काठमाडौँ (रासस)- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो प्रतियोगिताको उद्घाटन गरिन्। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरिन्।
प्रतियोगितामा समावेश गरिएका २९ खेलमध्ये पौडी र ट्रायथलन यसअघि नै सम्पन्न भइसकेको छ भने प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित संघले यसअघि नै आयोजना गरिसकेको छ।
उक्त च्याम्पियनसिपमा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाली सेना, सशत्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरीको सहभागिता रहेको छ।
आसन्न १८औँ एसियाली खेलकुद र १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त प्रतियोगिताबाट राष्ट्रिय टोलीको छनोट गरिने राखेपले जनाएको छ। विजेता तथा राष्ट्रिय टोलीमा छनोट भएका खेलाडीलाई आगामी माघ १ गतेदेखि विशेष प्रशिक्षणमा राखिनेछ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा महिला र पुरुषगरी चार हजार ४० खेलाडी ६१५ स्वर्ण, ६१५ रजत र ८९७ कास्य पदकका लागि भिड्ने छन्।
प्रकाशित: ९ पुस २०७४ १३:४९ आइतबार