coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब बलियो सरकार बन्नेछ : अध्यक्ष दाहाल

चितवन उद्योग संघले आइतबार साँझ भरतपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्बिर : रमेशकुरमा पौडेल

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले नेपालमा अब बलियो सरकार बन्ने र आयात निर्यातसँग सम्बन्धित राष्ट्रहित विपरितका कानुनहरूलाई संसोधन गर्ने बताएका छन् । चितवन उद्योग संघले आइतबार साँझ आयोजना गरेको जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा दाहालले सो कुरा राखेका हुन्।

दाहाल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट विजयी भएका थिए । ‘देशमा अब बलियो सरकार बन्दै छ । हिजोको जस्ता कमजोर सरकार अब बन्ने छैन । हिजो यस्तो सरकार हुन्थ्यो कि आफैँले गर्छु भनेका कुराहरू पनि गर्न सकिदैन थियो । अब त्यस्तो हुँदैन’ दाहालले भने । दाहालले आर्थिक विकासका लागि ऐन कानुमा पनि सुधार गर्नु पर्ने बताए ।

‘खास गरेर आयात निर्यातसँग सम्बन्धित हाम्रा राष्ट्रहित विपरितका कानुनहरूलाई संशोधन गर्न सके र हामी सबैले संकल्प गरे आउँदो पाँच वर्षभित्र केही न केही रुपमा आर्थिक क्रान्ति गरेर आर्थिक विकासको एउटा मोडल नै दुनिया सामु राख्न सकिन्छ’ दाहालले भने । शान्ती, सुशासन र विकास एक अर्काका परिपुरक रहेका कारण  आउँदो सरकारले यसमा ध्यान दिने र ठूला महत्वकांक्षी मानिएका योजना पनि सम्पन्न हुने उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले १० वर्षभित्रमा यहाँको अर्थतन्त्रको कायापलट गर्न सक्ने सम्भावना रहेको तर त्यसका लागि सरकारबाट केही विशेष काम हुनु पर्ने बताए । ‘केही कानुनहरू छन् त्यसलाई हेर्न र फेर्न आवश्यक छ । त्यसो भएमा लगानी आउने सम्भावना प्रशस्तै छ । काम गरेर देखाउन सक्ने अवसर यहाँहरुलाई छ’ अध्यक्ष शर्माले भने । 

केपी ओली जस्तो त्यागी र पुष्पकमल दाहाल प्रचण्ड जस्तै क्रान्तिकारी व्यक्ति नेतृत्वमा आउन लागेका कारण उद्योगीहरू धेरै नै आशावादी भएको उनले बताए । ‘अहिले व्यक्तिगत रुपमा हामी नेपालका उद्योगीहरू विश्वका केही दामी विश्व विद्यालयमा गएर यहाँको विकास मोडका बारेमा त्यहाँका विद्यार्थी माझ केही भन्ने गरेका छौं। भोलि तपाईहरूले राम्रो काम गर्नु भएमा त्यो अवसर तपाई नेताजीहरूलाई मिल्ने छ’ शर्माले भने।

उनले पोखरा, विरगञ्ज, चितवन जस्ता सहर हवाइयात्रा बिना नै एक डेढ घण्टामा पुग्न सक्ने यातायात संयन्त्र बनाउन सरकारले विशेष चासो दिनु पर्ने अपिल गरे । ‘नेताजीहरूले सुशासनलाई घोषणापत्रमा जोड दिनु भएको छ । सम्वृद्धिको कुरा गर्नु भएको छ । मेरो विचारमा सुशासन गाह्रो कुरा हो । तर देशमा सुशासन कायम भयो भने सम्वृद्धि सजिलै हुन्छ । नेताजीले सुशासनमा बढी नै ध्यान दिनु होला’ शर्माले आग्रह गरे।

देशमा जनताहरू परिश्रमी भएका कारण सुशासन भए लगानी भित्रिएर सम्वृद्धि आउन गाह्रो नहुने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको भनाइ थियो । ‘जनताले काम पाउनु पर्‍यो । लगानीकर्ता र उद्योगीको शिर ठाडो हुने वातावरण देशमा बन्नु प¥यो । यसो भएमा अहिले हामीले विश्वका विभिन्न कुनामा बनेका ब्राण्ड उपभोग गरी रहेका छौं । भोली हामीलाई चाहिने राम्रा ब्राण्ड यही नेपालमै बन्ने छन्’ शर्माले भने। 

 

प्रकाशित: १० पुस २०७४ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App