१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सपना पूरा गर्न अर्कैको सहर जान नपरोस्’

राजेश पायल राई, गायक

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मैले सांगीतिक करिअर धरानबाट सुरु गरेको थिएँ । धरानकै कारण मैले आफूलाई गायक भनेर चिनाउने अवसर पाएँ । त्यसैले होला, धरान अति नै प्यारो लाग्छ । यो सहर मेरो मनमा सजिएको छ । त्यहाँँको हरियाली, मिलेको बस्ती, संस्कृति अति राम्रो लाग्छ । धरानवासीमा मायालु स्वभाव छ । उनीहरू सहरप्रति पनि समझदार छन् । सहर फोहोर हुनेबित्तिकै सबै एकजुट भएर सफा गर्नतिर लाग्छन् । यी कुराले धरान राम्रो भएको हो । पोखरा, इलाम, धनकुटा पनि राम्रै सहर हुन्।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर भन्नेबित्तिकै हामीमा व्यवस्थित, शान्त र सुविधायुक्त भन्ने किसिमको भावना आउँछ, वास्तवमा त्यो नै सहर हो । सहरमा सबैखाले सुविधा भएनन् भने त्यसलाई सहर भन्न सुहाउँदैन । जब नागरिकले सहरमा छु भन्ने महसुस गर्न सक्छन्, बल्ल हामीले सहर पनि व्यवस्थित छ भन्ने बुझ्छौँ ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं धेरै राम्रो सहर हो । यो सहरको विशेषता धेरै छ । काठमाडौंलाई सबै संस्कृति र समुदायको फूलबारी अटेको सहर पनि भनिन्छ । प्राकृतिक र सांस्कृतिक रूपमा उपत्यका अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ । तर, प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो ।

काठमाडौैं किन अव्यवस्थित भएको होला ?
हामी सबैको हेलचेक्र््याइँले काठमाडौं कुरूप भएको हो । सरकारले सडक विस्तार, धुवाँधुलो, ट्राफिक जामलगायत विषयलाई समाधान गर्न सकेको छैन । जसकारण यहाँको हावापानी प्रदूषित भएको छ । यसले मानव स्वास्थ्यमा सीधै असर पारेको छ । अब यसप्रति सबै पक्ष होसियार हुन जरुरी छ । 

तपाईंको सपनाको सहर कस्तो होला ? 
हामीले सहर भन्नसाथ विकसित, स्वच्छ, हराभरा, सुविधायुक्त हुन्छ भन्ने बुझ्छौँ । तर, म बसेको सहरमा यी सबै चिज पाइँदैन । मेरो सपनाको सहर यस्तो होस्, जहाँ म स्वतन्त्र जीवन जिउन सकुँ । मेरा सपना पूरा गर्न अर्कैको सहर जान नपरोस् । सहरका सबैले बराबर अधिकार पाऊन्, कतै पनि प्रदूषण नदेखियोस्, सरकारी सुविधामा नागरिकले सास्ती खेप्न नपरोस् । यति भयो भने सहरमा बसेको अनुभूति हुनेछ । 

तपाईं बाहिरी मुलुकका धेरै सहर पनि घुम्नुभएको छ, तीमध्ये राम्रो लागेको सहर कुन हो ?
मैले २० भन्दा बढी देशका सहर घुमेको छु, त्यसमध्ये ज्यादै मनपरेको सहर क्यानडाको टोरोन्टो र अमेरिकाको सिकागो हो । त्यहाँका सहर अति नै सुन्दर छन् । सहर हेर्दै आनन्द आउँछ । कतै फोहोर देखिन्न । त्यस्तै, लन्डन, जुरिच, भेनिस, जेरुसलेम, कोपनहेगन, टोकियोलगायत सहर एकदमै राम्रो लाग्यो । यी सहरको ऐतिहासिक पक्ष र आधुनिक पक्ष राम्रो छ । विश्वका धेरै मानिस यी सहरमा तानिएका छन्। 

पछिल्लो समय घुमेको सहर कुन हो ?
केही दिनअघि अमेरिका बसेर आएँ । अमेरिका सबैको सपनाको सहर हो । यो सहरमा पुग्ने सबैको सोच हुन्छ। 

तपाईंले घुमेका विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
नेपाल र अरु देशका सहरबीच धेरै भिन्नता छ । अरु देशका सहर भौतिक रूपमा धेरै नै विकसित भइसकेका छन् । विकास निर्माणको पक्षलाई हेर्दा अरु मुलुुकका देश नेपालभन्दा धेरै अघि पनि छन् । हामीलाई अरु देशजस्तै बन्न ५÷६ सय वर्ष लाग्छ । प्राकृतिक सौन्दर्य र मौलिकतालाई हेर्ने हो भने हाम्रा सहर अग्रपंक्तिमा छन्।

उपत्यकाको मननपर्ने पक्ष के के हुन् ?
प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मननपर्ने पक्ष हो। 

मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । पुराना संस्कृति, परम्परा र दरबार क्षेत्रलाई हेर्दा पनि उपत्यका रमणीय लाग्छ। 

सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ ?
सहरवासी अलिकति उत्तरदायी भएको भए सहर यति अस्तव्यस्त र भद्रगोल हुँदैनथ्यो । हामी विकास भएन भनेर भित्रभित्रै गुनासो गर्छौं, तर जिम्मेवार निकायलाई दबाब दिँदैनौँ । सम्बन्धित निकायलाई खबरदारी गर्न सक्ने हो भने सहर अलि व्यवस्थित हुन्थ्यो होला । मैले धेरै देश घुमेँ तर नेपालीको जस्तो मन कसैमा भेटिनँ । नेपाल यस्तो ठाउँ हो, जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ। 

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
चाइनाको एउटा भित्री सहर घुम्ने मन छ । त्यो सहरको नाम अहिले ठ्याक्कै याद भएन । मैले तस्बिरमा त्यो सहर देखेको थिएँ । तस्बिर हेर्दा त्यहाँ कहिले पुगौँ लागिरहेको छ । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ७ पुस २०७४ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App