coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवनको छनौट सम्भावना जीवित (भिडियो)

काठमाडौं- कप्तान दिपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतकप्रेरित चितवन टाइगर्सले शनिबार एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर पेट्रियटस्माथि ५ विकेटको जितका साथ प्रतियोगिताको शीर्ष ४ मा बस्दै इलिमिनेटरमा छनोट हुने सम्भावना जीवित राखेको छ।

कीर्तिपुरस्थित त्रिवी  क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले दिएको १ सय ३१ रनको लक्ष्य ४ बल अगावै पूरा गर्दै चितवनले प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो।

यस जितपछि ४ खेलको समाप्तीमा २ अंक जोडेको चितवन समूहको अन्तिम स्थानमा छ । समान खेलमा समान २–२ अंक जोडेको ललितपुर र काठमाडौं किंगस क्रमश चौथो र पाँचौ स्थानमा छ ।यसअघि ४ खेलमा शतप्रतिशत नजिता निकालेको विराटनगर वारियर्स ८ अंकका साथ शीर्ष स्थानमा छ । एक खेल कम खेलेका पोखरा राइनोज र भैरहवा ग्याडियटर्स क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

सुरुआती तीन खेल गुमाएपनि टोलीले आत्मविश्वास नगुमाएकाले जित सम्भव भएको ऐरीले बताए।‘टोलीले आज निकै उत्कृष्ट प्रदर्शन गर्‍यो । दबाबकाबिच भैले र प्रविणले एक एक रन लिदै टोलीको इनिङ उकास्ने रणनिती लिएका थियौ र हाम्रो साझेदारुी फलदायी हुदाँ टोलीले सफलता हात पार्‍यो,’ऐरीले भने, ‘टोलीले सुरुआती तीन खेलमा लय भेट्टाउन सकेको थिएन। त्यसैले हाम्रो प्रदर्शन निकै कमजोर बनेको थियो। ‘तर प्रशिक्षक र टोलीका केही सिनियर खेलाडीले अझै दुई खेल बाकी भएकाले हामी चौथो स्थानमा बस्दै इलिमिनेटरमा छनोट हुँदै सभ्भवना भएको भन्दै निरन्तर टोलीको हौसला बढाएरहे ।हाम्रो जितले अन्तिम तीन स्थानमा भएका टोलीको इलिमिनेटर  सम्भावना जीवित राखेको छ ।यस जितले टोली हौसला थप बढेको छ । अघिल्लो चरणमा छनोट हुनेमा आशावादी छौं।’चितवनका दिपेन्द्रले ५५ र प्रबिणले अविजित ५६ रनको योगदान दिए।

 ‘टोलीको जितमा योगदान दिन पाउदाँ धेरै खुशी छु,’खेलमा २ विकेट समेत लिएका म्यान अफ दी म्याच प्रविणले भने, ‘अन्तिम खेलमा पनि आजको जस्तै उत्कृष्ट प्रदर्शन गर्नेमा म अशावादी छु।’

ललितपुरका सन्नी पटेलले तीन तथा सन्दिप र ललितले समान एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनको योगफल  खडा गरेको थियो।

ललितपुरका ओपनर जयकिसन कोल्सावाला ३१ र शंकर रानाले २७ रनको योगदान दिए । कोल्साबाला र शंकरले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए।

३१ बल खेलेका कोल्साबालाले ३ चौका र ३७ बलको सामना गरेका शंकरले ४ चौका प्रहार गरे । त्यस्तै सुबोध भाटीले २३ र सोनु तामाङले १९ रन जोडे।

चितवनका योगेन्द्रले ४ तथा प्रविण र प्रमेश कुमारले समान २–२ विकेट लिए। ललितपुरका कप्तान जानेन्द्र मल्लले पछिल्ला केही खेलहरुमा देखिएको कमजोरीले यस खेलमा पनि निरन्तरता पाउदाँ नतिजा सुम्पन परेको बताए।

‘हामीसँगै अझै एउटा अवसर बाकी छ । त्यसैले इलिमिनेटरमा छनोट हुने सम्भावन जीवित छ ,’मल्लले भने, ‘हामीले अन्तिम ४ ओभरमा लगातार विकेट गुमायौ । हाम्रो स्कोर थप १५–२० रन भैदिएको भए हाम्रा बलरहरुलाई समेत केही मद्दत पुग्थ्यो।’

यसअघि शनिबारै सम्पन्न पहिलो खेलमा विराटनगरले प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा भैरहवालाई ३५ रनले पराजित गर्‍यो।

विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा अलआउट हुदै १ सय १४ रनमात्र जोड्न सक्यो।

भैरहवाका ओपनर प्रदिप ऐरीले र हरि शंकर शाहले समान १८–१८ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।१८ बल खेलेका प्रदिपले ४ चौका प्रहार गर्दा २१ बल खेलेका हरि शंकरले १ चौका प्रहार गरे।

यसअघि ओपनर अंशुमन रथ र बाबर हायतले दोस्रो विकेटका  लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेपछि विराट नगरले १ सय ४९ रनको सम्मानजनक योगफल खडा गरेको थियो।

म्यान अफ दी म्याच अंशुमनले ५७ र बाबरले ३६ रनको योगदान दिए ।५० बल खेलेका रथले ८ चौका प्रहार गर्दा ३६ बल खेलेका बाबरले २ चौका र १ छक्का प्रहार गरे। भैहवाका हरिशंकरले ३ तथा अरिफ शेखले २ विकेट लिए।

भिडियो: प्रबिन कोइराला

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: ८ पुस २०७४ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App