८ वैशाख २०८१ शनिबार
अन्य

राष्ट्र प्रेमभित्रको धड्कन

विकास थापा

नेपाली साहित्यमा महाकाव्य लेखाई पछिल्लो समय केही सुस्तायो, गति केही मन्द भयो । महाकवि देवकोटाले हालेको जगमा केही छिटफुट इँटा त थपिए तर सिंगो घर अझै बन्न सकेको छैन । एकातिर फुटकर कविता, फितलो आख्यान र बढी हल्लाखल्लामा बजार रमाएको देखिन्छ भने अर्कोतिर ओजस्वी चेतना, गुणात्मक साहित्यिक ज्ञान र गहिरो चिन्तन बोकेर साहित्यमा लाग्ने निकै कम देखिन्छन् । यही र यस्तै परिवेशबीच महाकाव्य लिएर आएका छन्– डा. नवराज लम्साल । 
लम्साल गीतकार, सञ्चारकर्मी पनि हुन् । यसअघि उनको कर्ण महाकाव्य प्रकाशित छ । 

धराको विषयवस्तु, चिन्तन स्पष्ट र सरल छ । त्यो हो राष्ट्रप्रेम, राष्ट्रभाव, राष्ट्रप्रतिको दायित्व, राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्रप्रतिको माया, लगाव, समावेशी, सहअस्तित्व, समभाव, माया–प्रेम र सद्भाव यिनै कुराहरू धराभित्र छन् ।

धरा, धर्तीमाता, आफू जन्मिएको माटो, देश, मातृभूमि सबै थोक हो । यसभित्र कविको कवित्व मात्र पोखिएको होइन । देश, माटो र हाम्रा यावत् यथार्थहरू पनि पोखिएका छन् । धराभित्र अभिव्यक्त आदर्शहरू चेतनाका उच्च तहहरू मात्र होइनन्, देशप्रेमका गर्विला उचाइहरू पनि हुन् । जहाँ शब्द प्रेरणा र साहित्यबाट व्यक्त हुने राष्ट्रप्रेमको उच्चतम नमुनाको मापन परिभाषाले मात्र गर्न सकिँदैन । राष्ट्रभक्तिका शब्दहरू आफैमा कति शाश्वत, शक्तिशाली र प्रेरणादायी हुन्छन् धरा पढे पुग्छ । यसभित्रका चिन्तन, आदर्शहरू मानिसको चेतनाको उचाइभन्दा निकै माथि छन् र त आममानिसले ढिलो बुझ्छन् । यो स्वाभाविक पनि हो । राष्ट्रप्रेमको तरंगले स्पन्दित, चेतनाको प्रकाश प्रवाह भएको यसभित्र चराचरलाई पटकपटक झकझकाइएको छ । दर्शन, राष्ट्रप्रेम र देशभक्ति पनि धर्मजस्तै एउटा प्रेम विज्ञानको प्रयोग हो। 

देशले के दियो भन्नेहरूलाई धरामार्फत बलियो झापड हानिएको छ । देशबाट सबैसबै थोक लिएर पनि देशकै चीरहरण गर्नेहरूले नै आज देशलाई यो अवस्थामा पुर्‍याए भन्ने धराको अर्को चेतावनीको पक्ष हो । धराले ठाउँठाउँमा धेरै गुनासो पनि गरेको छ । देशकै साधन र स्रोत हडपेर देशलाई समृद्ध बनाउनुको सट्टा निरन्तर देशलाई लुट्ने काम भयो । ऋणको हेक्का र माटोप्रतिको आफ्नो कर्तव्यबोध सबै नागरिकमा हुन जरुरी छ । धराभित्र देशको घनीभूत खोजी भइरहेको छ । देशमा उद्घाटित हुन बाँकी विविध पक्षहरूको उठान धराले गरेको छ । देश सबै जातजाति, भाषाभाषी, धनी, गरिब सबैको हो । देशभित्र सबैको समान अस्तित्व, दायित्व र सम्मान छ तर निरन्तर शासनसत्ता चलाउनेले देशलाई आफ्नो पुख्र्यौली पेवा ठान्दै आए । जसको परिणाम आज देश यो अवस्थामा छ । सबै कुरा शब्दमा छन्, व्यवहारमा छैनन् । यही कुरा व्यक्त गर्दै कवि धराभित्र यसरी पोखिन्छन्।
भन्छन् भन्नेहरू जम्मै
अधिकार बराबरी,
दुःखीको भागमा पर्छ
खाली भाषणको झरी ।

