६ वैशाख २०८१ बिहीबार
अन्य

सान्टा क्लजसँग सेल्फी

शुष्मा बराली 
कोही कम्मर मर्काएर मुस्कान छाड्दै सेल्फी खिच्दै थिए भने कोही हातका औँला क्रस गर्दै । बालबालिकादेखि युवायुवतीसम्म विभिन्न पोजमा तस्बिर लिइरहेका देखिन्थे।

अगाडिपट्टि राखिएको ठूलो क्रिसमस ट्रीनजिकै उभिएका थिए, सान्टा क्लजको भेषमा सजिएका मानिसहरू । बालबालिका सान्टा क्लजको भेषधारी सजिएसँग रमाउँदै तस्बिर लिइरहेका थिए । सान्टा क्लज बनेकाहरू पनि स–साना नानीलाई फूल दिँदै स्वागत गरिरहेका देखिन्थे । यो दृश्य हो, पुल्चोकस्थित ‘योर च्वाइस गिफ्ट एन्ड फ्लावर सप’को । जहाँ सुन्दर क्रिसमस ट्री र सान्टा क्लज देखेर रमाइरहेका थिए, ग्राहकहरू।

पुल्चोकको यो पसलले क्रिसमसको झल्को मात्र दिइरहेको थिएन, नेपालमा बढ्दो क्रिसमस संस्कृतिलाई समेत देखाइरहेको थियो । इसाई धर्मावलम्बीको पर्व क्रिसमस जिसस क्राइस्टको जन्म दिनमा मनाइन्छ । हरेक वर्ष डिसेम्बर २५ का दिन मनाइने क्रिसमसमा सान्टा क्लज आउने विश्वास इसाई समुदायमा गरिन्छ । इसाईहरू क्रिसमसको अघिल्लो राति सान्टा क्लज बच्चाका लागि उपहार लिएर आउने विश्वास गर्छन्।

सजना तामाङ गैरक्रिस्चियन हुन् । तर, उनी हिजोआज वसन्तपुर दरबार मन्दिरअघि सान्टा क्लज बनेर उभिएकी हुन्छिन्। चार दिनसम्म सान्टा क्लजको भेषमा उभिनुपर्ने उनी बताउँछिन् । ‘नोभा टु’ फोन कभरको विज्ञापनका लागि उनी सान्टा क्लज बनेकी हुन् । ‘सान्टा बन्दा रमाइलो लाइराछ,’ उनले भनिन् । दरबार क्षेत्र घुम्न आउनेहरूले आफूसँग तस्बिर लिन आउने गरेको उनी सुनाउँछिन्।

मानिसलाई सान्टा क्लजको पहिरनमा सजाएर क्रिसमस ट्री अगाडि उभ्याउने चलन अचेल बढी प्रचलनमा आएको सपकी सञ्चालिका कोपिला कार्की बताउँछिन् । ‘क्रिसमस ट्रीलाई सान्टा क्लजको पोसाकमा सजाउँदा क्रिसमस आगमनको संकेत मिल्छ,’ उनले भनिन्।

क्रिसमस महिना सुरु हुनुअघि नै सपिङ मल, डिपार्टमेन्ट स्टोर, पसल र घर सजाउने काम सुरु हुन्छ । नेपाल क्रिस्चियन समाजका वर्णबास श्रेष्ठका अनुसार क्रिसमसमा शान्तिको सन्देश आदान–प्रदान गरिन्छ।

मुलुक धर्मनिरपेक्ष भएपछि इसाई धर्मावलम्बीले खुलापन महसुस गरेको बताउँछन् उनी । सरकारले यस पर्वमा बिदा दिन थालेपछि उत्साह बढेको उनको भनाइ छ। ‘यो वर्ष क्रिस्चियनका लागि मात्र नभएर सबैलाई सार्वजनिक बिदा दिइएको छ, त्यसले गैरक्रिस्चियन साथीसँग पनि रमाइलो गर्न पाइने भएको छ,’ उनले भने । यस दिन बिदा दिएर आफ्नो धर्म सम्प्रदायलाई सम्मान दिएको उनले महसुस गरेका छन्।

