७ वैशाख २०८१ शुक्रबार
अर्थ

दोस्रो साता पनि सेयर बजार खस्कियो

काठमाडौं- आइतबार कारोबारको सुरुमा निरन्तर उकालो लागेको सेयर बजार बन्द हुने समयमा ओर्लिएको छ। ३७ अंकसम्म उक्लिएको बजार मापक नेप्से कारोबरको अन्त्यमा करिब ४ अंक तल झर्न पुगेको हो।

अघिल्लो साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो दिन पनि घट्ने क्रम रोकिएन। उच्च उतारचढावका कारण आइतबार धेरै लगानीकर्ताले नोक्सानी बेहोरे।

१७६८ अंकमा खुलेको बजार १८०५ अंकसम्म पुगेको थियो। पछि ३७ अंकले घटेर बजार बन्द हुने समयमा आइपुग्दा ३.८८ अंक घटेर बन्द भएको छ।

बजार घटे पनि कारोबार रकममा केही सुधार देखिएको छ। दिनभरमा १ सय ४१ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजार उच्च अंकमा पुग्दा नेपाल बंगालादेश बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ५० रुपैयाँसम्म पुगेको थियो बजार बन्द हुँदा १ हजार ३२ मा आएको थियो। त्यस्तै नेपाल बैंकको ५ सय ८६ रुपैयाँसम्म पुगेको थियो। बन्द हुने बेला ५ सय ५९ कायम भएको थियो।

यसैगरी एभरेस्ट बैंकको ३ हजार ३ सय ४५ सम्म पुगेको मूल्य ३ हजार २ सय ५१ मा झरेको छ। कृषि विकास बैंकको १ हजार ६ रुपैयाँसम्म पुगेको थियो। बजार बन्द हुँदा ९ सय ७२ कायम भएको छ।

आइतबार बजारमा उतारचढाव आउँदा उच्च बिन्दुमा सेयर खरिद गर्ने धेरै कम्पनीका लगानीकर्ताले घाटा बेहोरे।

होटल, विकास बैंक, फाइनान्स र अन्य सूचक बढे पनि अन्य बाँकी सूचक ओरालो लागेका छन्। बैंकिङ ७.२६ बिन्दुले घट्यो भने बिमा ५८.४ अंकले घटेर बन्द भयो। अन्य सूचक भने करिब १८ अंकले उक्लिएको छ।

बजारमा नेपाल बंगलादेश बैंकको ११ करोड ५३ लाख, नेपाल बैंकको १० करोड ७६ लाख र सिद्धार्थ बैंकको १० करोड ६५ लाख रुपैयाँको किनबेच भएको छ। एभरेस्ट बैंकको आठ करोड ७४ लाखको कारोबार भएको छ।

माउन्ट मकालु, किसान माइक्रोफाइनान्स र कन्काई विकास बैंकको सेयर मूल्य १० र ओमी माइक्रोफाइनान्सको ९.६७ प्रतिशतले बढेको छ। बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशतले गुमाएको बजारमा एनएमबी माइक्रोफाइनान्स र महिला सहयात्राका लगानीकर्ता पनि बढी गुमाउने पंक्तिमा छन्।

प्रकाशित: २४ श्रावण २०७३ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App