धराले राष्ट्रिय एकताको ठूलो आयामलाई पनि समेटेको छ । देशप्रति हाम्रो जिम्मेवारी, कर्तव्य र दायित्वबोध के हो ? देशबाट सधैँ लिने मात्र होइन, देशलाई दिन पनि सक्नुपर्छ भन्ने देशप्रेमको उच्चतम चेत धरामा छताछुल्ल भएर पोखिएको छ । आफ्नो माटो नभएको दिन हामी स्वयं बाटोविहीन हुनेछौँ भन्ने सारभूत दर्शनको चेत पनि यहाँ अभिव्यक्त भएको पाइन्छ । काव्यकार देश–दर्शनमा डुलिरहँदा भेटिएका विविध रूप र बान्कीहरू यसभित्र उनले सशक्त ढंगले उठाएका छन् । आखिर देश भनेको भूगोल मात्र त कदापि होइन रहेछ । यो चेत सबैको मन–मतिष्कमा समयमै घुस्न जरुरी छ ।  सबै भाषा, संस्कृति, वेशभूषा, जातजाति, चालचलन, धर्म–संस्कृति, परम्पराको सम्मान र उचित संरक्षणको मूल सार नै देश हो । यसको संरक्षण र सम्मान भए देश बलियो हुने हो । देश पढ्न, बुझ्न, सिक्न र केही गर्न उच्च चेतना चाहिन्छ । देशलाई हेर्न राष्ट्रप्रेमको उच्च दृष्टिबिन्दु चाहिन्छ । जबसम्म देशमा चेतनाको स्तर उठ्दैन, तबसम्म देश पनि माथि उठ्न सक्दैन । यो धराको अर्को काव्यिक पक्ष हो।

धराभित्र चिन्तनका धेरै पक्ष समेटिएका छन् । लामो, जटिल भाषा र शब्दजाल मात्र थुपारेर धराले बोल्न खोजेको आत्मिक कुरा र चिन्तनको पक्ष खोलिँदैन । धराको विषयवस्तु, चिन्तन स्पष्ट र सरल छ । त्यो हो राष्ट्रप्रेम, राष्ट्रभाव, राष्ट्रप्रतिको दायित्व, राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्रप्रतिको माया, लगाव, समावेशी, सहअस्तित्व, समभाव, माया–प्रेम र सद्भाव यिनै कुराहरू धराभित्र छन् । 
एक अर्थले धरा अहिले मातृभूमिले चुहाएको आँसुको संकलन पनि हो । देश पीडामा पर्दा देशले निकालेका वेदनाका हिक्काहरू अभिव्यक्त छन् कति ठाउँमा । देशमा उपलब्ध अवसरहरू सबैलाई समान ढंगले बाँडौँ । सबै नेपाल आमाका सन्तान नै त हुन् भन्ने उच्च भाव व्यक्त छ । त्यसैले त कविको चेत यसरी खुलेको छ यहाँ ।
कोही प्रीत प्रभात साँझ सुखमा कोही बिनायो धुन,
कोही भोज भतेर भोक अथवा कोही स्वयं गुन्गुन,
कोही खात र खातमाथि खटिया कोही त एड्ढया हुहु,
हे आमा कसरी कसिन्छ पिरती सन्तान तिम्रै म हुँ ।

हाम्रो समाजबाहिर सभ्यताको आवरणले आफूलाई पटकपटक ढाके पनि अझै बर्बर नै छ । राष्ट्र धर्म एउटा नैतिक तालिम नै हो । जसले मन, वचन र कर्मलाई सुसंस्कृत र शिक्षित बनाउँछ । त्यसमा हामी कमजोर छौँ कि बलियो, त्यो आम पाठकबीचमा बहस गर्ने र आत्ममूल्यांकन गर्ने विषय बनाइएको छ । धरा लम्सालको आत्म स्वज्ञानको परिणाम पनि हो । यो हाम्रो अस्तित्वको प्रमाण पनि हो । यो सर्वप्रथम ज्ञानको रूपमा अवतरित छ । स्वज्ञानमा आएका उच्च भावना नै यसमा प्रस्फुटित भएका हुन् । देशमा सबैको समान सहभागिता भएन भने धराले व्यक्त गर्न खोजेको दर्शनको कुनै अर्थ र महत्व रहँदैन । उनले धरामार्फत राष्ट्र चिन्तनको एउटा इमारत खडा गरेका छन् । चारैतिर यसमार्फत आफ्नो ज्ञान, अनुभव र आत्मविश्वासको उज्यालो छरिएको छ । तल्लो तहको विश्वासलाई ज्ञानको स्तरमा पुर्‍याउन खोजिएको छ । सबैलाई आत्मसम्मान र पहिचान हुने गरी एउटै राष्ट्रिय सूत्रमा बाँध्न कोसिस पनि छ यसभित्र । यसो भयो भने पहिला देश रहन्छ, अनि हामी पनि नेपाली भई सदासर्वदा रहनेछौँ।

