coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भन्सारमा दलालकै दादागिरी

अमेरिकाबाट साथीले उपहार पठाइदिँदा नयाँबजारकी निशा अमाई जति खुसी थिइन्, उपहार लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्दा भने असाध्यै दुःखी बनिन्। 

‘पार्सल’ गरी साथीले पठाएको क्यामेरा लिन सिनामंगलस्थित कार्गो जाँचपास केन्द्र जाँदा पाएको सास्तीले उनको खुसी दुःखमा बदलिएको हो । उनी दुई साताअघि साथीले पठाइदिएको क्यामेरा लिन पुग्दा भन्सार गेटैबाटै दलाल पछि लागे। दलालसँगको साक्षात्कारले अमाईलाई अरुले सुनाउने गरेको भ्रष्टाचार र विकृतिसँग जम्काभेट गराइदियो।

‘तपाईंहरूले हल्ला गर्नु भएजस्तो छ, हाकिमहरूलाई पनि थाहा भइसक्यो, अब त २० हजारभन्दा घटाउन मिल्दैन,’ तपाईंहरू मञ्जुर हुनुहुन्छ भने पैसा पछि दिए पनि हुन्छ म सामान लिएर आउँछु।’ 

‘भन्सार मूलगेटमै ऊ सिंगो भन्सारजस्तै गरी उभिएको थियो,’  अघिल्लो साता भन्सार कार्यालय जाँदाको पहिलो अनुभवबारे उनले भनिन्, ‘त्यसपछि उसले सामान छुटाइदिन मोलमोलाई गर्न थाल्यो ।’ श्याम नाम गरेका एक व्यक्तिले आफूलाई भन्सारको एजेन्ट भन्दै उनीसँग मोलमोलाइ गरेका हुन् । एक हजार अमेरिकी डलर मूल्यको क्यामेराका लागि भन्सार महसुल ४० हजार रुपैयाँभन्दा बढी लाग्ने दलालले अमाईलाई बताएका थिए । उनले आफूमार्फत गए ४० हजार रुपैयाँलाई घटाई २० हजार रुपैयाँमा रसिद नकाटी सामान छुटाइदिने ‘अफर’ गरे।

सर्वसाधारणलाई कामको विवरण र  कागजपत्र  हेरेर मात्र भन्सार गेटभित्र पस्न दिने कडा नियम छ । त्यसैले गेट भित्र छिरिसकेको अमाईले त्यस व्यक्तिमाथि धेरै शंका गरिनन् ।  उपहार आएको क्यामेराका लागि घुस तिर्न तयार नरहेकी उनले कसरी भन्सारबाट जाँचपास हुन्छ भन्ने उत्सुकताले साथीहरूलाई फोन गरेर सोध्न थालिन् । त्यसै क्रममा उनको सूचनालाई पछ्याउँदै पंक्तिकार उनीसँगै एयरपोर्ट भन्सार पुग्दा श्याम नामका भन्सार एजेन्ट सुरक्षा घेरा पार गरेर भित्र पुगिसकेका थिए। 

‘तपाईंहरूले हल्ला गर्नु भए जस्तो छ, हाकिमहरूलाई पनि थाहा भइसक्यो, अब त २० हजारभन्दा घटाउन मिल्दैन,’ उनले भने, ‘तपाईंहरू मञ्जुर हुनुहुन्छ भने पैसा पछि दिए पनि हुन्छ म सामान लिएर आउँछु।’ 

भन्सार एजेन्टको नाममा रहेको दलालको आत्मविश्वास देख्दा लाग्थ्यो, गैरकानुनी काम गर्न उसलाई रोक्ने त्यहाँ कोही छैन, उसले चाहे जेसुकै पनि जाँचपास हुन सक्छ । ‘मैले मात्र खाने हैन नि, सबैलाई भाग पु¥याउनुपर्छ,’ रकमको मोलमोलाइका क्रममा उनले भने, ‘तपाईं ढुक्क हुनुस्, सामान म निकालिदिन्छु ।’ ४० हजार रुपैयाँ भन्सार लाग्ने सामानलाई २० हजार रुपैयाँमै जाँचपास गराइदिने वाचा गर्ने उनी ‘सँगै भित्र जाऔँ न त’ भन्दा भने दुवैलाई नियाल्दै त्यहाँबाट पन्छिए। 

गेटैदेखि दलालले पछ्याएको विवरण सुनाउँदा भन्सारका प्रमुख नारायणप्रसाद सापकोटाले भने एजेन्टप्रति आक्रोश पोख्दै सबैलाई भेला गराएर श्याम नामक त्यस व्यक्तिको खोजी गरे । तर, हल्लाखल्ला हुन थालेपछि त्यहाँबाट सुइकुच्चा ठोकेका श्याम नामक ती व्यक्तिले भने मोबाइल स्विच अफ गरिसकेका थिए। 

‘म उसलाई आजै  कारबाही गर्छु,’ भन्सारका प्रमुख सापकोटाले दाबी गरे,  ‘म यहाँ आएपछि  यस्तो कार्य हुन दिएको छैन ।’ भन्सार प्रमुखले बाहिर यसो भन्दै गर्दा गोदामको अँध्यारो कोठामा भने गोविन्द  ताजपुरिया एजेन्टको मोलमोलाइबाट दिक्क देखिन्थे । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका छोराले आमा र बाबुका लागि पठाइदिएका दुई थान मोबाइलको जाँचपास गराउन उनले अमाईले जस्तै सास्ती बेहोरेका थिए। 

