६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश १ : बलियो स्रोतसाधन

विराटनगर- संसारकै अग्लो ठाउँ सगरमाथा र गहिरो स्थान केचना पाएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा स्रोत–साधन सम्पन छ । नेपालको राजनीतिक बिरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।
    यहाँका सहरहरु घना र सुविधासम्पन्न छन् । त्यसैले सबैले प्रदेशको राजधानीका लागि दाबी गरिरहेका छन् । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको छ । धार्मिक हिसाबले खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा र सुनसरीको बराह क्षेत्र चर्चित स्थल पर्दछ । यी तीनै धार्मिक स्थलमा स्वदेशी र विदेशी श्रद्धालुको जहिल्यै भीड लाग्छ ।
    भारत र चीनसँग सीमा जोडिएको र बंगलादेशबाट नजिकै रहेको प्रदेश नम्बर १ मा भारत तथा तेस्रो मुलुकमा वस्तुको आयातनिर्यातका लागि सहज नाका छन् । विराटनगरको रानी र झापाको काँकडभिट्टा भन्सार नाकाबाट आयात हुने वस्तुबाट मात्र दैनिक १२ करोड रुपैयाँ राजस्व संकलन हुन्छ । यी दुवै भन्सार नाकाबाट भारत र तेस्रो मुलुक वस्तुको आयातनिर्यात हुन्छ ।
मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभाको तुम्लिङटार, खोटाङका लामीडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुका नाम्चेसहित चार गरी १३ वटा विमानस्थल छन् । काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा हवाई उडान भइरहेको छ ।
    अकाशमार्गबाहेक केन्द्रीय राजधानी काठमाडौंसम्म पुग्न पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र निर्माणाधीन मध्यपहाडी राजमार्ग छन् । धरान–चतरा–उदयपुर हुँदै हेटांैडा जोडिने अर्को वैकल्पिक राजमार्ग निर्माणाधीन छ । प्रदेश नम्बर १ कै सबभन्दा फराकिलो ६ लेनको सडक विराटनगरको रानीदेखि धरानसम्म निर्माण जारी छ । भारतीय नाका रानीदेखि चिनियाँ नाका किमाथान्कासम्म यो निर्माणाधीन सडक सञ्जाल जोड्ने सरकारी तयारी छ । चर्चामा रहेको कोसी नदीको हाइड्याम र निर्माणको सुरसार भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाले प्रदेश नम्बर १ लाई पानी र विद्युत्मा थप शक्तिशाली बनाउने निश्चित छ ।
    पूर्वी नेपालको १४ जिल्ला समेटिएको प्रदेश नम्बर १ मा झापा, मोरङ र सुनसरी अन्नभण्डार हुन् । कृषिमा आधुनिकीकरण गरेपछि यी तीन जिल्लामै उत्पादन हुने खाद्यान्नले प्रदेश नम्बर १ आत्मनिर्भर बन्न सक्छ । क्षेत्रीय कृषि निर्देशनालय, विराटनगरका अनुसार प्रदेश १ मा यस वर्ष १२ लाख ४० हजार ५ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ । निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीका अनुसार यो तथ्यांकमा बर्खे धानमात्र समेटिएको छ । झापामा कन्काई सिँचाइ आयोजना र मोरङ तथा सुनसरीमा मोरङ–सुनसरी सिँचाइ आयोजना सञ्चालनमा छन् । यी दुवै  मुलुकका ठूला आयोजना हुन् ।
प्रदेश १ मा यस वर्ष २ लाख ६० हजार मेट्रिक टन मकै उत्पादन भएको छ ।  वार्षिक दुई अर्व रुपैयाँभन्दा बढीको तरकारी धनकुटा जिल्लाले मात्रै उत्पादन गर्छ । चिया, अलैंची, अम्रिसो, अदुवा, सुन्तला प्रदेश नम्बर १ का पहाडी जिल्लामा मनग्यै फल्छ । पेट्रोलियम पदार्थको संकेत पाइएपछि मोरङको बाहुनीमा दुईपटक खानी उत्खन्न समेत गरिसकिएको छ । बढी रेमिट्यान्स भित्रिने तराई–मधेसका धनुषा, नवलपरासीपछि प्रदेश नम्बर १ को मोरङ जिल्ला पनि पर्छ ।
    नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको प्रदेश नम्बर १ को मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै सानाठूला ५ सयभन्दा बढी उद्योग छन् । मुलुकको अर्थतन्त्रमा ठूलो टेवा (कर तिर्ने) पु¥याउने उत्कृष्ट १० मध्येका आरती स्ट्रिप्स, युनाइटेड स्प्रिट, गोल्छा समूह, विशाल ग्रुप, जाजु ग्रुप र सारडा गु्रपलगायतका औद्योगिक फर्म र घरानाको व्यापारव्यवसाय प्रदेश नम्बर १ बाटै फस्टाइरहेको छ ।
    प्रदेश नम्बर १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउतका अनुसार ठूला, साना र मझौला गरेर यहाँ ८ सय ५० देखि ९ सय उद्योग र कारखाना छन् । ‘औद्योगिक वातावरण बनिसकेको प्रदेश हो यो,’ उद्योगपति राउतले भने, ‘निर्यातमा सरकारले प्रोत्साहन गरे नजिकै रहेको कोलकत्ता पोर्टको भरपूर फाइदा उठाउन सकिन्छ ।’ निर्माणाधीन र चालू विद्युत् परियोजनाले पनि प्रदेश नम्बर १ मा उद्योगी–व्यवसायीलाई व्यापार–व्यवसाय गर्न उत्प्रेरित गरेको उनको भनाइ छ ।
    ‘प्रदेश नम्बर १ हरेक हिसाबले आफैंमा अब्बल देखिन्छ,’ राजनीतिक विश्लेषक रामबाबु दाहालले नागरिकसग भने, ‘यो प्रदेशमा आर्थिक समृद्धिको प्रशस्त आधार छन् । किमाथान्का नाका खुलेपछि चीनसँग यसको आर्थिक गतिविधि बढ्नेछ ।’ विश्लेषक दाहालका अनुसार पर्यटकीय स्थल, शिक्षा–स्वास्थ्य र सडक सञ्जालमा प्रदेश नम्बर १ धनी छ । यहाँ पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज छन् । धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज सञ्चालित छ । शिक्षा, विज्ञान र मानविकी तहमा अब्बल अध्यापन हुने सरकारी र निजी कलेजको हबजस्तै बनेको छ विराटनगर ।
    काबेली करिडोरअन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङमा १० वटा जलविद्युत् आयोजना चालू अवस्थामा छन् । ८६.९७ मेगावाट कुल क्षमताका यी १० वटै जलविद्युत् आयोजनाबाट हाल ३१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । मोरङ–सुनसरी सिँचाइ आयोजनाको दुईवटा टर्वाइनबाट छुट्टै ३.२ मेगावाट विद्युत् उत्पादन हुन्छ । मोरङ–सुनसरी सिँचाइ आयोजनाका प्रमुख कुञ्जभक्त श्रेष्ठका अनुसार सुनसरीको चतरास्थित इनटेकमै रहेको विद्युत्को टर्वाइनबाट फेरि विद्युत् उत्पादन गर्न अहिले टेस्टिङको काम भइरहेको छ ।

