८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने अन्तराष्ट्रिय चलन नै हो: दाहाल

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताएका छन्। शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने ‘यो कसरी हुन सक्छ भोलि नै बाम गठबन्धनको बैठक बसेर सकारात्मक ढंगको निकास निकाल्ने गरी अन्तिम धारणा सार्वजनिक गर्ने छौं।’

राष्ट्रिय सभा निर्वाचनमा बहुमतीय विधि अंगाल्ने कि एकल संक्रमणीय विधिबाट गर्ने भन्ने विवाद अहिले देखा परेको छ । सत्ता पक्षले एकल संक्रमणीय विधिबाट गर्ने अध्ययादेश पठाए पनि राष्ट्रिपतिबाट स्वीकृत भएको छैन । बाम गठबन्धनको एक घटक एमालेले अध्ययादेशको विरोध गर्दै राष्ट्रिय सभाको गठन बहुमतीय विधिबाट हुनु पर्ने अडान राख्दै आएको छ ।

यो विषयमा छलफल गर्न शुक्रबार नै प्रधानमन्त्री निवासमा बाम गठवन्धनसहित पाँच दलको बैठक पनि बसेको थियो । तर कुनै निकास आएको छैन। ‘संविधानले प्रष्टसँग केही भनेको छैन । विगतमा राष्ट्रिय सभाको निर्वाचन एकलसंक्रमणीय विधिबाट हुने भनेर संविधानमा नै थियो । यो पटक त्यस्तो छैन । त्यसैले निकासका लागि बाम गठन्धनबाटै एउटा निश्कर्ष ल्याउँने छौं’ दाहालले भने।

पाँच दलको बैठकमा पनि अध्ययादेश र अन्य राजनीतिक समजदारी बनाएर नयाँ जनादेश अनुसार छिटोभन्दा छिटो सरकार गठन गर्ने विषयमा छलफल भए पनि निर्णय केही नभएको दाहालले बताए। ‘तर यस्तो छलफल आवश्यक छ। फेरि दुई पक्षीय कुराकानी गरेर सहमति बनाउन प्रयास जारी राख्ने भन्दै म निस्केको हुँ’ दाहालले भने।

बाम गठबन्धनको पार्टी एकता संयोजक समितिको शुक्रबार बैठक बस्ने भन्ने समाचार सत्य नभएको उनले बताए। ‘बाहिर मिडियामा कति कुरा त्यत्तिकै बढी बढी आइ रहेका छन्। हिजो ओली जी र मेरो छ घण्टा कुरा भयो भन्ने पनि आयो। जब कि हिजो हैन आज केही बेर यस्सो छलफल भएको हो । भोलि शनिबार बाम गठबन्धनको छलफल हुँदै छ र मिल्यो भने भोलि नै पार्टी एकता संयोजन समितिको पनि बैठक बस्न सक्छ’ दाहालले भने।

प्रधानमन्त्री दुईजना पालै पालो हुने भन्ने समझदारी हो कि हैन भन्ने प्रश्नमा दाहालले भने  ‘समझदारी धेरै भएका छन् । समझदारीका विषयमा त्यस्तो अफ्ठ्यारो आएको पनि छैन । पार्टी एकता संयोजन समितिको बैठकले नै यसको अन्तिम टुंगो लगाउँछ । आलो पालोको तरिका अपनाउने भन्ने कुरा सिद्धान्तः भएकै हो।’

प्रकाशित: ७ पुस २०७४ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App