८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी राजनीति

प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुलाई बनाउन माग गर्दै तौलिहवामा निकालिएको मैनबत्ती जुलुस । तस्बिर : नागरिक

काठमाडौं – सरकारले प्रदेशका राजधानी घोषणा गर्ने तयारी सुरु गरिरहेको समयमा विभिन्न स्थानमा आफ्नो सहरलाई राजधानी बनाउनुपर्ने माग गर्दै दबाबमुलक आन्दोलन सुरु भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाकै चुनावमा कतिपय उम्मेदवार राजधानीको विषयलाई आफ्नो चुनावी अजेन्डा बनाएर प्रतिस्पर्धामा होमिएका थिए । यसको प्रभावका कारण पनि आन्दोलन बाक्लिँदैछ।

राजधानी घोषणा हुनुपर्ने माग राखी बन्दसहितका दबाबमुलक कार्यक्रम सञ्चालन भएसँगै दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । यसले यो विषयलाई अझै जटिल बनाएको छ । चार नम्बर प्रदेश र छ नम्बर प्रदेशबाहेक अन्यत्र राजधानीको विषयमा तानातानी सुरु भएको छ । चार नम्बरको पोखरा र छ नम्बरको सुर्खेतको वीरेन्द्रनगरमा राजधानी रहनेमा सबै पक्षबीच करिबकरिब सहमति छ। 

एकै दलका नेतासमेत राजधानी कुन ठाउँमा भन्ने विषयमा विभाजित बनेका छन् र आफ्नो सहर तथा पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने माग गर्दै आएका छन् । एक नम्बर प्रदेशमा धनकुटा, धरान, इहटरी, इनरुवा र विराटनगरजस्ता सहरले राजधानीको दाबी गर्दै आएका छन् । धनकुटामा केही दिनदेखि राजधानी घोषणा गर्नुपर्ने माग गर्दै बन्दसहितको आन्दोलन जारी छ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्र राई धनकुटालाई तत्काल अल्पकालीन राजधानी घोषणा गर्न दबाब दिन जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको नेतृत्वमा गर्दै काठमाडौं आएका छन् । उनी प्रदेशसभाका दुवै सांसद, मेयर, उद्योग वाणिज्य संघ र अन्य राजनीतिक दलका नेताका साथ राजधानी आएका हुन्। 

‘तत्काल अल्पकालीन रुपमा राजधानी धनकुटामा तोकिनुपर्छ । पहिले पनि यो पूर्वाञ्चलको केन्द्र रहँदै आएको हो,’ राईले भने, ‘धनकुटाले तराई, पहाड र हिमाल तीनै क्षेत्रलाई जोड्छ । राजधानीका लागि नयाँ पूर्वाधार पनि बनाइरहनुपर्दैन ।’ राई एमाले धनकुटाका अध्यक्ष हुन्।

एमालेबाट उम्मेदवार बनेर चुनाव जितेका मोरङ–६ का सांसद लालबाबु पण्डित राजधानी विराटगर हुनुपर्ने लबिङमा छन् । उनले आफ्नै निर्वाचन क्षेत्र पर्ने पूर्वाञ्चलको सबैभन्दा ठूलो सहर विराटनगरलाई राजधानी बनाउन दबाबमूलक कार्यक्रम चलाउँदै आएका छन् । ‘पहिले धनकुटालाई विकास क्षेत्रको केन्द्र तोके पनि वास्तविक केन्द्र विराटनगर नै थियो । धनुकटामा सानो बोर्ड र विराटगरमा ठूलो बोर्ड झुन्डिन्थ्यो,’ पण्डितले भने, ‘बृहत्तर विराटनगरको अवधारणाअनुसार विकास गर्दैै प्रदेश नम्बर एकको राजधानी  बनाउनुपर्छ ।’ विराटनगरलाई राजधानी बनाउनुपर्नेमा कांग्रेसका मीनेन्द्र रिजाल, माओवादी केन्द्रका अमनलाल मोदीसहितका सांसद लागेका छन् । सुनसरीका तरहरासम्मका क्षेत्रलाई जोडेर राजधानी बनाउनुपर्ने तर्क पण्डितको छ। 

प्रदेश एकमै पछिल्लो चरणमा तीव्र रुपमा विकसित इटहरी र धरानले मात्रै नभएर इनरुवाले समेत राजधानी दाबी गरेका छन् । तीनवटै सहर सुनसरी जिल्लाका हुन् । इटहरीलाई राजधानी बनाउन यात्री तथा सवारीचालकलाई फूलको माला लगाइदिने र गुच्छा दिएर सन्देश प्रवाह गर्न आग्रह गरिँदै आएको छ। 

प्रदेश नम्बर २ मा पनि राजधानीका विषयमा तीव्र विवाद छ । जनकपुर, वीरगन्जमात्रै नभएर दुवै प्रदेशको बीचमा पर्ने भन्दै सर्लाही र बर्दिबासले पनि राजधानी दाबी गरेका छन् । सर्लाहीबाट चुनाव लड्न धनुषा पुगेका राजपा नेता राजेन्द्र महतोेले प्रदेश नम्बर २ को नाम मिथिला वा मधेस प्रदेश रहने र प्रदेश राजधानी जनकपुर रहने दाबी गरेका छन् । 
त्यसैगरी औद्योगिक नगरी वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको छ । सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्ला रहेको प्रदेश नम्बर दुईको बीचमा पर्ने भन्दै सर्लाही र महोत्तरीले पनि राजधानी दाबी गर्दै आएका छन्।

