coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिप उद्घाटन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषद्मा राखेप च्याम्पियनसिपको उदघाटन गरेकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लगानी तथा संयोजनमा सम्बन्धित संघहरूको आयोजनामा हुने च्याम्पियनसिपमा २९ खेल समावेश गरिएका छन् । तीन वर्षअघि लुम्बिनी च्याम्पिनयसिपका नाममा भएको प्रतियोगिता यसपालिबाट नयाँ नाममा हुन लागेको हो । एक महिनासम्म चल्ने प्रतियोगिता राष्ट्रपति भण्डारीले पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर उद्घाटन गरेकी हुन् । नेपालका लागि पहिलो अन्तराििष्ट्रय पदक विजेता केसीले दीप प्रज्वलन गरेका थिए ।
उद्घाटनपछि राष्ट्रपति भण्डारीले सीमित स्रोत र साधनका बावजुद खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएको भन्दै विद्यालय तहबाटै खेलकुद विकासमा जोड दिनुपर्ने बताइन् ।
‘खेलकुद शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासका लागि महत्वपूर्ण छ । यसको विकासका लागि गठन भएका संस्थाहरु सक्रिय हुनु जरुरी छ,’ राष्ट्रपतिले भनिन्, ‘दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भैतिक पूर्वाधारको विकासमा यथोचित ध्यान दिनु आवश्यक छ । सरोकारवालाले बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न कार्यक्रम बनाउँदै खेलाडीको संरक्षण गर्न पनि उक्तिकै आवश्यक छ ।’
पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टोलीको सहभागिता रहने च्याम्पियनसिपमा तेक्वान्दोका दुई अलग प्रतियोगिता हुनेछन् भने त्यसबाहेक स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लनटेनिस, ट्रायथोलन, फुटबल, कराते, ब्याटमिन्टन र सफ्टटेनिसमा महिला र पुरुष गरी ४ हजारभन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा गरेको लगानीले देशकै प्रतिष्ठा अभिबृद्धि हुने बताउँदै खेलाडीलाई सानै उमेरबाट लगानी गर्न सके भविष्यमा दक्ष खेलाडी उत्पादन गर्न सहज हुने बताए । राखेपका सदस्यसचिव केशवकुमार विष्टले आगामी एसियाली तथा दक्षिण एसियाली खेलकुदलाई समेत मध्यनजर गरी आयोजना गरिएको च्याम्पियनसिपले बृहत् राष्ट्रिय खेलकुद नभएको वर्ष निरन्तरता पाउने बताए ।

राष्ट्रपतिले आइतबार उद्घाटन गरे पनि जाडोमा खेलाउन नसकिने भएकाले पौडी र ट्रायथलनको प्रतियोगिता सम्पन्न भइसकेका छन् । यसै गरी कराते र लन टेनिसको प्रतियोगिता पनि उद्घाटनअघि नै सम्पन्न भइसकेको छ ।
भलिबल, ह्यान्डबल र भारोत्तोलनका खेल पोखरामा, एथलेटिक्स इटहरी, कुस्ती र हक्की हेटौडा, टेबल टेनिस बुटबल, कबड्डी बर्दिया, खो खो रूपन्देही र सफ्ट टेनिस विराटनगरमा हुनेछन् । अन्य खेलहरू राजधानीमै हुनेछन् ।

प्रकाशित: १० पुस २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App