coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङ अस्पतालको लिलाम प्रकरण ढाकछोप गरिदै

खोटाङ – जिल्ला अस्पताल खोटाङले करोडौंको उपकरण सस्तो मूल्यमा लिलाम गरिएको घटनालाई ढाकछोप गरिएको छ । जिल्लाका ७२ अस्पताल र ४० वटा जनस्वास्थ्य कार्यालय उपकरण २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानविन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले ‘फल्ट’ नदेखिएको प्रतिवेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरणलाई सामसुम बनाइएको छ ।

एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली र बेड लगायतका उपकरण र सामान सस्तो मूल्यामा लिलाम गरिएको भन्दै आवाज उठेपछि स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामिछानेको संयोजकत्वमा बनेको समितिले छानविन गरेको थियो । कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले २०७२ फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ दिने सूचना टाँस गरेर २०७२ चैत्र २ गते लिलाम बिक्री गरेका थिए ।

अस्पतालका चार ट्रक उपकरण लिलाम बिक्री गरिएपनि सरोकारवालालाई भने ६ महिनापछि मात्र जानकारी गराइएको थियो । सार्वजनिक महत्वका बिक्री गरिएको भन्दै उद्योग वाणिज्य संघ, खोटाङ एकता सेवा समाज, नागरिक समाज र राजनैतिक दलले चर्को विरोध गरेपछि प्रशासनले सामान खरिदकर्ता रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका विनोद दाहाल, बाम्राङका राजन केसी र अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा राखिएका उपकरण २०७३ साल असोज १२ गते सिलबन्दी गरेको थियो ।

‘अस्पतालको सामान लिलामका विषयमा छानविन समितिले फल्ट नभेटेको प्रतिवेदन बुझाएको छ,’ प्रमुख जिल्ला अधिकृत अधिकारीले भने, ‘लिलामको प्रक्रियामा समिति चुकेको छैन । स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिक टोलीको मूल्यांकनमा अनियमितता नभएको भन्ने आएको छ ।’ स्थानीयहरुले भने लामो समयसम्म प्रतिवेदन नआउँदा कतिपयले उपकरण लिलाम प्रकरणलाई ढाकछोप गर्दै संलग्न दोषीलाई उन्मुक्ती दिनका लागि छानविनको नाटक रचिएको दाबी गरेका छन् ।

प्रकाशित: ९ पुस २०७४ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App