६ वैशाख २०८१ बिहीबार
समाज

तेश्राे हिउँद पनि टहराेमै

बनेपा – विनाशकारी भूकम्पपछिका दुई हिउँदको चिसो टहरोमा बसेर खेपेकी धुलिखेल–८, थाक्लेकी ३३ वर्षीया माइली तामाङलाई यसपटकको हिउँद कसरी कटाउने भन्ने चिन्ताले सताइरहेको छ।

आठ महिनाकी गर्भवती उनलाई गर्भ जाँच गराउने क्रममा चिकित्सकले मध्य हिउँदमा सन्तान जन्मने मिति दिएपनि चिन्ता झनै थपिएको छ । ‘म र छोरो जसोतसो चिसो सहेरै बसेका छौं । एक महिनापछि जन्मने बच्चालाई कसरी जोगाउने होला, दिनहुँ चिन्ता थपिँदो छ’, उनले सुस्केरा हाल्दै भनिन्।

माइलीको परिवारको नाम लाभग्राही सूचीमा निस्केर पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाए पनि सो रकमको अधिकांश हिस्सा घडेरी सम्याउन खर्च भएको उनको भनाइ छ । ‘केही पैसा टहरो बनाउँदाको ऋण ति¥यौं । बाँकीले घडेरी सम्याउँदैमा ठिक्क भयो । सरकारले दिने दोस्रो किस्ता लिन आफैंले खर्च गरेर डिपिसीसम्म नबनाई हुन्न रे । त्यही भएर बुढा (पति) कमाउन मलेसिया जानुभएको छ’, माइलीले थपिन्।

सदरमुकाम धुलिखेलबाट पाँचखालतर्फ दुई किलोमिटर झरेपछि अरनिको राजमार्गमै जोडिएको थाक्ले गाउँ विकास निर्माणलगायत नगरपालिकाको सेवासुविधाबाट वञ्चित छ । भूकम्पमा यहाँ र छिमेकी सिमपोखरीमा गरी ४५ परिवारले घर गुमाएका थिए । उनीहरुमध्ये हालसम्म २ जनाले मात्रै पक्की घर बनाएका छन् । बाँकी सबै टहरामै छन्।

थाक्लेकै पूर्णिमाया तामाङलाई वृद्ध सासू र दुई सन्तानलाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ता छ । ‘बिहान सेताम्य तुसारो पर्छ अनि बेजोडले हावा लाग्छ । रातभर टहरामा शीत झर्छ । बेलुकी सद्दे सुतेको मान्छे, भोलिपल्ट उठ्दा चिसोले लपक्कै भिजिन्छ । टहराको बास त धेरै सास्ती हुन थाल्यो,’ उनले भनिन्।

धुलिखेल अस्पतालको आकस्मिक विभागमा चिसोका कारण बिरामी भएर उपचारका लागि आउनेको संख्या बढ्दो छ । यिनमा अधिकांश टहरामा कष्टकर दैनिकी बिताउँदै आएका महिला, वृद्ध तथा केटाकेटी रहेको विभागले जनाएको छ।

उता, घर बनाउने योजनामा रहेका पीडित विभिन्न बाधाअड्चनबाट सताइएका छन् । पूर्णिमायाले हाल बसिरहेको जग्गा साँघुरो हुने भएकोले राजमार्गमुनिको पाखोमा घडेरी खारेर जग हाल्न ठिक्क पारेकी थिइन् । अरनिको राजमार्ग चौडा पार्ने ठेकेदारले त्यही घडेरीमा माटो खसालेर पुरिदिँदा मर्का परेको गुनासो उनको छ। ‘घडेरी सम्याएर बाँकी रहेको केही पैसाले जग हाल्नुपर्ला भनेर सोचेका थियौं । ठेकेदारले माटो ल्याएर घडेरी पुरिदियो । हामीलाई ठूलो अन्याय भएको छ । गरिबको सुनिदिने कोही हुँदा रहेनछन्’, उनले थपिन्।

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले पठाएका इन्जिनियरले गाउँमा आएर घर बनाउन सल्लाह नदिएको पीडितको गुनासो छ । ‘डकर्मी काम जानेकाले ढुंगामाटोको घर बनाउँछु भनेर नगरपालिकामा गएको थिएँ । मेरो घर बनाउने जग्गा हेर्न आएर सल्लाह दिनु त परै जाओस्, घर बनाइसकेर फोटो खिचेर ल्याउनू भनेर फर्काए,’ धुलिखेल–८, सिमपोखरीकै मैते तामाङले भने । भूकम्पमा थाक्ले र सिमपोखरीका सबैजसो घर भत्केको हुँदा जमिन नै कमजोर हो कि भनेर जाँच्न खोज्दा प्राविधिक सहयोग नपाइएको उनको भनाइ छ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको जिल्ला कार्यान्वयन एकाइले इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियर गरी काभ्रेमा २ सय ६० प्राविधिक कार्यरत रहेको जनाएको छ । यी सबै प्रायः सदरमुकाममै छन् । ‘इन्जिनियर, सबइन्जिनियर वा असिस्टेन्ट इन्जिनियर किन पीडितलाई प्राविधिक परामर्श दिन नपुगेका हुन्, अनुसन्धान गर्नेछौं,’ डिभिजनका इन्जिनियर प्रदीप बस्नेतले भने।

