४ वैशाख २०८१ मंगलबार
राजनीति

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

खोटाङ– गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्। सछितापोखरीको तृतिय भञ्ज्याङमा प्रस्तावित केन्द्रलाई सछितापोखरीको नाराङ्गा वा डाँडागाउँ ओख्रेमा सार्नुपर्ने पक्षमा आवाज उठाउँदै आएका दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेरबहादुर खत्री, दिप्रुङ गाउँपालिका–२ डाडाँगाउका वडाध्यक्ष भिमबहादुर खत्री र दिप्रुङ गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर मगरसहित १४ जनप्रतिनिधिले संयुक्त राजीनामा दिएका हुन्। गाउँपालिकाको केन्द्र टुंग्याउने विषयमा बिहिबारदेखि सुरु भएको छलफलमा छोरम्बु, बतासे, सछितापोखरी र छितापोखरीका वडाका जनप्रतिनिधि सछितापोखरीको ह्याकुले भञ्ज्याङदेखि तृतिय भञ्ज्याङसम्मको क्षेत्रमा केन्द्र राखिनुपर्ने अडान लिएपछि उनीहरुले शुक्रबार साँझ राजीनामा दिएका हुन्।

जनप्रतिनिधिको एक समूह सछितापोखरीको ह्याकुलेदेखि तृतिय भञ्ज्याङ आसपासमा तथा अर्को समूह नाराङ्गा वा डाँडागाउँ ओख्रेमा केन्द्र राख्नुपर्ने पक्षमा बिभाजित भएर विबादमा उत्रिएपछि निष्कर्ष बिहिन बनेको बैठक गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले पुस १० गतेसम्मका लागि स्थगित गरेको सूचना टाँस गरेका छन् । राज्य पुनसंरचना आयोगले भने दिप्रुङ गाउँपालिकाको केन्द्र सछितापोखरी तृतिया भञ्ज्याङ तोकेको थियो । हाल सोही स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदैआएको छ । तृतिया भञ्ज्याङकै आसपासमा रहेको ह्याकुले भञ्ज्याङमा केन्द्रका लागि १११ रोपनी जग्गा समेत प्राप्त भइसकेको माओबादी केन्द्रका नेता दिपक पाण्डेले बताए ।

स्थानीय सरकार शासन सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार गाउँपालिकाको केन्द्र र नाम ६ महिनामा टुङ्गो लगाईसक्नु पर्ने प्रावधान अनुसार गाउँपालिकाले छलफल थालेको थियो। ‘केन्द्रका विषयमा भएको बिवाद नटुंगिएकाले बैठक रोकिएको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘राजनीतिक दल र असन्तुष्ट पक्षलाई समेट्न प्रयास गर्दा पनि नभए विधि र प्रक्रिया अनुसार केन्द्रको टुङ्गो लगाईनेछ।’

दिप्रुङ गाउँपालिका घर भएका कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले सहमतीमा सबैको पायक पर्ने ठाउँमा केन्द्र राख्नका लागि सहमती कायम गर्नुपर्ने बताए।

हलेसी तुवाचुङ नगरपालिकामा पनि बिवाद

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय राख्ने स्थानका विषय बिवादित बनेको छ । मेयर इवन राईले दुर्छिमको छापडाँडामा रहनुपर्ने नगरपालिकाको कार्यालयलाई कोटगैरामा राख्ने निर्णय गराएको भन्दै चार वडाध्यक्षले बिरोध जनाएका छन्। बुधबार बसेको ११ सदस्यीय नगर कार्यपालिकाको बैठकमा मेयर राईले स्वेच्छाचारी ढंगले छापडाँडामा रहेको नगरपालिकाको कार्यालय कोटगैरामा राख्नका लागि निर्णय गराएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाअध्यक्ष हरिकुमार खड्का, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाअध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी खत्री र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले विरोध जनाएका हुन्। नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा असहमती जनाउँदै कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका चार वडाध्यक्षले संयुक्त विज्ञाप्तीमार्फत अपायक स्थानमा नगरपालिकाको कार्यालय राख्न नहुने जनाएका छन्।

नगरबासीका लागि अपायक हुने र किरातीको ऐतिहाँसिक एबं पर्यटकीयस्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवर्द्धनमा अशर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताए। ‘नगरपालिकाको केन्द्र दुर्छिमको छापडाँडामा राख्न सिफारिस भएको थियो,’ वडाध्यक्ष  राईले भने, ‘तर, नगरप्रमुखले भिरालो र किरातीको ऐतिहासिकस्थलमा अशर पुग्ने स्थानमा राख्न बल गरेकाले आपत्ती जनाउनु परेको हो।’

नगरपालिकाका लागि स्थानीयबाट चार स्थानमा जग्गा प्राप्त भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद २ को ४ मा गाउँपालिका तथा नगरपिालिकाको नाम र केन्द्र, उपदफा ३ मा गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्रको हेरफेर गर्नपरेमा सम्वन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यापालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था भएपनि सामान्य मापदण्ड समेत नबनाई जग्गा छनौट गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका अध्यक्ष भलाराज राईले बताए । नगरपालिकाको कार्यालय सार्न नहुनेपक्षमा उभिएका वडाध्यक्ष वामगठबन्धनका हुन् ।

स्वार्थ र कमिसनको खेलमा नगरपालिकाको कार्यालय कोटगैरा पुर्‍याउने खेल भएको असन्तुष्ट वडाध्यक्षको आरोप छ । कोटगैरा आसपासमा केही नेताले जग्गा खरिद गरेकाले सोही स्वार्थ अनुसार नगरपालिकाको कार्यालय कोटगैरा सार्ने खेल भएको श्रोतको दाबी छ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले भने अन्य जग्गामा अस्पताल, खेलमैदान र बसपार्क राख्ने तथा कोटगैरामा नगरपालिकाको कार्यालय राख्ने निर्णय भएको बताए । ‘निर्णयमा चित्त नबुझे छलफल गर्न सकिन्छ,’ मेयर राईले भने, ‘तर, छलफल नभै कुरा बाहिर निस्किएको छ । के चलखेल भएको छ, साथीहरुसँग बस्ने छु।’

प्रकाशित: ८ पुस २०७४ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App