८ वैशाख २०८१ शनिबार
अर्थ

सुपर ग्यास आगलागी : ‘उद्योगकै असावधानीले दुर्घटना’

क्षतिग्रस्त उद्योगको बिहीबार अवलोकन गर्दै नवनिर्वाचित सांसद प्रदीप यादव र एलपी ग्यास उद्योग संघको टोली ।

वीरगन्ज- वीरगन्ज महानगरपालिका–१८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।
पर्सा निर्वाचन क्षेत्र नमबर १ बाट निर्वाचित सांसद प्रदीप यादवसहितको टोलीले बिहीबार क्षतिग्रस्त उद्योगको स्थलगत अवलोकन गरेको छ । ‘प्रथम दृष्टिमा हामीलाई लागेको के हो भने यो घटना असावधानीका कारण भएको रहेछ । उद्योगकै केही कमजोरी देखिन्छन् । तर, यसलाई प्रमाणिक रूपमा भन्न सक्ने विज्ञ हामी होइनौं,’ यादवले भने, ‘यसबारे छानबिनका लागि विज्ञसहितको उच्चस्तरीय सरकारी टोली चाँडै आउनुपर्छ । घटनाबाट पाठ लिन सकियो भने आगामी दिनमा यस्ता त्रासदीपूर्ण घटनाबाट जोगिन सकिन्छ ।’ सोही क्षेत्रका प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समितिका सभापति नेक महमदसहितको टोली बिहीबार बिहान उद्योगको स्थलगत अवलोकन गर्न पुगेको थियो । अवलोकनपछि नवनिर्वाचित सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई भेटेर छानबिनका लागि सरकारी स्तरमा पहल गर्न आग्रह गरे ।
यादवले व्यक्तिगत तवरबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँ राहत दिने घोषणासमेत गरेका छन् । ग्यास लिक भएपछि त्यसलाई नियन्त्रण गर्नुका साटो उद्योगका कर्मचारीहरू आफैं भागेको बुझिन आएको छ । उद्योगमा अदक्ष कर्मचारी राखिएकाले यस्तो गडबडी भएको अनुमान गरिएको छ । उद्योगको संरचनाबाट ग्यास लिक नभई त्यहाँ राखिएको भारतीय नम्बरको ग्यास बुलेट (ट्यांकर) बाट भएको उद्योग सञ्चालक अबुलैस अन्सारीले बताए । अवलोकन गर्न पुगेकाहरूको निष्कर्ष पनि त्यही छ । तर, उक्त बुलेट भने त्यहाँ राखिएको तेस्रो दिनमा दुर्घटनाको कारण बनेको हो । तीन दिनसम्म ग्यास बुलेट किन थन्काइयो भन्ने प्रश्नको जवाफ उद्योगका सञ्चालकसँग छैन । त्यसबाहेक उद्योग प्रांगणमा अरू तीनवटा ग्यास बुलेट राखिएका छन् । आगजनीका कारण ती बुलेटका टायर पग्लिसकेका छन् ।
देशभरिका ग्यास उद्योग र अरू संवेदनशील प्रकृतिका उद्योगलाई नियमन गर्न यो छानबिनको निष्कर्ष काम लाग्ने भएकाले गम्भीरतापूर्वक यो काम हुनुपर्ने सांसद यादवको भनाइ छ ।
नेपाल आयल निगमको गुणस्तर तथा अनुगमन विभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा गठन भएको छानबिन टोली बिहीबार पनि वीरगन्ज आइपुगेको छैन । निगमले पनि आफ्नो अनुगमन, नियमन र मापदण्ड पालना गराउने भूमिका सही तरिकाले गरे या नगरेको कुरा छानबिनको विषय भएकाले हतारमा गठन गरिएको उक्त छानबिन समितिबाट औपचारिकता पूरा गराउनुको अर्थ नरहेको उनले टिप्पणी गरे । छुट्टै विज्ञसहितको स्वतन्त्र र उच्चस्तरीय टोलीबाट घटनाको छानबिन हुनुपर्ने उनले बताए ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीको संयोजकत्वमा रहेको संघको छानबिन टोलीले बिहीबार बिहान क्षतिग्रस्त उद्योगको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले घटनालाई ढाकछोपको प्रयास थालेको स्थानीयको आरोप छ । ‘एउटा उद्योगीले अर्कोलाई ढाकछोप गर्नु स्वाभाविक हो । बिहान म घटनास्थलमा पुगेका बेला उहाँहरू आउनुभएको थियो, ज्यान गुमाएका दमकल कर्मचारीउपर नै सबै दोष उहाँहरूले १५ मिनेटको अवलोकनमा तय गरिहालेको देखियो,’ यादवले भने, ‘तर, त्यसले छानबिनमा विशेष अर्थ राख्दैन । ग्यास उद्योगीहरू आए र गए । अबको छानबिन टोलीले निकाल्ने निष्कर्ष र सुझाव सबैले मान्नुपर्ने हुन्छ ।’
भण्डारीले दमकल टोलीकै लापरबाहीले गर्दा घटना भएको बताए । ‘दमकल नआएको भए घटना नै हुने थिएन । परै रोकेर पानी छ्याप्दै अगाडि बढ्नुपर्ने हुन्थ्यो । उनीहरू एकैपटक गेटसम्म आए र यस्तो दुर्घटना हुन गयो,’ उनले भने, ‘लापारबाही त भएकै हो ।’ रक्षा गर्न आउदा ज्यान गुमाएकालाई लापारबाही गरेको आरोप लगाएर एलपी ग्यास उद्योग संघका अवलोकनकर्ताले हतार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताए । उनले विज्ञको टोलीले छानबिन गर्नुपर्ने आफूले धारणा राखेको बताए ।
घटनामा ज्यान गुमाएका अग्निनियन्त्रक लालबन्दी नगरपालिका –७ (साबिक भक्तिपुर–९) सर्राहीका यादवप्रसाद अधिकारी र तनहुँ डुम्रेका मदुसुदन मिश्रको शव पोस्टमार्टमपछि प्रहरीले परिवारजनको जिम्मा लगाएको छ । उनीहरूको मृत्युमा महानगरपालिका कार्यालयमा बिहीबार शोक बिदा दिइयो । दमकलका कर्मचारीलाई तालिम, खतराबाट सुरक्षित हुने पोसाक र उचित जीवन बिमाको व्यवस्था नगरिएकाले मृतकका सहकर्मी कर्मचारीहरू आक्रोशित छन् । ‘पहिलेदेखि निकै भद्रगोल अवस्थामा यो महानगरपालिका हामीले जिम्मा पाएका हौं, दमकलका कर्मचारीसँग सरसल्लाह गरेर त्यहाँ गर्नुपर्ने आवश्यक व्यवस्थापकीय कार्य गर्न मैले निर्देशन दिइसकेको छु, पालना गर्नमा ढिलाइ भएको छ,’ वीरगन्जका मेयर विजय सरावगीले भने, ‘यसलाई ठीक पार्न धेरै काम गर्नुपर्ने छ ।’

प्रकाशित: ७ पुस २०७४ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App