७ वैशाख २०८१ शुक्रबार
राजनीति

मैदानमा चार गुट

काठमाडौं- नेपाली कांग्रेसमा हाबी गुटगत राजनीतिको प्रभाव भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पनि प्रस्ट देखिएको छ। जारी महाधिवेशनको नेतृत्व आफ्नो पक्षमा ल्याउन आइतबार साँझसम्म चारवटा गुट सक्रिय छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले आफूनिकटका विद्यार्थीनेतालाई अध्यक्षका रूपमा अगाडि सार्ने भएका छन्। महाधिवेशनको उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा देशभरबाट सहभागी प्रतिनिधिमाझ चारवटै गुटका तर्फबाट उम्मेदवारी दाबी गरेकाले आ–आफ्ना पक्षमा प्रचार गरिरहेका छन्। महाधिवेशनमा देशभरबाट जिल्लागत र क्याम्पसका गरी झन्डै ३ हजार ४ सय प्रतिनिधि छन्।

देउवा पक्षबाट नैनसिंह महर र जितजंग बस्नेत, पौडेलका तर्फबाट क्षितिज भण्डारी, मनोजमणि आचार्य, नीलकण्ठ रिजाल, आनन्द त्रिपाठी र दीपक भट्टराई, सिटौला पक्षबाट कुन्दन काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेत अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। देउवा र पौडेल पक्षले चर्चामा आएकामध्ये एक–एक जनालाई मैदानमा उतार्ने तयारी गरिरहेका छन्।

देउवा पक्षले बस्नेतलाई अगाडि सार्ने तयारी गरेको बताइएको छ। बस्नेतलाई उम्मेदवार बनाउन आरजु देउवाले दबाब दिएको बताइन्छ। त्यस्तै, पौडेलले पनि एक जनालाई मात्र अगाडि सार्ने तयारी गरेका छन्। आन्तरिक कलहले ९ वर्षपछि हुन लागेको महाधिवेशनमा गुटगत विवाद चर्किएपछि महाधिवेशन थप लम्बिने संकेत देखिएको छ। यद्यपि तीनदिने महाधिवेशन समयमै सक्ने र विवाद समाधान गरेर अगाडि बढाउने तयारीमा चारै नेता सक्रिय भएका छन्।

एक नेताका अनुसार देउवाले खुमबहादुरका तर्फबाट उम्मेदवारीको तयारीमा रहेका शुभरामलाई मिलाउने सम्भावनासमेत बढेको छ। यस्तै, सिटौला पक्षका काफ्ले पनि अन्तिम अवस्थामा सहमतिमा जान सक्ने सम्भावना देखिएको छ। 'सकेसम्म चुनाव नगरी सहमतिमा मिलाउने प्रयास भइरहेको छ,' ती नेताले नागरिकसँग भने, 'चुनावै भए पनि चारमध्ये देउवा र पौडेल गुटमा मात्र प्रतिस्पर्धा हुने सम्भावना अत्यधिक छ।' उनले अध्यक्षसहित महामन्त्री, उपाध्यक्षलगायत अन्य पदमा छलफल गरेर कुरा मिलाउने प्रयास जारी रहेको बताए।

महाधिवेशनस्थलमा अध्यक्षसहित महासचिव र उपाध्यक्षका लागि मात्र दुई दर्जनभन्दा बढीले उम्मेदवारी दाबी गर्दै प्रचारप्रसार गरिरहेका छन्। सदस्यमा समेत उम्मेदवारी दाबी गर्दै प्रचार गर्नेको भिड छ।

संघको कार्यसमितिमा एक अध्यक्ष संघको प्रदेश र समावेशीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्री हुने व्यवस्था छ।

महाधिवेशनले अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ। यसका लागि ६ सयभन्दा बढीले उम्मेदवारी दाबी गर्दै आइरहेका छन्। यस्तै कार्यसमितिमा २२ जना भने मनोनीत हुनेछन्। मनोनीतका लागि संघको विधानले अध्यक्षलाई अधिकार दिएको छ।

ब्यानरले भरियो भृकुटीमण्डप

महाधिवेशनमा उम्मेदवारी दाबी गर्नेको संख्या बढ्दै जाँदा भृकुटीमण्डपका भित्ता, रुख तथा घर भने विभिन्न तुल तथा ब्यानरले भरिएका छन्। उम्मेदवारी दाबी गर्नेहरूले आफ्ना पक्षमा मत माग्दै प्रचार गरिरहेका छन्। भृकुटीमण्डपभित्रका हरेक रुखमा पाँचदेखि सातवटासम्म ब्यानर तथा तुल टाँगिएका छन्।

पदाधिकारी तथा सदस्यका प्रत्याशीले टाँगेका ब्यानर र तुलका कारण भृकुटीमण्डप रंगीचंगी भएको छ। अधिकांश पदाधिकारी तथा सदस्यका दाबेदारले संविधान कार्यान्वयन, सर्वसुलभरूपमा गुणस्तरीय शिक्षा र संगठन सुदृढीकरणका लागि उम्मेदवारी दिएको बताएका छन्।

महाधिवेशन प्रतिनिधिले पनि उम्मेदवारी दाबी गर्ने सबैलाई संगठन सुदृढ बनाउन र गुणस्तरीय शिक्षाका लागि लड्न सुझाव दिइरहेका छन्। सिन्धुपाल्चोकबाट आएका शिवराम पौडेलले गुटगत राजनीति त्याग्नुपर्ने बताए। उनले १२ औं महाधिवेशनदेखि नेतृत्वका लागि ३२ वर्षे उमेर हद व्यवस्था गरिएकोमा प्रशंसा गरे।

कास्कीका आशिष गुरुङले संघ अब एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए। 'गुणस्तरीय शिक्षाका लागि संघले लड्नुपर्छ,' उनले भने, 'त्यसका लागि हामी एकजुट भएर संगठन सुदृढ गर्दै जानुपर्छ।'

महाधिवेशन प्रचार विभाग प्रमुख मोती भण्डारीका अनुसार सोमबार मनोनयनको कार्यक्रम रहेको जानकारी दिए। उनले महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सिसी क्यामेरा तथा सुरक्षा व्यवस्था राम्रो बनाइएको बताए।

प्रकाशित: २४ श्रावण २०७३ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App