५ वैशाख २०८१ बुधबार
खेल

मड्रिडमाथि बार्सिलोनाको शानदार जित

बार्सिमड्रिड- लियोनल मेसी, लुइस स्वारेज र एलेक्स भिडालको गोलप्रेरित बार्सिलोनाले शनिबार चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई सान्टियागो बेर्नाबेउमा ३–० ले हराउँदै उपाधि होड बलियो बनाएको छ ।
क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियालले पहिलो हाफमा अग्रता लिने मौका गुमायो । ५४औं मिनेटमा स्वारेजले काउन्टर अट्याकमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिए । त्यसको दश मिनेट बित्न नपाउँदै मेसीले भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाए । पाउलिन्होले गरेको हेड बललाई डानी कार्भाहालले ‘गोललाइन’ मा हातले रोकेपछि सीधै रातो कार्डको सामना गरेका थिए ।
इन्जुरी समयमा एलेक्स भिडालले गरेको गोलमा पनि मेसीले अवसर सिर्जना गरिदिएका थिए ।
जितसँगै बार्सिलोनाले सबैखाले प्रतियोगितामा अविजित यात्रालाई २५ खेलसम्म लम्बाएको छ । साथै अगस्टमा स्पेनिस सुपर कपमा ५–१ ले हारेको बदला लियो ।
जितसँगै बार्सिलोनाले रियाल मड्रिडलाई १४ अंकले पछि छाडेको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पारेको छ । तथापि ४० वर्षे च्याम्पियन्स लिगको इतिहासमा लगातार तीन उपाधि जित्ने लक्ष्यमा रहेको रियालले १ खेल कम खेलेको छ । तर, बार्सिलोनाको १७ खेलबाट ४५ अंक छ । दोस्रो स्थानको एट्लेटिले ३६ अंक जोडेको छ । १ खेल कम खेलेको भ्यालेन्सियासँग ३४ अंक छ ।
शुक्रबार स्पानियोललाई १–० ले नतिजा सुम्पिएपछि एट्लेटिको मड्रिडले शीर्ष टोली बार्सिलोनासँगको दूरी घटाउने मौका खेर फालेको थियो । हारपछि बार्सिलोनासँगको दूरी कम्तीम २४ घन्टाका लागि घटाउने अभियानमा असफल एट्लेटिको ३६ अंकका साथ दोस्रो स्थानमा कायम छ ।
घरेलु मैदानमा समय सकिन दुई मिनेट बाँकी रहँदा सर्जियो गार्सियाले गरेको एउटै गोल स्पानियोलको जितमा पर्याप्त भयो । रेलिगेसनबाट जोगिने लक्ष्यमा रहेको स्पानियोलका लागि इस्टेबान ग्रानेरोको क्रसलाई गोलमा परिणत गर्दै गार्सियाले महत्वपूर्ण तीन अंक दिलाएका थिए । जितपछि स्पानियोलले रेलिगेसन क्षेत्रसँगको दूरी ५ अंकले फराकिलो पारेको छ ।
‘फुटबलमा जस्ले गल्ती ग¥यो, उसैले हार्ने हो । आज उनीहरूले कुनै गल्ती गरेनन् । हामीले चाहिँ गल्ती गरिरह्यौं । हाम्रो हारको कारण यही रह्यो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले भने ।
स्पेनिस ला लिगामा शुक्रबारै सम्पन्न अर्को खेलमा एथलेटिक बिलबाउले रियाल बेटिसमाथि २–० को विजयी नतिजा निकाल्यो । बेटिसका जोर्डी अमाटले घरेलु मैदानमा मध्यान्तर हुन ११ मिनेट बाँकी रहँदा रातो कार्ड सामना गरेपछि टोली ५५ मिनेटभन्दा बढी १० खेलाडीमा सीमित भएको थियो । राउल गार्सियाले ३६औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बिलबाउलाई अग्रता दिलाए भने समय सकिन पाँच मिनेट बाँकी रहँदा बेटिसका जोहेर फेडलले आत्मघाती गोल उपहार दिएका थिए ।

प्रकाशित: ९ पुस २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App