८ वैशाख २०८१ शनिबार
समाज

आँखाका बिरामीको संख्या बर्षेनी बढ्दै

खोटाङ– खोटाङ सदरमुकाम दिक्तेलस्थित आँखा उपचार केन्द्रमा आँखाका बिरामीको चाप बर्षेनी बढ्दै गएको छ। हङकङमा बसोबास गर्दैआएका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण गरिएको आँखा उपचार केन्द्रमा वर्षेनी आँखाका उपचार गर्न आउने बिरामी चाप बढिरहेको हो।

जिल्ला अस्पतालको एउटा कोठाबाट सञ्चालन हुँदैआएको आँखा उपचार केन्द्रका लागि निर्माण गरिएको भवन २०७१ साल भदौ ५ गते उदघाटन गरिएपछि हजारौं आँखाका बिरामी लाभान्बित भएका छन्। प्रवासमा बस्ने खोटाङ्गेको सहयोगमा आँखा उपचार केन्द्रको छुट्टै भवन बनेपछि सन् २०१५ मा ४ हजार ४३१, स्न २०१६ मा ४ हजार ८३८ र सन् २०१७ मा ५ हजार २ सय आँखाका बिरामीले उपचार गराएको आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले बताए।

जिल्लामै आँखाको उपचार सेवा सम्वन्धी प्रचार–प्रसार, सचेतना वृद्धि लगायतका कारण उपचार केन्द्रमा विरामीको चाप बढेको अनुमान गरिएको छ। प्रमुख श्रेष्ठका अनुशार उपचार गर्न आउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ। ‘भवन निर्माण भए यता हरेक वर्ष चार÷पाँच हजारका दरले आँखाका बिरामीको संख्या बढ्दै गएको छ,’ आँखा उपचार केन्द्रका प्रमुख श्रेष्ठले भने, ‘दिक्तेलमै आँखाको उपचार हुने विषय सबैले थाहा पाउँदै गए, यसको विषयमा प्रचार–प्रसार भए । यही कारण बिरामीको चाप बढ्दै गएको हो।’

आँखा उपचार केन्द्र दिक्तेलले आँखा सम्बन्धी सबै किसिमको जाँच गर्नुका साथै चश्मा वितरण, माइनर अपरेशन लगायत कानको समेत सामान्य उपचार सेवा प्रदान गर्दै आएको छ। चौधरी आँखा अस्पताल लाहानको सहयोगमा २०६१ बैशाख–१५ गतेदेखि जिल्ला अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन सुरु भएको हो। उपचार केन्द्रको आफ्नै भवन बनेपछि आँखाका बिरामीलाई ‘काउन्सिलिङ’ गर्नका लागि सहज वाताबरण बनेको छ। अलग्गै भवन र गोप्य कोठा निर्माण भएपछि आँखाका बिरामीले खुलेर आफ्नो समस्या राख्ने र राय सल्लाह लिने वाताबरण बनेको श्रेष्ठले बताए। नयाँ भवन बने यता मासिक ४ सयको हाराहारीमा आँखाका बिरामीले सेवा पाइरहेको आँखा उपचार केन्द्रले जनाएको छ। ‘केन्द्रको आफ्नै भवन बनेपछि बिरामीलाई सेवा प्रदान गर्न हरेक हिसावले सहज भएको छ,’ श्रेष्ठले भने, ‘सबैभन्दा बढि बिरामीलाई काउन्सिलिङ गर्न सहज भएको छ।’

केन्द्रको पाँच कोठे भवन निर्माण अघि आँखाको उपचारका लागि आवश्यक कोठाहरु थिएनन्। केन्द्रले साँघुरो कोठाबाट सबै सेवा प्रबाह गर्दैआएको थियो। बिरामी लिएर आउने आफन्त बस्ने आवश्यक ठाउँ थिएन। केन्द्रका अनुशार छुट्टै कोठाको अभावमा आँखा सम्बन्धी जिज्ञासा लिएर सोधपुछ तथा परामर्शका लागि आउने कतिपय बिरामीले खुलेर आफ्नो समस्यबारे प्रष्टयाउन सक्ने वाताबरण पनि थिएन। सेवाग्राही भीडै–भीडकाबीचमा समस्या बताउन अप्ठ्यारो मान्थे। ‘आँखा उपचार केन्द्रका लागि अस्पतालमा एउटा कोठा थियो,’ श्रेष्ठले भने, ‘त्यही कोठाको एउटा कुनामा टिकट काटिन्थ्यो, त्यही छेउमा बिरामीको जाँच हुन्थ्यो, त्यही चश्मा बनाइन्थ्यो, तर अहिले त्यस्तो समस्या छैन।’

जिल्लाका आँखाका रोगीहरुको उपचार जिल्लामै गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ नेपाल नेत्र ज्योति संघ शाखा दिक्तेलको आग्रहमा खोटाङ समाज हङकङले आँखा उपचार केन्द्रको भवन निर्माण गरिदिएको हो। आवश्यक भवनको अभावमा आँखाको प्रभावकारी उपचार सेवा नहुँदा जिल्लाका आँखाका रोगीहरु ठूलो रकम खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता थियो। हङकङमा बस्ने खोटाङ्गेबाट प्रतिव्यक्ति ५ सयदेखि १५ हजार हङकङ डलर संकलन गरेर जम्मा गरिएको रकमबाट पाँच महिना लगाएर जिल्ला अस्पताल दिक्तेलको परिसरमा आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको हो।

प्रकाशित: १० पुस २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App