coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धानको राजनीति

झापा—वर्ष दिन अघि झापालाई धानको ‘सुपर जोन’ घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बनियानीमा घोषणा गरेका थिए, ‘अहिलेसम्म भगवान खुशी भएर पानी पारिदिएका कारण धान फलेको हो। तर कुनै वर्ष भगवान रिसाए भने के हुन्छ ? त्यसैले अब सिँचाई, मल र  बजारको समस्या हल हुने गरी यो कार्यक्रम अघि बढ्नेछ।’

ठ्याक्कै वर्ष दिनपछि उनै दाहाल पनि कमाण्डर रहेको वाम गठबन्धन निर्वाचन जितेको खुशीयाली साटिरहेको छ। तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सरकारद्वारा नै सुपर जोन घोषित झापाका किसान भने धानको मुल्य नपाएको र  बजारको मुल्यले लगानीसमेत नउठाएको दिक्दारी भोगिरहेका छन्। त्यसबेलाका प्रधानमन्त्रीले किसानका लागि सरकारले बजारको उचित प्रबन्ध गरिदिने घोषणा गरेका थिए।

त्यसको केही समयपछि दाहालकै दलको समर्थनमा  काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले कामचलाउ हैसियतमा उनकै नेतृत्वको सरकार छ। तर, सत्ता हस्तान्तरण, राष्ट्रिय सभा गठन विवाद जस्ता ठूला राजनीतिक मुद्दाको पछि लागेको सरकार मात्रै होइन, अधिकांश किसान जनताको मत पाएर नयाँ सरकार गठन नजिकै पुगेका एमाले, माओवादीले समेत किसानको यो समस्या देखेको नदेख्यै गरिरहेका छन्।

झापाका  किसानले धानमा आफुले गरेको  लगानी यसपाली पनि उठाउन सकेनन्। सिजनको शुरुआतमै धानको न्यूनतम समर्थन मुल्य निर्धारणको माग गरेका देशभरीका किसानको माग सरकारले वेवास्ता गर्यो। अहिलेसम्म सरकारले न्यूनतम समर्थन मुल्य पनि निर्धारण गरेन। सरकारको यो वेवास्ता व्यापारीका लागि किसान ठग्ने ‘लाइसेन्स’ बन्यो। ‘धान सुपर जोनमा बजारको व्यवस्था पनि गरिनेछ भनेर सरकारले बारम्बार भन्दै आयो’, झापा बनियानीका किसान नरेन्द्र राजवंशीले भने ‘तर, अहिलेसम्म केही गरेन। गाउँका व्यापारीले मनलाग्दी भाऊमा धानको कारोबार गरेका छन्।’ उनका अनुसार यसपटक चुनावको चटारोका बेला किसानले धान थन्क्याइरहेका थिए। धेरैले त्यहीबेला बजार पुर्याइरहेका थिए। तर, त्यो बेला अरु सबैथरी आश्वासन दिने नेताहरुले किसानको यो समस्याबारे भने कहिँकतै उल्लेख गरेनन्। ‘किसानले धान बेचेरै घरपरिवार चलाउने, छोराछोरी पढाउने र औषधिमुलो गर्नेहुन भन्ने हाम्रा नेतालाई थाहा छ’, राजवंशीको आक्रोश छ ‘तर, व्यापारी रिझाउन उनीहरु यसलाई वेवास्ता गर्छन्। अहिले पनि त्यही भइरहेको छ।’

यसपटक मंसिरको शुरुतिरै  धान बेचेका किसानले प्रतिमन आठ सय रुपैयाँदेखि साढे नौ सय रुपैयाँसम्म पाएका थिए। सातायता झापाको बजारमा धानको मुल्य बढीमा प्रतिमन १ हजारसम्म छ। जिल्लामा अत्यधिक खेती हुने र मसिनो जातको रञ्जित धानको भाऊ हो यो। अन्य मोटो धानको मुल्य भने यो भन्दा पनि कम्ति छ। ‘यो लगानी पनि नउठ्ने दाम हो’, बनियानीस्थित धान सुपर जोनको कार्यालय नजिकैका  अर्का किसान भक्ति सुवेदीले भने ‘तर, जसरी भए पनि धान नबेची सुखै छैन । किनभने भएभरको आम्दानीको स्रोत खेतीपाती नै हो ।’

