८ वैशाख २०८१ शनिबार
खेल

दीप बाल्नेलाई नै थाहा थिएन

रियो दी जेनेरियो- भेन्डरली कोर्डेइरो डी लिमालाई रियो ओलम्पिकको उदघाटन समारोहमा आफू माराकाना रंगशालाभित्रकै दर्शक हुने थाहा थियो। तर उनलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेलाको उदघाटनमा ओलम्पिक दीप प्रज्वलन गर्नेमध्ये आफू पनि एक भएकोवारे कुनै जानकारी थिएन।

'आयोजकहरुले मलाई अन्तिम समयमा पेलेको ठाउँमा दीप प्रज्वलनका लागि रोजेका हुन्। मैले यति ठूलो सम्मान र अवसर अपेक्षा गरेको थिइन। मेरा लागि त्यो आश्चर्यजनक रहयो,' उनले भने। २००४ को ग्रिस ओलम्पिकमा ब्राजिलका लागि कांस्य पदक जितेका म्याराथन धावकले पत्रकारहरुलाई जानकारी गराएअनुसार दीप प्रज्वलनवारे उनी आफैले मुश्किलले एक घन्टाअघिमात्र जानकारी पाएका थिए।

दीप प्रज्वलनका लागि ओलम्पिक आयोजकहरुको पहिलो रोजाईमा फुटबलका महान खेलाडी पेले थिए। तर ७५ वर्षे पूर्व सुपरस्टार फुटबलरले शुक्रबारमात्र स्वास्थ्यको कारण देखाउँदै असमर्थता देखाएका थिए। माराकाना रंगशालाको ओलम्पिक टर्चसम्म उक्लिन स्वास्थयका कारण नसक्ने पेलेले बताएका थिए।

ग्रिसको कांस्यपछि ब्राजिलमा अत्यन्तै लोकप्रिय भएका डी लिमालाई आयोजकहरुले पहिल्यैदेखि विकल्पका रुपमा राखेका थिए। तर उनले भने उदघाटन समारोह हेर्न रंगशाला पुगिसकेपछि मात्र आफूलाई जानकारी गराइएको बताए।

'मेरो विचारमा मुस्किलले एक घन्टाअघिमात्र दीप प्रज्वलनका लागि मलाई चुनिएको जानकारी गराइएको थियो,' डी लिमाले पत्रकारहरुसँग भने।

ब्राजिलमा डी लिमा खास परिचित नाम थिएन। तर २००४ को सनसनीपूर्ण पदकपछि उनी ओलम्पिक हस्तीका रुपमा उदाएका थिए। एथेन्समा आधा बाटोसम्म उनले आश्चर्यजनक रुपमा म्याराथनमा अग्रता लिएका थिए। चार माइलमात्र बाँकी रहँदा पनि उनी नै सबभन्दा अगाडि रहेर स्वर्ण पदकको नजिक पुगेका थिए। त्यसपछि मानसिक सन्तुलन गुमाएका एकजना पूर्व आइरिस पुजारी बाटोमा अचानक आएर डी लिमालाई धकेल्दै भिडतिर लगे। दर्शक र पुलिसको सहयोगमा आफूलाई ति पुजारीको पकडबाट मुक्त बनाउँदासम्म डी लिमाले स्वर्ण पदकका लागि लिएको स्वर्णिम अग्रता गुमाइसकेका थिए। तथापि उनले आफूलाई सम्हाल्दै कांस्य पदकमा कव्जा जमाए। जीवनकै सबभन्दा महत्वपूर्ण अवसरमा आफूलाई सफलताबाट विथोलिँदा पनि उनले देखाएको नम्र व्यवहारका कारण स्वर्ण नतिजे पनि उनी लाखौं समर्थकको मन जित्न सफल भए। सान्त्वनास्वरुप उनलाई स्पोर्टसम्यानसिपको पदक पनि दिइयो। तर शुक्रबार उनले ति सब सम्झनालाई पनि सधैका लागि जलाए।

'मैले आज आफ्नो स्वर्ण पदक जितेँ,' उदघाटन समारोहपछि उनले भने, 'यो भावना र सम्मानका साथ बाच्न पाउनु स्वर्ण जित्नुभन्दा धेरै ठूलो कुरा हो। मैले यो सम्मान सम्पूर्ण देशवासीमा समर्पण गरेको छु। म त्यहाँ सम्पूर्ण ब्राजिलीको तर्फबाट गएको हुँ।'

डी लिमाका लागि ओलम्पिक दीप प्रज्वलनमात्र नभई अन्य अर्थमा पनि रियो ओलम्पिकको उदघाटन समारोह विशेष रहयो। 'ओलम्पिकको उदघाटन सत्र मैले रंगशालामा बसेर हेरेको यो पहिलो पटक हो। म्याराथनको प्रतिस्पर्धा जहिले पनि अन्तिममा हुन्छ। त्यसैले हामी म्याराथन धावकले उदघाटन सत्र जहिले पनि गुमाउने गर्छौ। यसपाली पहिलो पटक हेर्न पाएकाले पनि यो मेरा लागि विशेष स्मरणीय रहयो। म निकै खुसी छु,' उनको आश्चर्यजनक भनाई थियो।

प्रकाशित: १६ पुस २०६४ १८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App