७ वैशाख २०८१ शुक्रबार
खेल

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

काठमाडौं- गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

६ महिनाअघि भारतको गुवाहटीमा सम्पन्न १ सय मिटर ब्याकस्ट्रोकमा दक्षिण एसियाली खेलकुद (साग) को कांस्य पदक जित्दा बनाएको राष्ट्रिय कीर्तिमानभन्दा रियोको पोखरीमा आइतबार उनले गरेको प्रदर्शन कमजोर थियो। १ मिनेट ०७.३१ सेकेन्डको टाइमिङका साथ साग कांस्य जितेकी उनले रियोमा निर्धारित दुरी पार गर्न १ मिनेट ०८.४५ सेकेन्ड लगाइन। तर आफ्नो हिटमा प्रतिस्पर्धी दुईलाई पछि पार्दै पहिलो हुनु उनको उपलब्धी थियो।

आइतबारै १३ वर्ष २ सय ५५ दिन पुगेकी उनले विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा प्रतिस्पर्धा गर्ने सबभन्दा कान्छी खेलाडीको रुपमा कीर्तिमान बनाइन। रियो ओलम्पिकमा विश्वभरबाट ५६ खेलमा सहभागि ६ हजार १ सय ८२ पुरुष र ५ हजार १ सय ६ महिला गरी कुल ११ हजार २ सय ८८ खेलाडीमध्ये गौरिका सबभन्दा कान्छी हुन्। 

ओलम्पिक एक्वाटिक्स रंगशालाको पोखरीमा गौरिकाले आफ्नो हिटका प्रतिस्पर्धी कोसोभोकी जेकिरी रिटा (०१ः१२ः३१) र केन्याकी लानोई टालिसा (०१ः१०ः०२) लाई पछि पारिन। तर अघिल्लो चरणका लागि छनोट हुन उनलाई त्यो पर्याप्त भएन। पाँच फरक हिटमा गरी कुल ३४ खेलाडीले प्रतिस्पर्धा गर्दा गौरिका ३१ औं भएकी थिइन। सबै प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ खेलाडी अघिल्लो चरणमा जाने प्रावधानअनुसार उनी पहिलो हिटबाटै वाहिरिएकी थिइन।

हिट नम्बर ४ की अमेरिकी पौडीवाज बेकर क्याथलिन ५८ः८४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै शीर्ष स्थानमा रहिन। यसैगरी हिट नम्बर ५ की अस्ट्रेलियन खेलाडी सीबोम इमिली (५८ः५९) दोस्रो तथा त्यही हिटकी क्यानेडियन मासे काइल (५९ः०७) तेस्रो भएर अघिल्लो चरणका लागि छनोट भए। शीर्ष १६ मा परेर अघिल्लो चरण छानिने अन्य खेलाडीमा डेनमार्ककी नेल्सन मिई, हंगेरीकी होसाजु काटिन्का, अमेरिकाकी स्मोलिगा ओलिभिया, बेलायतकी डेविस जर्जिया, अस्ट्रेलियाकी विल्सन माडिसन, चीनकी फू युवान्हुई, रुसकी फेसिकोभा एनास्तासिया, जिम्बाब्वेकी कोभेन्ट्री क्रिस्टी लेइघ, क्यानाडाकी बुचार्ड डोमिनिक, क्रोएसियाकी सामार्डिजिक माटिया, चीनकी वाङ सुइर, स्पेनकी दा रोचा मार्से डुवाने र इजरायलका गुस्ताफस्डोटिर इग्लो छन्। छनोट हुनेमध्ये सबभन्दा पछाडि रहेकी इजरायली गुस्ताफस्डोटिरको टाइमिङ ०१ः००ः८९ थियो। जुन गौरिकाको भन्दा ०७ः५६ सेकेन्ड कम हो।

गौरिका रियो ओलम्पिक खेल्नुअघि नै चर्चामा थिइन्। १२ औं सागमा नेपालका लागि ऐतिहासिक सफलता दिलाएकी गौरिका यसपटक उमेरका कारण विश्वव्यापी चर्चा बटुल्न सफल भएकी थिइन। 

रियो ओलम्पिकको सोमबार प्रकाशित आधिकारिक बुलेटिनमा गौरिका सबैभन्दा कम उमेरकी खेलाडी भएको उल्लेख थियो। उनी रियो ओलम्पिककै सबभन्दा कम उमेरको खेलाडी भएको समाचार एएफपी, रोयटर्सलगायतका विश्वका प्रतिष्ठित समाचार एजेन्सीहरुले महत्वका साथ प्रकासन गरेका थिए।

दुई वर्षको उमेरबाट परिवारसाथ बेलायत बस्दै आएकी गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालका लागि एक रजतसहित ४ कांस्य पदक जितेकी थिइन्। सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन्। उनले २०० मिटर व्यक्तिगत मिड्लेमा रजत तथा ५०, १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेकी थिइन्। दुई वर्षअघि नेपाल आएर पौडीका राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी गौरिकाले विभिन्न इभेन्ट्समा ३० पटक राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। अहिले पनि उनको नाममा १२ वटा राष्ट्रिय कीर्तिमान छन्।

१ सय मिटर फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई, ५० मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याक्रस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्रेस्टस्ट्रोक, १ सय मिटर ब्रेस्टस्ट्रोक, २ सय मिटर व्यक्तिगत मिड्ले, ४ गुणा १ सय मिटर रिले, ४ गुणा २ सय मिटर रिले र ४ गुणा १ सय मिटर मिड्ले रिलेमा गौरिकाका नाममा राष्ट्रिय कीर्तिमान छन्।

प्रकाशित: २४ श्रावण २०७३ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App