coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई घण्टाको लागि कर्फ्यू फिर्ता

म्यादी प्रहरी हत्याको विरुद्धमा आन्दोलित आफन्तहरू । तस्बिर : पवित्रकुमार शाही

कालिकोट – शुक्रबार देखि म्यादी प्रहरीको गोली हानी हत्या गरिएको विषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भएको भन्दै प्रशासनले अनिश्चितकालीन रुपमा लगाएको कर्फ्यू दुई घण्टाको लागि फिर्ता लिइएको छ। 

शनिबार दिउँसो ३ बजे देखि अनिश्चितकालीन रुपमा लगाएको कफ्र्यू राजनीतिक दल, अधिकारकर्मीको पहलमा आइतबार साँझ ६ बजे देखि ८ बजेसम्म दुई घण्टाको लागि फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

प्रहरीको गोली प्रहारबाट हत्या गरिएका रास्कोट नगरपालिका वडा नम्वर २ निवासी बिवेक ऐडीको शव जिल्ला प्रशासनमा राखिएको छ ।मृतकका आफन्त र स्थानीयवासीले सुरु गरेका आन्दोलन पनि फिर्ता लिएका छैनन्। 

आइतबार जिल्ला स्थित राजनीतिक दल, स्थानीय प्रशासन र जनप्रतिनिधि बीच छलफलमा मृतकका आफन्तलाई राहत दिने, घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने र आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गर्ने लगायतका निर्णय भएको क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले बताए। 

मृतकका आफन्तले राष्ट्रिय सहिद घोषणा नगरेसम्म शव नबुझ्ने र आन्दोलन पनि फिर्ता नलिने अडान कायम राखेका छन्। अनिश्चितकालीन कर्फ्यूले जिल्लाको जन जीवन कष्टकर बन्दै गएको छ । स्थानीयवासीले बजारमा दैनिक उपभोग्य सामान खरिद विक्री गर्न पाएका छैनन् । ‘यस्तो त तत्कालिन द्वन्द्वकाे समयमा पनि भएको थिएन्। मानव अधिकार हनन् भयो। खान बस्न समेत पाइएको छैन’ स्थानीय निर्मला शाहीले भनिन्।

आइतबार विहान ८ बजे देखि १० बजेसम्म कफ्र्यू फुकुवा गरिएकोमा पुनः कर्फ्यू लगाएर आइतबार साँझ ६ बजे देखि ८ बजेसम्म फुकुवा गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आन्दोलनकारीसंगै बम र बन्दुक ल्याएर आक्रमण गर्ने सूचना आएको हुँदा अनिश्चित्कालीन कर्फयु गरिएको बताए।

गृहमन्त्रालयबाट म्यादी प्रहरी हत्या बारे छानविन गर्न टोली आइतबार आउने भनिए पनि आउन सकेको छैन। प्रजिअ गैह्रेले भने, ‘आन्दोलनमा घुसपैठ हुने खतरा भएपछि कर्फ्यू आदेश गरिएको हो। सुरक्षाको हिसावले कालिकोट जिल्ला अति संवेदनशील भएकाले घटना थप घट्ने सम्भावना नहोस भनेर नै हो।’

म्यादी प्रहरीलाई प्रहरीले गोली हानी हत्या गरेको विषयलाई लिएर कालिकोटमा आन्दोलन चर्किएको थियो। जिल्ला प्रशासनले शनिबार जिल्लाको स्थित तनावग्रस्त भएपछि कर्फ्यू लगाएको हो। 

प्रकाशित: ९ पुस २०७४ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App