coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडकले जोडियो डोल्पा

त्रिवेणी (डोल्पा)- 'यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना आज पूरा भयो,' जाजरकोट चौरजहारीदेखि सडक उद्घाटनको रौनक हेर्न पुगेका धर्म बोहोरा (८०) ले नागरिकसँगखुसी साटे, 'तपाईंहरूलाई धेरै धन्यवाद, अझै राम्रो गर्नुहोला।'

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आइतबार डोल्पा सिमानामा सडकउद्घाटन गर्दा धर्मसहित सयौंको संख्यामा युवा, प्रौढ र बालकालिकाको उपस्थिति थियो।उपस्थित हरेकको अनुहार उज्यालोे थियो, सडक निर्माण र यसले ल्याउने परिवर्तन देख्न पाउने आशाले।उद्घाटनक्रममा बाजागाजासहित जाजरकोट, रुकुम र डोल्पाको संगम त्रिवेणीमा जम्मा भएका स्थानीयमा खुसीको उन्माद थियो।

सरकारले योजनामा पारेको १४ वर्षपछि यो दुर्गम हिमाली जिल्ला रणनीतिक सडक सञ्जालमा जोडिएको छ। सरकारले नवौं आवधिक योजना अर्थात आर्थिक वर्ष २०५४/५५ मा सडकले नछोएका सबै जिल्लामा पुर्‍याउने लक्ष्य लिएको थियो। त्यसयता ४ वटा आवधिक योजना कार्यान्वयन भइसकेको छ। सडकले डोल्पा छोए पनि हुम्लामा भने अझै पुग्न सकेको छैन।

डोल्पा जिल्लासम्म पुर्‍याइएको सडक यसै आर्थिक वर्षको अन्त्यसम्म सदरमुकाम पुर्‍याउने लक्ष्य छ। तर, हुम्लासम्म सडक पुर्‍याउन भने अझै दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ।२०६४ मा निर्माणको जिम्मा लिएको नेपाली सेनाले २०६७ बाट काम सुरु गरेको थियो। अस्थिर सरकार, राजनीतिक तरलता र एकमुष्ठ बजेट विनियोजन हुन नसक्दा निर्माणमा समय लागेको नेपाली सेनाको भनाइ छ।

सरकार, सडक विभाग तथा सरोकारवाला सबैको सहयोग भए तोकिएको एक वर्षभित्र दुनैसम्मको निर्माण पूरा हुने प्रधानसेनापति क्षेत्रीले बताए। 'विकास निर्माणमा स्थानीयले समेत सेनालाई विश्वास गर्दै गएकाले त्यसले काम गर्न हौसला थपेको छ,' उनले भने, 'जुन गतिमा काम भइरहेको छ, यसमा कमी आउँदैन,सबै काम लागत र समयभित्रै पूरा गर्न प्रयासरत छौं।'

जाजरकोट–डोल्पा (दुनै) करिब १ सय १८ किलोमटिरमध्ये१ सय ४ किलोमिटर सडक निर्माण पूरा गरेको छ। बाँकी चालु आर्थिक वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको सडक निर्माण कार्यदल प्रमुख सेनानी विश्वन्धु पहाडीले जानकारी गराए। 'कठिन भूगोलका कारण बीचबीचमा सडकको रेखांकन परिवर्तन गर्दा पनि काम गर्न समय लागेको हो,' उनले भने।

पहाडीका अनुसार ६ वटा निर्माण बेस तयार गरी धमाधम काम भइरहेको छ।जाजरकोट र रुकुम खण्डको सम्पूर्ण काम सकिएको छ।डोल्पामा पर्ने साढे ४० किलोमिटरमध्ये करिब १८ किलोमिटर बाँकी छ। अब एक वर्षभित्र सदरमुकाम पुर्‍याउन सकिने सेनाको विश्वास छ।जटिल भौगोलिक अवस्था र पर्याप्त बजेट नहुँदा लक्ष्यअनुसार काम गर्न नसकिएको उनको भनाइ थियो।

दुनैदेखि बाँके हुँदै भारतको रुपैडिया जोड्ने हुँदा यो सडकले सामाजिकमात्र नभई आर्थिक, व्यापारिक र रणनीतिक महŒव बोकेको सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए। 'यहाँको भूगोल अत्यन्त जटिल छ, यही कारणले लक्ष्यअनुसार काम हुन सकेको छैन, विकट भएकै कारण सडक लागत पनि महँगो भएको छ,' उनले भने, 'चालु आवदेखि सेनाले माग गरेअनुसारको बजेट उपलब्ध गराउन विभाग तयार छ, सेनालाई उपकरण तथा अन्य प्राविधिक सहयोग आवश्यक परे त्योसमेत उपलब्ध हुन्छ।'

सरकारले रणनीतिक महŒवका साथ निर्माण गरिरहेको यो सडकका लागि आवश्यक बजेट उपलब्ध गराएको र आगामी दिनमा पनि निरन्तर रहने अर्थ मन्त्रालय बजेट महाशाखाका उपसचिव थानप्रसाद पंगेनीले बताए।उनका अनुसार चालु आवको फागुनसम्म यस सडकका लागि सेनाले पर्याप्त बजेट माग्न सक्नेछ।

आवश्यक बजेट उपलब्ध हुने सरकारबाट प्रतिबद्धता आइसकेकाले आगामी एक वर्षभित्र सदरमुकामसम्म सडक पुर्‍याउन सकिने सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक तथा प्राविधिक सहायक रथी उद्धव विष्टले बताए। 'जटिल भौगोलिक बनावट भए पनि निर्माणम सेना अहोरात्र खटेको छ,' उनले भने, 'सकेसम्म छिटो निर्माण पूरा गरेर सरकारको लक्ष्य पूरा गर्न हामी तयार छौं।'

सेनाका अनुसार सडकको बाँकी खण्ड कठिन चट्टानयुक्त, भीरपहारा रहेकाले निार्मण सामग्री ढुवानी गर्नसमेत समस्या देखिएको छ। सडक खण्डमा निर्माण गर्नुपर्ने ५ मध्ये हालसम्म २ पुल निर्माण भइसकेका छन्। बाँकीको कामका लागि प्रक्रिया अघि बढाइएको विष्टले बताए। 'सडकबाट निर्माण सामग्री आसार्न समस्या देखिएकाले कतिपय ठाउँमा हेलिकोप्टरबाट ढुवानी गर्ने गरिएको छ,' उनले भने।

सडकले जाजरकोट, रुकुम र डोल्पामात्र छुँदैन, भौगोलिकरुपमा राप्ती, भेरी र कर्णाली अञ्चल पनि जोड्ने यो सडकको अनौठो पक्ष हो।सरकारले चालु आवदेखि जाजरकोट–डोल्पा सडकको नाम परिवर्तन गरी भेरी करिडोर कायम गरेको छ।सिंगो भेरी करिडोर निर्माण पूरा भएपछि भेरी र कर्णाली अञ्चलबासीको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा छ।

प्रकाशित: २४ श्रावण २०७३ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App