प्रदेश नम्बर तीनको पनि मकवानपुरको हेटौंडा, ललितपुर, भक्तपुर र धुलिखेलले राजधानीको दाबी गर्दै आएका छन् । राजधानीको माग गर्दैै विभिन्न प्रकारका दबाबमूलक कार्यक्रम सुरु भएका छन्। 

प्रदेश ५ मा पनि बुटवल र दाङलाई राजधानी बनाउनुपर्ने माग भएका छन् । दुवै स्थानमा आन्दोलनका कार्यक्रम सुरु भएका छन् । त्यसैगरी प्रदेश नम्बर सातमा धनगढी वा अत्तरिया, डडेल्धुरा र दिपायललाई राजधानी बनाउनुपर्ने माग हुँदै आएको छ । ‘राजधानीका लागि अत्तरिया वा धनगढी नै उपयुक्त हो । यी दुई स्थानमध्ये एक स्थानमा राजधानी बनाउन प्रदेशसभामा पर्याप्त संख्या छ,’ कैलालीका प्रदेशसभा सदस्य दीर्घ सोडारीले भने। 

राजधानीको विषयमा सुरु भएको तानातानीले यस विषयलाई झनै जटिल बनाउँदै लैजाने र जनसाधारणबीच तिक्तता पनि बढाउने सम्भावना छ । सहरी विकास विज्ञ एवं पूर्वसचिव किशोर थापाले राजधानी घोषणा विषयमा राजनीति सुरु भएका कारण यो विषय जटिल बन्दै गएको बताए । ‘प्राविधिकको टोलीले अध्ययन गरेर राजनीतिक तहबाट निर्णय गरेर घोषणा गर्नुपथ्र्यो । यसमा राजनीति सुरु भइसक्यो । त्यसैले यो विषय जटिल बन्ने देखिएको छ,’ थापाले भने, ‘यसले निर्णय गर्नलाई अप्ठ्यारो मात्रै बनाउने भएर ढिलोसमेत गर्नेछ ।’ पायक पर्ने गनरी नयाँ बनेको मझौला सहरमा राजधानी बनाउनुपर्ने थापाको धारणा छ । ‘ठूला सहरभन्दा पनि सबैलाई पायक गर्ने सामान्य पूर्वाधार भएका मझौला सहरलाई राजधानी बनाउनु उपयुक्त हुन्छ । तर त्यस क्षेत्रमा पूर्वाधार र सहर विस्तारको सम्भावना भने हुनुपर्छ,’ थापाले नागरिकसँग भने, ‘पुरानै स्थानलाई केन्द्र बनाउने हो भने जनतालाई संघीयतामा गएको के अर्थ भयो र !’ 

प्रदेशको राजधानी र नाम राख्ने अधिकार प्रदेशसभामा भए पनि सरकारले अस्थायी राजधानीको घोषणा गर्न सक्छ । संविधानको धारा २८८ (२) मा प्रादेशिक राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्यसंख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था छ । त्यसैगरी सोही धाराको उपधारा ३ मा सरकारले अस्थायी राजधानी तोक्न पाउने व्यवस्था छ।

कपिलवस्तुमा बनाउन माग्दै मैनबत्ती जुलुस 
कपिलवस्तुस्थित नागरिककर्मीका अनुसार त्यहाँका युवाले बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । कपिलवस्तुलाई राजधानी बनाउन जिल्लाका ३ सांसद र ६ प्रदेश प्रतिनिधिले ऐक्यबद्धता जनाएपछि युवाले जनदबाब समितिसमेत निर्माण गरेका छन्। 

जुलुसमा युवा, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि व्यापारीलगायत सहभागी थिए । दबाब समितिका संयोजक दीपक पाण्डेयले भारतको कपिलवस्तुसँग सटेको भारतको सिद्धार्थनगरको पिप्रहवामा नक्कली कपिलवस्तु निर्माण गरेर तीव्र विकास गरिरहेका बेला कपिलवस्तुलाई ५ नम्बरको प्रदेश बनाउन उपयुक्त हुने बताए। 

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले कपिलवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउँदा उपयुक्त हुने बताए । आन्दोलनमा सहभागी रहेका एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनालले जल, जंगल, जमिन, पर्यटकीय स्थल, ऐतिहासिक पृष्ठभूमिका आधारमा पनि कपिलवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने उनको भनाइ छ । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्तोष कसौधनले आर्थिक दृष्टिकोणले पनि कपिलस्तुलाई प्रदेशको राजधानी बनाउनुपर्ने बताए। 

सर्लाहीमा र्‍याली
सर्लाहीस्थित नागरिककर्मीका अनुसार प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने मागगर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । हरिवनको सुखेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शान्तिपूर्ण ¥याली निकालेको हो । सुखेपोखरीदेखि सुरु भएको ¥याली हरिवनबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । स्ववियु सभापति प्रज्वल ढुंगानाको अध्यक्षता आयोजित  कोणसभालाई क्षेत्र नंं ३ क प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रती, माओवादी केन्द्रका केन्द्रीय सदस्य कमल बुढाथोकीलगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले प्रदेश नं. २ का ८ जिल्लामध्ये बीच भाग पर्ने र भौतिक संरचना निर्माणका लागि सार्वजनिक जग्गा पर्याप्त रहेकाले सर्लाही प्रदेश राजधानीका लागि उपयुक्त रहेको दाबी गरे । राजपाका ३ शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृह जिल्लासमेत भएकाले सर्लाहीलाई प्रदेशको राजधानी बनाउन उनीहरुसँग समेत छलफल अगाडि बढाइने प्रदेश सभा सदस्य उप्रेतीले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित: ८ पुस २०७४ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App