजिक विषयका सिरियल प्रसारण गर्ने नीति लिएका छन् । यो क्रममा एपिवान टेलिभिजन, कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजनले पनि सामाजिक र पारिवारिक टेलिसिरियलमा चासो देखाउन थालेका छन् ।
सञ्चारकर्मी तथा टेलिसिरियल निर्देशक प्रकाश सुवेदीले निर्देशन गरेको सिरियल ‘रिसानी माफ’ कान्तिपुर टेलिभिजनबाट प्रसारण सुरु भइसकेको छ । ‘यो विशुद्ध सामाजिक व्यंग्यात्मक सिरियल हो । सामाजिक व्यंग्य र सामाजिक सन्देश दिँदै दर्शक हँसाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘टेलिभिजनबाट प्रसारण भएदेखि यसको प्रतिक्रिया राम्रो पाएका छौं ।’

टेलिभिजनमा कमेडी सिरियलको बाढी आए जस्तै सामाजिक सिरियलको बाढी नआए पनि बाढी ल्याउने सुरुवात चाहिँ सिरियलका निर्देशकले गर्न थालेका छन् । कमेडीभन्दा पनि सूचना र सन्देश दिने किसिमको सिरियल निर्माण क्रमले पनि पारिवारिक सिरियलको वर्चस्व पुनस्थापित हुने संकेत दिइसकेको छ ।

 

 

प्रकाशित: ११ पुस २०७४ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App