४ वैशाख २०८१ मंगलबार
समाज

ड्रोनले बढायो सुरक्षा चुनौती

काठमाडौं- नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्।

तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्बिर र दृश्य रहेको प्रहरीले जनायो। प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए। 'राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,' उनले भने, 'यसरी लिएका तस्बिर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ।'

गृह मन्त्रालयले गत कात्तिकमा 'अनम्यान एरियल उडान' सम्बन्धी कार्यविधि २०७२ बनाएपछि प्रहरीले १० विदेशी नागरिकलाई पक्राउ गरेको छ। तिनले नेपाली सेनाको मुख्यालय जंगी अड्डादेखि मन्त्रीनिवास हरिहरभवनसम्मका तस्बिर लिएको प्रमाण रहेको प्रहरीको दाबी छ। मन्त्रालयको कार्यविधिअनुसार ड्रोन उडाउन नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ, उडानका बेला सुरक्षाकर्मीको उपस्थिति अनिवार्य छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सुरक्षा खतरा नहुने गरी ड्रोन उडाउन प्राधिकरणले व्यवस्था मिलाउने भए पनि अन्य घटनामा प्रहरीसहितका निकायले नियमन र कारबाही गर्नुपर्ने बताए। उनका अनुसार ड्रोनबाट जासुसी गर्ने, निषेधित स्थानको तस्बिर र दृश्य लिने तथा व्यक्तिगत र राज्यको गोपनीयता भंग हुने खतरा रहन्छ। 'ड्रोन उडाउँदा नेपाली आकाशमा निम्तिन सक्ने खतराको मूल्यांकन प्राधिकरणले गर्छ, बाँकी क्रियाकलापमा सम्बन्धित निकायले प्रचलित कानुनअनुसार कारबाही गर्ने हो,' पोखरेलले भने।

प्रहरीले कारबाहीका लागि प्राधिकरण पठाएका विदेशी नागरिकलाई सचेत गराउँदै आइन्दा नगर्ने सर्तमा दुई हजार जरिवाना लिएका भरमा छाडिँदै आएको छ। प्राधिकरणले बरामद तस्बिर र दृश्य मेटाउनुका साथै त्यसपछि पनि प्रयोग गरे राहदानी जफत गरी फिर्ता पठाउनेसम्मको अधिकार राख्छ।

कारबाहीमा सबै विदेशी नागरिक

प्रहरीले बिनाअनुमति क्यामराजडित ड्रोन उडाएको आरोपमा बुधबार मात्र दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। एकथान ड्रोनसहित रसियाका चुपिन अलेक्जान्डर र काजकिस्तानका नुसुपोभ अलेक्जान्डर पक्राउ परेका हुन्। महानगरीय प्रहरी प्रभाग, सानेपाको टोलीले उनीहरूलाई ललितपुर, धोबीघाटबाट नियन्त्रणमा लिएको थियो।

ललितपुर प्रहरीले कारबाहीका लागि प्राधिकरणमा बुझाएका दुवै जना बिहीबार जरिवाना बुझाएर रिहा भइसकेका छन्। ललितपुर प्रहरीप्रमुख एसएसपी पीताम्बर अधिकारीका अनुसार दुवै जना हङकङ र चीन हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिएका हुन्। नेपालमा रहेका साथी भेट्न आएका दुवैले सोही घरको छतबाट ड्रोन उडाएका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि वैशाख १० मा चुच्चेपाटी क्षेत्रबाट कोरियन नागरिक किमगन फइकलाई अनधिकृत ड्रोन उडाएर तस्बिर तथा दृश्य लिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै गत चैत २६ मा स्वयम्भू स्तुप क्षेत्रमा ड्रोन उडाउने चिनियाँ याओ लान र माई जिआहो, चैत १४ मा चिनियाँ हेङ जियाजुङलाई बौद्ध स्तुप क्षेत्रबाट पक्राउ परेका थिए। 'फ्री तिब्बत मुभमेन्ट' को केन्द्रविन्दु मानिने उक्त क्षेत्रमा जियाजुङले सुराकी गरेको प्रहरीको आशंका छ। सोही वर्ष चैत ४ मा म्याग्दी, घोडेपानी क्षेत्रमा ड्रोन उडाउने युक्रेनी पोलिअक्स डेमिट्रोलाई पश्चिमक्षेत्रीय प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौं पठाएको थियो। ड्रोन उडाएकै आरोपमा चैत ११ गते बल्खु, सुकुम्बासी क्षेत्रमा ड्रोन उडाउने बेलायती क्रिस्टियन म्याक्नेजी र चैत १५ मा सुर्खेतको ऐतिहासिक काँक्रेविहार क्षेत्रबाट क्यानेडियन जे्रमी रेजिमपल ड्रोन उडाएकै आरोपमा पक्राउ परेका थिए।

यसअघि गत चैत १ मा ललितपुर, पुल्चोकस्थित मन्त्रीनिवासमा क्षतिग्रस्त अवस्थामा क्यामरा जडित ड्रोन फेला परेको थियो। स्वास्थ्यमन्त्री रामजनम चौधरीको सरकारी निवासबाहिर ड्रोन फेला परेको थियो। उक्त ड्रोन अनुसन्धानपछि विकास गुरुङले बुझेर लगेका छन्।

गत असोज २८ मा दुई चिनियाँ नागरिकलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा ड्रोन उडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। चाइना नेसनल टेलिभिजनका पत्रकार दाई ल्याङ र लिदोङ बेनलाई चिनियाँ दूतावासको रोहबरमा छाडिएको थियो।

अनुमति लिनेमा सेना, दूतावास, दल र व्यक्तिसम्म

प्राधिकरणले निश्चित प्रक्रिया पूरा गर्नेलाई ड्रोन उडाउन निःशुल्क अनुमति दिने गरेको छ। हालसम्म यसरी अनुमति लिनेको संख्या २० पुगेको छ। प्राधिकरण सुरक्षा निर्देशनालय प्रमुख सुभाष झाले प्रक्रिया पूरा गरेर आएका व्यक्ति र संस्थालाई अनुमति दिने गरिएको जानकारी दिए। उनका अनुसार अनमुति लिएका व्यक्ति र संस्थाले उडाउने स्थान र समयमा प्राधिकरणले 'नोटम' जारी गर्ने गरेको छ। नोटम भनेको ड्रोनले उडान भर्ने क्षेत्र र समयका विषयमा अन्य उडान भर्ने व्यक्तिलाई जानकारी दिने प्रक्रिया हो।

प्राधिकरणका अनुसार ड्रोन उडाउन नेपाली सेना, बेलायती राजदूतावास, इसिमोड, काठमाडौं विश्वविद्यालय, नापी विभाग, कान्जिरोवा स्कुल, त्रिचन्द्र क्याम्पस र पुरातत्व विभागलगायतले अनुमति लिएका छन्। यस्तै डा. रामचन्द्र पोखरेलले एकपटक र धनगढीका क्याप्टेन वेदप्रकाश उप्रेतीले पटकपटक ड्रोन उडाउन अनुमति लिएका छन्। 'अनुमति लिएर ड्रोन उडाउनेको संख्या बढेको छ, ड्रोन उडानलाई व्यवस्थित र सशुल्क बनाउन गृहकार्य गरिरहेका छौं,' झाले नागरिकसँग भने।

प्रकाशित: २४ श्रावण २०७३ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App