‘१६ हजार रुपैयाँदेखि मोलमोलाइ भएको छ,’ चोर बगलीबाट आठ हजार रुपैयाँ भन्सार एजेन्टको हातमा राखिदिँदै गरेका उनले भने, ‘अब कति लाग्ने हो, अझै थाहा छैन ।’ सरकारले हरेक सामानको भन्सार दर कायम गरिदिएको भए पनि कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा हुने मोलमोलाइले सर्वसाधारणलाई दिक्क बनाएको छ । ‘पैसा दिएन भने धेरै राजस्व लाग्छ भनेर तर्साउँछन्,’ उनले भने, ‘एजेन्टले मागे जति नदिए काम नहुँदो रहेछ।’

भन्सारमै कार्यरत एक कर्मचारीका अनुसार त्यहाँका अधिकारी र एजेन्टबीचको सम्बन्धबाट अनियमित काम  हुने गरेको छ । ‘उनीहरूले खाने थुप्रै बाटा छन्,’ उनी भन्छन्, ‘जो आए पनि ती बाटा बन्द हुँदैनन्।’ 

भन्सार कर्मचारीले कमाउ धन्दाका लागि सरकारी नियमलाई दुरुपयोग गर्ने गरेको उनले बताए । सरकारले कतिपय वस्तुमा कम्पनीले आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था गरेको छ । यसैगरी कतिपय वस्तुमा भने व्यक्तिगत प्रयोगमा आयात गर्दा कम महसुल लाग्छ । यही नियममा टेकेर व्यक्तिले आयात गरेको सामानलाई कम्पनीले आयात गरेको वा कम्पनीले आयात गरेकोलाई व्यक्तिले आयात गरेको बनाई भन्सार छली हुने गरेको उनी बताउँछन् । त्यसका लागि एजेन्टले दलालको काम गर्ने गरेका हुन्। 

भन्सार प्रमुख सापकोटालाई दलालले दुःख दिएको बताएपछि उनले अमाईलाई उपहार स्वरूप आएको क्यामेरालाई पनि कम्पनीले आयात गरेको भनी सिफारिस गरिदिए । ‘यो त सानो रकममा भयो, ठूलो रकममा यही  गरिदिए, कमिसन नआउने कुरै भएन,’ भन्सारका ती कर्मचारीले भने, ‘सानो रकमको कुराको हल्ला हुन्छ, ठूला रकमका कुरा  चुपचाप भइरहन्छ।’

भन्सार प्रमुख सापकोटा भने विगतबारे आफूलाई थाहा नभए पनि आफू आएपछि भने अवैध काममा कमी आएको दाबी गर्छन् । रसिद काटेर मात्र सबै काम हुने गरेकाले त्यो रकम सीधै राजस्वमा दाखिल हुने उनले बताए। 

एक महिनाअघि मात्र भन्सारबाट सामान झिकाएका रामकुमार श्रेष्ठ भन्सार प्रमुखको दाबी मान्न तयार छैनन् । भारतबाट आयात गरेको कम मूल्यको सामानका लागि उनले बढी भन्सार महसुल तिरेको बताए । ‘सामान जरुरी थियो, भन्सारको नियममा जाँदा ढिलो हुने भयो,’ उनले भने, ‘भन्सार एजेन्टले पहिल्याएको बाटो जाँदा खर्च बढ्यो तर सामान निस्कियो ।’ 
राजस्व तिरेको बिल पाँचदेखि सात सयसम्मको आउने तर एजेन्ट चार्जलगायत खर्च भने पाँच–सात हजार पुग्ने उनी बताउँछन् । सर्वसाधारणको सजिलोका लागि राखिएका एजेन्टले सर्वसाधारणलाई अप्ठेरो पार्ने गरेको उनको बुझाइ छ ।
चीनबाट तयारी पोसाक ल्याउने व्यापारीको गुनासो पनि उस्तै छ । उताबाट सामान पठाइएपछि भन्सार एजेन्टसँग सम्पर्क गरेर ठेक्कामा काम लगाउने गरेको उनीहरूले बताए । ‘सामानको बिल तथा भन्सार सबैको थोकमा बार्गेनिङ हुने गर्छ,’ चीनबाट सामान आयात गर्ने एक व्यापारीले भने, ‘लाग्ने राजस्वभन्दा निकै कममा काम हुन्छ।’ 

भन्सार राजस्व कम गराउन सामानको मूल्य नै कम राख्ने गरेको उनले बताए । ‘सबैलाई थाहा छ, एक हजारको सामानको मोल एक सय राखेको भन्ने,’ उनले भने, ‘तर अनियमित तरिकाबाट आउने कमिसनका कारण सबैले यसलाई नदेखेको जस्तो गर्छन्।’

यहाँ मोबाइल, टेलिफोन, चिकित्सासम्बन्धी उपकरण, कम्प्युटर, टेलिफोनका उपकरण, सिडी, हवाईजहाज र हेलिकप्टरका पार्टपुर्जा, कम्प्युटर हार्डडिक्स, तयारी पोसाक, टेलिभिजनलगायत धेरै सामग्री आयात हुने गर्छ । 
भर्खरै चुनाव सकिएको छ ।  वाम गठबन्धनको सरकार बन्ने तयारीमा छ । यसका नेताले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने दाबी गरिरहेका छन् । यसैपालि चुनावमा पहिलोपटक भोट हालेकी  निशा अमाई भने एयरपोर्ट भन्सारमा भोगेको जस्तो विकृति अन्त्य होस् भन्ने चाहन्छिन् । ‘मैले पहिलोपटक भोट हालेकी छु, पहिलोपटक यस्तो समस्या भोगेकी छु,’ उनले भनिन्, ‘अब बन्ने सरकारले मैले भोगेको जस्तो समस्या कसैले भोग्नुनपर्ने वातावरण बनोस् भन्ने चाहन्छु।’

प्रकाशित: ८ पुस २०७४ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App