जातीय–भूगोलमा पनि अब्बल
    प्रदेश नम्बर १ जातीय र भगौलिक रुपमा पनि अब्बल छ । पहाड–हिमालका ११ वटा र तराईमधेसका ३ वटा जिल्ला समेटिएको प्रदेश नं. १ सांस्कृतिक विविधताको थलो हो । ऐतिहासिक रुपमा माझ किराँत, पल्लो किराँत र कोच क्षेत्र समेटिएको यो प्रदेशमा सबै जाति र धार्मिक समुदायको बसोबास छ ।
मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो ‘फाटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तकमा मा परम्परागत रुपमा नेपालका पूर्वी क्षेत्रमा बसोबास गर्ने प्रमुख समुदायको नामबाट परिचित भए पनि एकआपसमा मिलेर बसेको दृष्टान्त उल्लेख गरेका छन् । यही ऐतिहासिक पृष्ठभूमिका कारण पनि प्रदेश नं. १ सन्तुलित रहेको धनकुटाका राजनीतिकर्मी राजकुमार राई बताउँछन् ।
प्रदेश नम्बर १ को क्षेत्रफल २५ हजार ९५ वर्गकिमि छ । जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं. १ को जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिशत हिस्सा ओगटेको छ । प्रदेशमा साक्षरता प्रतिशत ५२ छ ।
    प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृतिको विविधता छ । त्यसैले सामथ्र्यका दृष्टिले प्रदेश न. १  अत्यन्त सम्भावनायुक्त रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शम्भु खतिवडाले बताए । यहाँ सप्तकोसी जलाधार क्षेत्र र २० हजार मेगावाटको विद्युत् उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, लोत्से, कन्चनजंगा र कुम्भकर्ण हिमाल छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष यहीं छ ।
धनकुटाको त्रिवेणीबाट सुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत शृंखलामा छ भने गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल यहीं पर्छन् ।
नेपालको कुल निकासीको ४१.४ प्रतिशत पूर्वाञ्चल क्षेत्रको छ । पूर्वाञ्चल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत वर्षको तथ्यांकअनुसार आइरन र स्टिलका सामग्री ८ अर्ब ८० करोड ३० लाख ५३ हजार रुपैयाँ बराबरको निकासी हुन्छ । अलंैची ४ अर्ब २६ करोड, ५१ लाख १७ हजार रुपैयाँ, केरा, तरुल र आलु ३ अर्ब ७ करोड ७३ लाख १२ हजार, जुट २ अर्ब, ३९ करोड ७५ लाख ७ हजार, दाल एक अर्ब ९७ करोड ४४ लाख ८ हजार, चिया एक अर्ब ८८ करोड, १ लाख ४५ हजार, तामाका सामग्री १ अर्ब ४३ करोड १७ लाख ७२ हजार र छाला ७३ करोड १६ लाख ५३ हजार रुपैयाँ बराबरको निकासी हुने गरेको छ । जडिबुटी, तरकारी, रुद्राक्ष, दूध, अदुवा, प्लाई र हस्तकलाका सामग्रीको समेत निकासी भइरहेको छ ।
(धनकुटाबाट सिद्धराज राईको सहयोगमा)

प्रकाशित: १० पुस २०७४ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App