coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गौशालालाई व्यवसायीकरण गरिँदै

निगौला गाई गौशालाको अवलोकन गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका अधिकारी ।

महोत्तरी–सरकारी लगानीमा जिल्लाको गौशाला नगरपालिका–३नवराजपुरमा सञ्चालन गरेको निगौला गाई गौशालालाई राष्ट्रिय सहकारी विकास बोर्डले व्यवसायीकरण गर्ने भएको छ । विगतमा गाईको संरक्षण गर्न सुरु गरिएको गौशालालाई नयाँ मोडलमा ‘व्यावसायिक गाई फार्म’को रुपमा विकास गर्न लागिएको हो । 
सरकारी स्वामित्वमा रहेको उक्त गाई फार्मलाई स्थानीय लगानीकर्ता, सहकारी संस्था, बोर्डको संयुक्त लगानीमा व्यावसायिक बनाएर चलाउने रणनीति बनाएको हो । बोर्डले ‘नमुना फार्म’को रुपमा विकास गर्न करिब तीन करोड रुपैयाँ खर्चिर पूर्वाधार निर्माण गरेको छ । बोर्डको माताहतमा निगौला गाई गौसाला व्यवस्थापन कार्यालयले सञ्चालन गरेको फार्ममा अहिले एक सय ४८ गाई रहेका छन् ।
गौशालामा सरकारी लगानीमात्र नभएर व्यावसायिक रुपमा आम्दानी दिने गरी सहकारी सहित सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भैरहेको राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले बताए । ‘गाई फार्मलाई व्यवसायीकरण गर्दै नमुना गाई फार्मको रुपमा विकास गर्ने योजना बनाएका छौं ,’ पौडेलले भने, ‘सहकारी मोडलमा गाई पालनमा आकर्षित गर्ने हाम्रो ध्येय हो ।’ 
सरकारी लगानीमात्र नभएर सहकारी सहित स्थानीयको लगानीले अपतन्व वृद्धि भएर थप व्यवस्थित हुने पौडेलले बताए । ‘समुदायको सहभागितामा परियोजना सञ्चालन गर्दा सफलता पाउन सजिलो हुन्छ,’ उनले भने, ‘स्थानीयको अपनत्वले दीगो बनाउन सहयोग पुग्छ ।’ अहिलेसम्म त्यहाँ गरिएको लगानीबाट अपेक्षित प्रतिफल आउन नसकेको अवस्थामा सो गाई फार्मबाट प्रयाप्त दूध उत्पादन गरेर व्यावसायिक मोडलमा सञ्चालन गर्न लागिएको हो ।
विगतमा स्थानीय गाईको रेखदेख र संरक्षण गर्दै आएको गौशालामा व्यावसायिक रुपमा दूध उत्पादन गरेर बिक्री गर्ने योजना अनुसार गाईपालनलाई विस्तार गरिएको छ । त्यहाँ होलस्ट्यान, जर्सी, साहीवाल लगायत उन्नत जातका गाई रहेको बोर्डका सदस्य–सचिव प्रसन्नकुमार कोइरालाले बताए । ‘मुलुकका विभिन्न ठाउँबाट उन्नत जातका गाई ल्याएर पालेका छौं,’ कोइरालाले भने, ‘कम लगानीमा धेरै दूध उत्पादन गर्ने योजना हो ।’
त्यसकालागि बोर्डका सञ्चालक सदस्य दीपक प्रसाद पौडेल, रामचन्द्र सिंह कुसहवा, सदस्य सचिव प्रसन्न कोइराला नेतृत्वको टोलीले अध्ययन गरेको छ । 
फार्मलाई व्यवस्थित गर्न बोर्डले सुविधा सम्पन्न आधुनिक गाई गोठ बनाएको छ । चिकिक्क परेका गोठ बाहिरबाट हेर्दा पनि निकै आकर्षक देखिन्छन् । गोठ राम्रो नहुँदा पशुलाई रोगव्याधी लाग्ने भएकाले पनि विशेष प्रकारको बनाएको बोर्डले जनाएको छ । १० विघा क्षेत्रफलमा पर्खालले घेरेर व्यवस्थित पूर्वाधार तयार गरिएको बोर्डका निमित्त निर्देशक अनिलराज पौडेलले बताए । ‘घाँस, पानी खुवाउनको लागि व्यवस्थित गोठ बनाएका छौं,’ पौडेलले भने, ‘गाई बाँध्नमात्र नभएर परालसहित पशु आहार भण्डारण गर्ने भवन पनि तयार गरिएको छ ।’
फार्ममा दूध दिने, गर्भवती, कोरली गाईलाई छुट्टा–छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । फार्म भित्रनै गोठका साथै उन्नत जातका घाँस पनि लगाइएको छ । गाईको रेखदेख गर्न ११ जना गाई गोठाला सहित पशु चिकित्सक पनि राखिएको छ ।
बोर्डले गाईलाई घाँसको व्यवस्थापन गर्नको लागि २० विघा क्षेत्रफलमा पाउलोनियका घाँस पनि लगाएको निगौला गाई फार्मका निमित्त प्रमुख राम छविलाल रायले बताए । ‘गाईको लागि दाना व्यवस्थापन गर्न चुनौती छ,’ रायले भने, ‘त्यसको लागि आँफै घाँस खेती सुरु गरेका छौं ।’ घाँससँगै चोकर, चुनी, दाना पनि खुवाउने गरेका छन् ।
हावापानी नमिले गाईहरु मर्ने भएकाले जोखिम पनि रहेको गौशालाका पशु चिकित्सक विनोद कुमार मल्लिकले बताए । ‘विभिन्न समयमा रोगव्याधीले गाई मर्ने जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘त्यसको लागि पूर्व सर्तकता अपनाउछौं ।’ 
त्यहाँ उत्पादन भएको दूध स्थानीय बजार र दुग्ध विकास संस्थानले खरिद गर्ने गरेका छन् । दूध बेचेर आएको आम्दानीले खर्चको व्यवस्थापन गर्ने गरेका छन् । दूध लिटरको ५० रुपैयाँमा बिक्री गाई फार्म लेखापाल सुवासचन्द्र यादबले बताए । ‘दूध बेचेर नपुग्ने खर्च सहकारी बोर्डबाट आउँछ,’ यादबले भने, ‘गाई पालनलाई नाफामा लैजान प्रयास गरिरहेका छौं । गौशाला भित्रनै दूध चिस्यान गर्ने पाँच सय लिटर क्षमताको चिलिङ मेसिन पनि राखिएको छ ।त्यहाँ काम गर्ने कर्मचारीलाई फार्म भित्रनै बस्नको लागि आवासको पनि व्यवस्था गरिएको छ । 
सवा सय गाईको संरक्षण
राष्ट्रिय सहकारी बोर्डले महोत्तरीकै गौशाला नगरपालिका–५मा एक सय २२ गाईको भने संरक्षण गरिरहेको छ । कुनै प्रतिफल लिने उद्देस्यले नभई धार्मिक भावना अनुसार ती गाईको पालनपोषण गर्दै आएको हो । भारतका दरवाङ्गा महाराजले दशकौं पहिले गाईको संरक्षण गर्न करिब दुई सय विघा जमिन खरिद गरेर दिएकाले त्यसको मर्म अनुसारनै संरक्षण गरेको बोर्डले जनाएको छ । विगतमा अञ्चलाधिश, प्रमुख जिल्ला अधिकारी, कृषि विकास मन्त्रालयले रेखदेख गर्दै आएका गाई रेखदेखको जिम्मा अहिले बोर्डको रहेको छ ।
 

प्रकाशित: ७ पुस २०७४ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App