१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

रुकुम– यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा गिरावट आएको छ । फूल सहितको दानामा असिना पानीले क्षति पुर्‍याएपछि यहाँ सुन्तला उत्पादनमा कमी आएको हो।

फूलसहितको दाना झरेको र बाँकी पनि असिनालो हान्दा सानो तथा दाग सहितको सुन्तला भएको सल्यानका किसानहरूको भनाई छ। बागचौर नगरपालिका वडा नं. ८ प्रेम नाथ योगीले १५ रोपनी जग्गामा सुन्तला व्यवसाय गरेका छन्। गत वर्ष यही सुन्तला बगैँचाबाट उनले १५ लाख भन्दा बढीको आम्दानी गरे । यस वर्ष सोही बराबर आम्दानी नहुने भएपछि उनी निराश भएका छन्। यस वर्ष पाँच लाख सम्म पनि सुन्तलाबाट आम्दानी नहुने उनले जनाएका छन्। ‘मेरो आम्दानीको स्रोत नै यही (सुन्तला) हो’ उनले भने, ‘कम उत्पादन भएपछि घर खर्च र छोरा छोरीको शिक्षिदिक्षामा लागि खर्च जुटाउन समस्या हुने भयो।’

सोही गाउँका राम नाथ योगी पनि निकै चिन्तित छन् । उनको बगैँचामा यस वर्ष सुन्तला राम्रो नभएपछि निराश भएका हुन् राम । ‘असिना पानीले फूलसहितको दाना झार्याे’ उनले भने, ‘बाँकीमा दाग छ ।’ यस वर्ष यहाँ सुन्तला उत्पादनमा गिरावट आएपछि यहाँका किसानहरू चिन्तित बनेका छन्। कोटमौला, जिमाली, चाँदे, करन्जी, अजिर्ना लगायतका क्षेत्र बढी सुन्तला उत्पादन हुने क्षेत्र हुन् । केही स्थानमा राम्रो र केहीमा कम सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। ‘सबै क्षेत्रमा असिनो पानीले असर गरेको छैन्’ जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक धनन्जन्य शर्माले भने, ‘असिना पानीले क्षति नपु¥याएको ठाउँमा सुन्तला राम्रो छ।’

सल्यानको एक हजार १२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुन्छ भने एक हजार पाँच सय २५ हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाले ढाकेको छ। गत वर्षको भन्दा १५ प्रतिशतले यहाँ सुन्तला उत्पादनमा कमी आउने उनले जानकारी दिए। गत वर्ष यहाँ आठ हजार आठ सय ९१ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो। यहाँको सुन्तला स्थानीय बजार संगै रुकुम, दाङ, नेपालगञ्ज, कोहलपुर, धनगढी लगायतका क्षेत्रहरूमा जाने गर्दछ।

प्रकाशित: ९ पुस २०७४ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App