झापाका पृथ्वीनगर, बालुवाडी, बनियानी, पाठामारी, केचना र  पथरिया क्षेत्र धान सुपर जोन घोषित कार्यक्रमले समेटेका ठाउँहरु हुन् । यहीँका किसानको यो हालत हुँदा अन्यत्रका किसानको अवस्था झनै नाजुक छ ।

सरकारले न्यूनतम समर्थन मुल्य निर्धारण नगरेको कारण आफुहरु मारमा रहेको किसानको भनाईमा सरकारी अधिकारीहरु पनि सहमत छन् । लामो समय कृषि कार्यालयमा कार्यरत रहेका हाल अर्जुनधारा नगरमा योजना अधिकृतको जिम्मेवारीमा रहेका शालिकराम भट्टराई अहिलेको बजार भाऊले किसानको लगानी पनि नउठ्ने स्वीकार गर्छन् । ‘यो सत्य हो यो भाऊ भएन’, उनले भने ‘तर, सरकारले पनि तत्काल समर्थन मुल्य तोक्न सक्ने अवस्था छैन । किनभने सरकारसँग धान भण्डारण गर्ने र किसानबाट किन्ने संयन्त्र र क्षमता छैन ।’

नगरमा कृषि क्षेत्रकै जिम्मा लिएका उनका अनुसार भारतको पञ्जाब र हरियाणा राज्यमा धानको उत्पादकत्व उच्च हुँदा नेपाली बजारमा धानको मुल्यमा गिरावट आएको हो । ‘ती भारतीय राज्यमा धानको उत्पादकत्व प्रतिहेक्टर ६ मेट्रिक टन पुगेको छ’, उनले भने ‘नेपालमा ज्यादै राम्रो उत्पादन हुने ठाउँमा पनि त्यो दर पाँच मेट्रिक टनभन्दा थोरै नै छ । त्यसैले दक्षिण एशिया मात्रै होइन, खाडी मुलुकसम्मै पञ्जाव र हरियाणाको चामलले धानेको छ । नेपालमा लगातार त्यहीँको चामल आइरहेको छ । त्यसैले यहाँको धानले आफ्नो प्रतिष्पर्धी क्षमता गुमाएको हो ।’

एकातिर उच्च सरकारी सुविधासहित उत्पादित चामलको आयात बढ्नु, अर्कातिर नेपाली किसानको लगानी भने खेतबारीमा बढेको बढ्यै गर्दा पनि समस्या चुििलएको हो । नेपाली किसानले एक विघा जमिनलाई रोप्ने बनाउन कम्तीमा चार पटक जोत्नुपर्छ । कम्तीमा १५ सय रुपैयाँ घण्टाका दरले ट्याक्टरले जोतेको मात्रै ९ हजार रुपैयाँ लाग्छ । एक विघाको आली लगाएको ४५ सय रुपैयाँ पर्छ । ६ हजारको रोपाहार लाग्छ । रोप्दा र पछि मल हाल्दा कम्तीमा ५ हजार लाग्छ । त्यसबाहेक धान गोड्न ५ हजार, काट्न ६ हजार, उठाउन र कुटाउन गरेर थप १० हजार रुपैयाँ लाग्छ । यसरी एक विघामा खेती लगाउँदादेखि थन्क्याउँदासम्म कम्तीमा ५० हजार  रुपैयाँ लगानी भएको हुन्छ । यसरी लगानी गरेर रोपेको धान मुश्किलले ६० देखि ६५   मन फल्ने गरेको भट्टराईको भनाई छ । ‘त्यसको पनि मुल्य नपाएपछि किसानको अवस्था दयनीय हुन्छ नै’, उनी भन्छन्  ।

झापामा सरदर  ९० हजार  हेक्टर क्षेत्रफलको जमिनमा धान खेती हुन्छ । त्यसमा पनि ठूलो क्षेत्रफल सिञ्चाई अभावले ग्रस्त छ । यस्तोमा किसानले आफ्नै लगानीमा बोरिङ समेत गरेका छन् । यसको पनि अलग्गै तर ठूलो खर्च छ । जिल्लाको धान खेतीयोग्य जमिनमध्ये   ३८ हजार ७ सय ७० हेक्टरमा मात्रै सिञ्चाईको भरपर्दो सुविधा छ । तर, ४७ हजार ४ सय ४६ हेक्टर जमिनमा हुने धान खेती पूर्ण रुपमा आकाशे पानीको भरमा छ।

प्रकाशित: १० पुस २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App