क्रिसमसमा क्यारल खेल्ने, साथीसंगी जमघट गर्ने र भजन गाउँदै मीठा परिकार खाने चलन रहेको उनले बताए। ‘क्रिसमसमा चर्चमा क्रिस्चियन मात्र आउनुपर्छ भन्ने छैन, गैरक्रिस्चियन पनि आउन सक्नुहुन्छ, चर्च सबैका लागि खुला हुन्छ,’ उनले भने।

नेपाल क्रिस्चियन सोसाइटीका महासचिव डिल्लीराम पौड्याल चर्चका सदस्यको घरमा गएर क्यारल खेलेर क्रिसमस मनाउने बताउँछन् । ‘क्यारल क्रिसमस डेको रातभर जिसस क्राइस्टको जन्मोत्सवको खुसीमा खेलिने हो, तर सुरक्षाका कारण अचेल दिनमै खेल्छौँ,’ उनले भने । क्यारलका क्रममा भजन गाउने, नृत्य गर्ने, वचन माग्ने र  शुभकामना आदानप्रदान गर्ने पनि गरिन्छ। 

राजधानीको एक चर्चका पास्चर दावा लामा आफ्नो चर्चमा क्रिस्चियन र गैर क्रिस्चियनबीच शुभकामना सन्देश आदान–प्रदान गरेर मनाउने सोचमा छन् । ‘जिसस क्राइस्टको जन्मोत्सव सुभ सन्देश दिँदै भोज गरेर मनाउँछौँ,’ उनले भने ।
सजना तामाङ गैरक्रिस्चियन हुन् । तर, उनी वसन्तपुर दरबार मन्दिर अघि सान्टा क्लज बनेर उभिएकी हुन्छिन् । चार दिनसम्म सान्टा क्लजको भेषमा उभिनुपर्ने उनी बताउँछिन् । ‘नोभा टु’ फोन कभरको विज्ञापनका लागि उनी सान्टा क्लज बनेकी हुन् । ‘सान्टा बन्दा रमाइलो लाइराछ,’ उनले भनिन् । दरबार क्षेत्र घुम्न आउनेहरूले आफूसँग तस्बिर लिन आउने गरेको उनी सुनाउँछिन् । ‘सेतै जुँगादारी बनाएर, सान्टाको लुगा लगाएर यसरी चक्लेट दिँदै बस्दा साँच्चै सान्टा नै भएजस्तो लाग्छ,’ उनले भनिन्। 

बागबजारस्थित ड्रिमल्यान्ड पब्लिक हाई स्कुलकी शिक्षिका कल्पना पौडेल अचेल विद्यार्थीलाई कक्षाकोठामा क्रिसमससम्बन्धी क्लासवर्क गराउन व्यस्त छन् । अचेल केटाकेटीलाई पनि क्रिसमससम्बन्धी कार्यक्रममा सहभागी गराउने चलन बढेको उनले बताइन् । स्कुलहरूले अचेल क्रिसमससम्बन्धी उपहार बनाउन बालबालिकालाई सिकाउने गरेका छन्। 

एक कम्पनीको मानव संसाधन विभागमा कार्यरत प्रीतिका थापा भने हरेक वर्ष आफ्नै अफिसमा क्रिसमस ट्री बनाएर राख्छिन् । ‘हामी यो वर्ष भने अलि फरक तरिकाले मनाउँदै छौँ,’ उनले भनिन्। क्रिसमस ट्रीको अघि विस बक्स राखेर त्यसमा आफ्ना इच्छा लेख्न लगाउने र क्रिसमसका दिन सबै भेला भई एक–अर्काका इच्छा पढेर सुनाउने योजना उनले सुनाइन् । क्रिसमसका दिन फेसन सो र क्रिसमस इभमा पार्टी गर्ने लगायत कार्यक्रम समेत हुने गर्छन्।

प्रकाशित: १० पुस २०७४ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App