पछिल्लो समय गाविस गाउँपालिकाका वडामा रुपान्तरण भएका र नगरपालिकामा गाभिएका गाविससमेत वडामा परिणत भएका हुँदा अधिकांश वडाध्यक्ष र वडा पदाधिकारीकोे कार्यालय नभएकाले सेवा प्रवाहमा कठिनाइ भएको उनले बताए ।
घर निर्माणका लागि गाउँमा कामदारको पनि अभाव छ । गाउँका युवा बिदेसिने क्रम बढेसँगै कामदार अभाव हुन थालेको सिर्जना तामाङले बताइन् । ‘घडेरी खार्नलाई पहिलो किस्ता सकियो । एक हजार घटीमा काम गर्ने मान्छे नै पाइँदैन। गाउँभरिमा तालिम लिएको डकर्मी पनि छैन । कसरी सुरक्षित घर बनाउने होला,’ उनले भनिन् । थाक्लेकै ५४ वर्षीया जिरा तामाङले भूकम्पमा घर भत्किए पनि पहिलो किस्ताकै रकम नपाएको गुनासो गरिन्, ‘छोराको नाममा आयो । हाम्रो आउँदै आएन । गुनासो फारम दुईपटक भरिसकेका छौं । नाम आयो भने पाउने ५० हजारले जग हाल्नुपर्ला,’ उनले भनिन् । धुलिखेल नगरपालिकाको अभिलेखअनुसार नगरमा भूकम्पपीडित लाभग्राही ४ हजार ८ सय ४६ जना छन् । यीमध्ये दोस्रो किस्ता लिने ५ सय १३ र तेस्रो किस्ता लिने १ सय ७ जना छन्।

पुनर्निर्माण निराशाजनक
काभ्रेमा भूकम्पपछिका दुई वर्ष पुनर्निर्माण तीव्र भए पनि पछिल्लो वर्ष भने गति शिथिल भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय काभ्रेका अनुसार मंसिर मसान्तसम्ममा कायम लाभग्राही ७२ हजार ४ सय १७ जना कुल लाभग्राही छन् । यिनमा प्रथम किस्ताबापतको ५० हजार बुझ्ने ६५ हजार ७ सय ७३ जना छन्। 

आर्थिक वर्ष ०७४÷७५ को प्रथम चौमासिक प्रगति समीक्षाका क्रममा सचिवालयका सदस्यसचिव ध्रुव गैंडाले पुनर्निर्माण प्रक्रियाका बारेमा गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम राख्न नसक्दा पुनर्निर्माणमा तीव्रता आउन नसकेको बताए । ‘प्राधिकरणले पुनर्निर्माणका क्रमका सुरु कारबाही स्थानीय तहको वडाबाट हुने व्यवस्था गरेअनुरुप उहाँहरुलाई स्पष्ट जानकारी गराउन नसक्दा अझै अलमल भइरहेको छ’, उनले थपे । निर्वाचनले समेत पुनर्निर्माण कार्य प्रभावित बनाएको उनको भनाइ छ।

‘घर निर्माण सुरु गरेका ९ हजार ३ सय १४ जनाले दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ र निर्माण सम्पन्न गरेका २ हजार ९ सय ५ लाभग्राहीले तेस्रो किस्ता रकमसमेत भुक्तानी पाएका छन् । अझै पनि घर पुनर्निर्माणमा काभ्रेका लाभग्राही किन उत्साहित भएनन्, खोजी गर्दैछौं’, जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख लोकनाथ रेग्मीले भने।

प्राधिकरणले पहिचान भएका सबै लाभग्राहीसँग गत कात्तिक मसान्तसम्ममा अनुदान सम्झौता गरी प्रथम किस्ता वितरण गर्ने कार्ययोजना बनाए पनि काभ्रेका ६ हजार ६ सय ४४ जना सम्झौता गर्नै आएका छैनन् । यस्तै पुस मसान्तभित्र प्रथम किस्ता लिइसकेका घरधनीले दोस्रो किस्ता लिइसक्ने भनिएकोमा ५६ हजार लाभग्राहीले प्रथम किस्ता पाएर पनि घर बनाउन सुरु गरेका छैनन्।

प्रकाशित: ८ पुस २०७४ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App