coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बस्तीनजिकै ग्यास उद्योग, स्थानीय त्रस्त

धादिङ- बस्तीभन्दा टाढा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उद्योग बस्ती र राजमार्ग आसपास छन् ।
बस्तीकै छेउमा यस्ता उद्योग सञ्चालन गर्दा जोखिम र त्रास बढेको थाक्रेका धर्मराज जोशीले बताए । वीरगन्जस्थित सुपर ग्यास उद्योगमा आगलागी भई मानवीय क्षतिसमेत भएपछि अहिले यस्ता उद्योग रहेका क्षेत्रका बासिन्दामा त्रास बढेको छ । ‘कतिबेला के घटना हुन्छ पत्तो हुँदैन,’ जोशीले भने, ‘सरकारले पनि ग्यास उद्योगको अनुगमन गर्दैन ।’ बस्तीनजिकै यस्ता उद्योग छन् तर सम्भावित दुर्घटनाबाट बच्ने उपायबारे उद्योगी, कामदार र स्थानीय बासिन्दा होही पनि कुनै जानकार नभएको उनले बताए ।
धुनिबेसी नगरपालिकाको खानीखोलादेखि बेनीघाट रोराङ गाउँपालिकाको मझिमटारसम्म १९ वटा ग्यास उद्योग सञ्चालनमा छन् । यो राजमार्ग क्षेत्र पनि हो । धुनीबेसी नगरपालिका–६, चालिसेमा रहेको सिद्धार्थ ग्यास उद्योग पृथ्वी राजमार्गबाट १५ मिटरको दुरीमा छ । सिद्धार्थको करिब ३ सय मिटरको दुरीमा एचपी ग्यास उद्योग छ ।
    थाक्रे गाउँपालिका–७, सातकिलामा २०६५ सालदेखि सञ्चालनमा आएको श्री ग्यास उद्योग पनि राजमार्गबाट करिब सय मिटर दुरीमा छ । ‘बस्ती बढ्दा स्थानीयलाई मात्र होइन हामीलाई पनि गाह्रो भएको छ’, श्री ग्यासका प्रमुख पुस्तक चौलागाईले भने, ‘उद्योग सुरु गर्दा एकदुई घर मात्र थिए, अहिले घर धेरै थपिएकाले समस्या बढेको हो’ ।
स्थानीय निर्मला पन्त भन्छिन, ‘बस्तीको सुरक्षा त परै जाओस्, प्लान्टका कर्मचारी र मजदुरको सुरक्षासमेत छैन ।’ धेरै प्लान्टसँग ग्यास भर्ने पुराना सिलिन्डरको सुरक्षा परीक्षण उपकरणसमेत छैनन् । कुनै घटना भइहाल्यो भने सुरक्षा सचेतना छैन ।’
धादिङमा सुरुमा २०६३ मा भूमेस्थान–९, खयरघारीमा ओम ग्याँस उद्योग स्थापना भएको हो । अहिले नौबिसेमा तीन, थाक्रेमा दुई, भूमेस्थानमा दुई, बैरेनीमा एक, गजुरीमा एक, बेनीघाटमा दुई, धुसामा एक र जोगीमारामा एउटा ग्याँस उद्योग सञ्चालनमा छन् ।
    प्रचलित कानुनसमेत ख्याल नगरी स्थापना भएका कतिपय उद्योग वातावरणमैत्री पनि छैनन् । यसबाट आसपासका बस्ती र उद्योगमा काम गर्ने मजदुरको सुरक्षामा समेत चुनौती थपिँदै गएको छ । यी उद्योगले सञ्चालन अनुमति लिँदाका सर्त पालना गरेका छैनन् ।
सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कम्पनीको मेट्रो काठमाडौं ग्याँस पनि राजमार्ग र बस्ती नजिकै छ । एसटिसी ब्रान्डमा ७५ हजार सिलिन्डर रहेको यस उद्योगले दैनिक १ हजार सिलिन्डर काठमाडौं पठाउँछ ।
    धमाधम बस्ती विकास भइरहेका राजमार्ग वरपरका क्षेत्रा हचुवामा उद्योग सञ्चालन अनुमति दिइएको प्रशासनकै कर्मचारी स्वीकार्छन् । प्रमुख राजमार्ग, मानवीय बस्ती, विद्यालय, होटल, अस्पताललगायत सार्वजनिक स्थल, नदी, सामुदायिक वनबाट निश्चित दूरीमा रहने सर्तमा ग्यास भर्ने प्लान्ट र पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई सञ्चालन अनुमति दिने कानुनी प्रावधान छ । तर यहाँ धेरै प्लान्टले यो प्रावधान पालना गरेका छैनन् ।
ग्यास उद्योगले सुरक्षा उपाय नअपनाएको गुनासो त्यहाँ कार्यरत मजदुरको पनि छ । ८ वर्षदेखि ग्यास उद्योगमा काम गर्दै आएका थाक्रेका तिलक सुवेदीले ग्यास उद्योगले सुरक्षा प्रबन्ध नगर्दा मजदुर जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहेको बताए । तर उद्योग सञ्चालक भने सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्छन् । धादिङमा सुगम, सिद्धार्थ, एचपी, श्रीराम, नमस्ते, गीता, श्रीकृष्णलगायत ग्याँस उद्योग सञ्चालनमा छन् ।
ग्यास उद्योग उद्योग विभागमा दर्ता भई सञ्चालनमा आएका कारण जिल्लामा कुनै अभिलेख नरहेको घरेलु तथा साना उद्योग विभाग धादिङका प्रमुख केदार खड्का बताउँछन् ।

प्रकाशित: ९ पुस २०७४ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App