हाम्रो आफ्नै माटोमा हुर्किएका धर्म, जातजाति, विविध सम्प्रदाय, भाषा, संस्कृति, वेशभूषा र चालचलन छन् । यी सब हाम्रा देशका चिनारी, गौरव र आत्मसम्मान हुन् । यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । यसको जगेर्ना र संरक्षण नगरी हामी सबल र सक्षम कदापि बन्न सक्दैनाँै । लोकतन्त्रले कल्पना गरेको समावेशी, समानुपातिक, पहिचान यसभित्र पनि मूलमन्त्र बनेको छ । देशले आजसम्म अवसर जात हेरेर बाँड्यो । जहाँ युगौँदेखि एउटै मात्र फूल देशलाई सुहाउने गरेर मात्र फुल्ने अवसर पायो । सयौँ फूल आजसम्म दमन र उपेक्षाको सिकार बने । दुई–चारजना शासकका लागि मात्र देश क्रीडास्थल बन्यो । राज्यसत्तामा हालिमुहाली गर्नेले मात्र आफ्नो महानता फलाके । हामीले देशभित्र मायाप्रेम र सद्भाव बाँड्न सकेनौँ, जसले तीक्तता मात्र बढायो । देशलाई खण्डखण्ड बनाउँदै लग्यो । नेपाल सबै जातजातिको साझा र समावेशी फूलबारी हो । जुनसुकै जातजाति, जुनसुकै धर्म माने पनि पहिला नेपाली भन्ने राष्ट्रिय एकता जगाउन खोज्नु धराको अर्को महानता हो । उनले समावेशी, समानता र सम्मानको वकालत यसरी गरेका छन् धराभित्र ः
लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ
गुप्ता, यादव, झा र राजपुत हुँ डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ ।

वर्षौंदेखि रेडियोमा सुनिएको कर्णप्रिय स्वरका धनीले अक्षरमा उतारेको यो उच्च काव्यिक चेतना सारा नेपालीको हृदयको दैलोभरि पोखिएको छ । लम्सालले आफ्नो बौद्धिक चेतनालाई धरामार्फत आम पाठकको इजलासमा सुम्पिएका छन् । धरा सबै पक्षमा सबै कुराले पोख्त, गल्ती र कमजोरीविहीन छ भन्नु हत्केलाले सूर्य छोप्न खोज्नुजस्तै हो । यसले अभिव्यक्त गर्न खोजेको सन्देश, उठाएका विषयवस्तु उच्चकोटिका भए पनि कमजोरीको कसीभन्दा बाहिर धरा अवश्य पनि छैन । यस्तो उच्च महाकाव्यमा लेखिएको शैली कति ठाउँमा कवितात्मक नभई आख्यानात्मक तरिकाका छन् । कति ठाउँमा म महाकाव्य पढ्दै छु वा आख्यान वा कुनै फुटकर कवितासंग्रह । पाठक भ्रममा पर्न सक्छन्।

महाकाव्यभित्र विभिन्न भाव, लयहरू छन् । गद्य, पद्यभित्र शादूलविक्रीडित छन्द, अनुष्टुप छन्द जस्ता विभिन्न छन्द एकै महाकाव्यभित्र पढ्न पाइन्छ। नेपाली साहित्यमा धिपधिप गरिरहेको महकाव्यको दियो फेरि बल्न थालेको छ । यो नेपाली साहित्यका लागि खुसीको कुरा हो । यो कतै अलिकति सेल्फपोट्रेटको जगमा पनि उभिएको छ । सायद महाकाव्यमा कविको यो नवीन प्रयोग पनि मान्न सकिन्छ । यसले भोलि काव्यिक जगत्मा कुनै कुनै किसिमको छाप र नजिर त अवश्य पनि छाड्ला । एउटा प्रख्यात सञ्चारकर्मी, साहित्य अनुरागी, कविले देशलाई कसरी बुझेको छ ? देशलाई हेर्ने दृष्टिकोण के हो ? मानचित्रमा सतही रूपमा पढिएको देशलाई धरातलीय ढंगले पढ्दा हाम्रो देश कस्तो छ त ? यसभित्रका यथार्थ र भ्रम के हुन् त ? यसको प्रस्ट चित्र धराभित्र उतारिएको छ । देशका हरेक तह र तप्कासँग सीधा सम्पर्क गर्न धरा सक्षम र सफल पनि भएको छ । मलाई लाग्छ, लम्सालको हृदयले छामेको देशको माटोको सुगन्ध नै धरा महाकाव्यको मूलभाव हो।
 

 

 

प्रकाशित: ८ पुस २०७४ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App