coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

म्यादी प्रहरीको तलब पढाईमा

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका छात्र पवन राई म्यादी प्रहरीको झण्डै दुई महिने सेवा पूरा गरेर शुक्रबार बिदा भए। म्यादी प्रहरीको सेवासुविधावापत ५२ हजार र जिल्ला प्रहरी कार्यालयको प्रशंसा–पत्र बुझेर बाहिरिएका राईले बचेको रकम आफ्नो अध्ययनका लागि खर्च गर्ने बताए। ‘होटलमा खाएको तिर्दा कम्तीमा तीस हजार जोगिन्छ,’ च्यास्मीटार उच्च माबिमा कक्षा १२ मा अध्ययनरत राईले भने, ‘केही रकम बाआमालाई दिन्छु, बाँकी रकम आफ्नै पढाईमा खर्च गर्छु।’

म्यादी प्रहरीबाट बिदा भएका कञ्चनपुर जिल्ला पुर्नबास नगरपालिकाका छात्र भुवन राना पनि बचेको रकम उच्च शिक्षाका लागि उपयोग गर्ने तयारीमा छन्। प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेपछि आवश्यक खर्च जुटाउनका लागि घर बनाउने काम गर्न दिक्तेल आइपुगेकाबेला राना म्यादी प्रहरीमा भर्ना भएका थिए। ‘खर्च कटाउँदा छत्तिस हजार बचेको छ,’ रानाले भने, ‘अझै महिना दिन घर बनाउने काम गरेर रकम बढाएर घर फकिन्छु र स्नातक भर्ना हुन्छु।’

मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि खोटाङमा ९८२ म्यादी प्रहरी भर्ना भएका थिए। म्यादी प्रहरीको ५५ दिने सेवाअवधि पूरा गरेर बिदाई हुनेमध्ये अधिकांश छात्र÷छात्रा छन्। पढ्दापढ्दै कक्षा छाडेर म्यादी प्रहरी बनेका उनीहरु बचत भएको पैसा पोशाक, भर्ना, पुस्तक, कापी खरिद लगायतमा खर्च गर्ने सोचमा छन्। कतिपय छात्र÷छात्रा त पढाई खर्चकै लागि पनि म्यादी प्रहरीमा भर्ना भएको बताउँछन्।

आफ्नो शैक्षिक भविष्य उज्वल बनाउने सपना बोकेर म्यादी प्रहरीमा भर्ना भएपछि उनीहरुले पढाई खर्च मात्र बनाएनन्, फौजी नियम र अनुशासन पनि सिके। नयाँ–नयाँ साथीसँग सम्पर्क र चिनजान स्थापित गरेका छन्। कतिपय भविष्यमा प्रहरी बनेर सेवा गर्ने सोच बनाएर घर फर्किएका छन्। ‘पढाई खर्च पनि बनायौँ, प्रहरीको नियम र कानून जान्ने अवशर पनि मिल्यो,’ बाहुनीडाँडाका लालबहादुर भुजेलले भने, ‘थोरै समय भए पनि महत्वपूर्ण घडीमा देशका लागि सेवा गर्न पायौँ।’ भारतमा बसेर अध्ययन गरिरहेका भुजेल दशैंतिहार बनाउन घर आएकाबेलामा म्यादी प्रहरीमा भर्ना भएका थिए।

म्यादी प्रहरीबाट बिदा भएका अधिकांश बाआमाले पनि बचेको रकम बालबच्चाको पढाइकै लागि खर्च गर्ने बताएका छन् । कतिपयले घर खर्चदेखि ऋण तिर्ने, मन परेको सामान किन्ने, लाउनेसम्मका योजना बनाएका छन् । ‘छोरी बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्छिन्,’ रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी मिना मुग्रातीले भनिन्, ‘एउटै परिवारजस्तो भएर बसियो, हात परेको पैसा छोरी पढाउनका लागि खर्च गर्नेछु।’

कतिपय होटल सञ्चालकलाई सस्तोमा खाना खुवाउनका लागि आग्रह गरिएकाले म्यादी प्रहरीको केही रकम बचतमा सहयोग पुगेको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । ‘म्यादी प्रहरीलाई सस्तोमा खाना खुवाउनका लागि होटल सञ्चालकलाई आग्रह गरेका थियौँ,’ डिएसपी थापाले भने, ‘हाम्रो आग्रह अनुशार कतिपय होटल सञ्चालकले केही रकम छुट दिएको पाएका छौँ।’

पुस ७ गतेसम्मका लागि गत कार्तिक १२ गते भर्ना भएका म्यादी प्रहरी शुक्रबार बिदाइ भएका छन्। कतिपय ठाउँमा रासनमा घोटाला भएको, दुव्र्यवहार भएको र म्यादी प्रहरीको गोली लागेर मृत्यु नै भएको घट्ना सार्वजनिक भइरहँदा खोटाङका म्यादी प्रहरी भने हर्षोल्लास र जिम्मेवारीबोधकासाथ बिदा भएका छन्। विदाई हुनेक्रममा जिल्ला प्रहरी कार्यालय परिषर दिनभर डिएसपी थापासँग तस्बिर खिचाउनेको भीड लागेको थियो। डिएसपी थापालाई म्यादीसँग तस्बिर खिचाउन भ्याइनभ्याई भएको थियो।

प्रकाशित: १० पुस २०७४ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App