शुष्मा बराली
आउँदो सोमबार इसाई धर्मावलम्बीको ठूलो पर्व क्रिसमस परेको छ । पछिल्लो समय क्रिसमसको प्रभाव विश्वभरि नै बढेको पाइन्छ । अन्य संस्कृति, धर्मावलम्बीका मानिस पनि क्रिसमसमा रमाउन थालेका छन्।
अहिले सहरमा क्रिसमस चहलपहल सुरु भइसकेको छ । राजधानीका ठूला सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसल ‘क्रिसमस डे’का सामग्रीले बेहुलीलाई झैँ सिँगारिएको छ । क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले सहर पूरै क्रिसमसमय भएको छ । यसैबीच सहरका गिफ्ट सप पनि क्रिसमस गिफ्टले नै सजिएका छन्।
अहिले सहरमा क्रिसमस चहलपहल सुरु भइसकेको छ । राजधानीका ठूला सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसल ‘क्रिसमस डे’का सामग्रीले बेहुलीलाई झैँ सिँगारिएको छ । क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले सहर पूरै क्रिसमसमय भएको छ ।
उपहार भनेपछि सम्मान र स्नेहले जे दिए पनि हुन्छ भन्ने मानिन्छ, फेरि पनि विशेष अवसरका लागि विशेष उपहार दिने चलन हिजोआज बढेको छ । कुपण्डोलस्थित हस्तकलाका सामग्री पसल ‘ढुकुटी’का म्यानेजर अशोक कार्की हिजोआज क्रिसमसका गिफ्ट देखाउन व्यस्त देखिन्छन् । क्रिसमसका बेला नेपालीभन्दा विदेशी ग्राहक बढी आउने उनी बताउँछन् । ‘नोभेम्बर दोस्रो हप्तादेखि डिसेम्बर लास्टसम्म राख्छौँ,’ उनले भने । विगतका वर्षको तुलनामा यो वर्ष क्रिसमस मनाउनेको संख्या बढेको उनको अनुभव छ।
क्रिसमसका बेला विभिन्न उपहार आदान–प्रदान गर्नका लागि बढी फेल्ट, मेटल, ग्लास लगायत सामान बढी प्रयोग गरिने उनी बताउँछन्।
लोकप्रिय क्रिसमस उपहार
नेटिभिटी सेट
यशु ख्रिस्टका मातापिता, भेडा र यशु आफैँ अंकित सेटलाई नेटिभिटी सेट भनिन्छ । क्रिसमसको समयमा अरु उपहारभन्दा नेटिभिटी सेटको माग बढी भएको उनको अनुभव छ । नेटिभिटी सेट क्रिसमसका बेला उपहारका रूपमा बढी प्रयोग गरिने ढुकुटीका म्यानेजर अशोक कार्की बताउँछन् । नेटिभिटी सेट कपर, ग्लास, सेरामेन्ट, मेटल लगायत विभिन्न क्याटगोरीमा उपलब्ध हुने कार्की बताउँछन् ।
सान्टा क्लज, स्नोम्यान
एन्जल, सान्टा क्लज, यती, भेडा, स्नो म्यान, पेङ्गुइन अंकित किरिङ, वाल ह्याङगिङ, ट्री ह्याङगिङजस्ता सामग्री पनि क्रिसमस गिफ्ट रूपमा अत्यधिक प्रयोग हुने सामान हुन् । यस्ता सामग्री फेल्ट, मेटल, कागज, कपडा, ग्लासबाट बन्ने ढुकुटीका कार्की बताउँछन्।
गारल्यान्ड
गारल्यान्ड क्रिसमस ट्रीको सजावट गर्न, घर वरपर सजावटका रूपमा विशेष प्रयोग गरिन्छ । कुनै गारल्यान्ड सामान्य हुन्छ भने कुनै बत्ती जडान गरिएको हुन्छ । घर, क्रिसमस ट्रीलाई सजाउँदा थप आकर्षित देखाउन बत्तीयुक्त गारल्यान्डको प्रयोग बढेको अशोक कार्की बताउँछन् । ग्लास, कपर, फेल्ट लगायत मेटेरियलबाट बनेका गारल्यान्ड उपलब्ध रहेको कार्की बताउँछन्।
क्रिसमसका लुगा
क्रिसमस डेमा सान्टा क्लजले प्रयोग गर्ने टोपी, मोजा विशेष उपहारका रूपमा प्रयोग गरिने कुपण्डोलस्थित आँखीझ्यालका सञ्चालक विष्णु श्रेष्ठ बताउँछन् । हिजोआज स्कुले केटाकेटीका लागि सान्टाको लुगा लगाएर मनाउने ट्रेन्ड रहेको श्रेष्ठ बताउँछन् । क्रिसमसका समय विद्यालयमा एक साताअगाडि नै लुगा खोज्न आउनेको जमात रहेको उनी बताउँछन् । उपहारका रूपमा सान्टाले लगाउने टोपी, मोजा, लुगा सबै उपहारका रूपमा पनि प्रयोग गर्ने प्रचलन बढेको उनको अनुभव छ।
ग्रिटिङ कार्ड
सरकारी कार्यालय होस् या प्राइभेट कम्पनी, सबै कार्यालयमा एकापसमा शुभकामना कार्ड आदान–प्रदान गर्ने प्रचलन बढेको सुविधा सेवाकी ह्युमन रिसोर्स म्यानेजर प्रीतिका थापा बताउँछिन् । ‘हामी हरेक क्रिसमस डेमा कार्ड दिएर–लिएर एकअर्कालाई विस गर्छौं,’ उनले भनिन् । कार्ड लिने–दिने क्रियाकलापले अफिसका स्टाफमा हेलमेल बढ्ने, एकापसको सम्बन्ध अझ राम्रो हुने उनी बताउँछिन्।
प्रकाशित: ७ पुस २०७४ ०६:०२ शुक्रबार