coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारी सिटामोल महिनाभित्रै उत्पादन सुरु

काठमाडौं–सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले महिना दिनभित्रै सिटामोल उत्पादन गर्ने भएको छ । वैशाख महिनामा जीवनजल उत्पादन गरेर पुनः सञ्चालनमा आएको यस उद्योगले दोस्रो उत्पादनका रुपमा सिटामोल उत्पादन गर्न लागेको हो । 
एक महिनाभित्रै सिटामोल उत्पादन सुरु गर्ने तयारी भइरहेको औषधि लिमिटेडका महानिर्देशक रोभस कुशम सुवेदीले बताए । ‘एक महिनाभित्रै सिटामोल उत्पादन सुरु गर्ने तयारी छ,’ सुवेदीले नागरिकसँग भने, ‘केही प्राविधिक समस्याले गर्दा ढिला हुन गएको छ ।’
वैशाखमा जीवनजल उत्पादनबाट पुनः सञ्चालनमा आएको यस उद्योगले दसैंसम्ममा सिटामोल पनि उत्पादन गर्ने लक्ष्य राखेको थियो । केही प्राविधिक समस्याले लक्ष्य अनुसार गर्न नसकेको भएपनि महिना दिनभित्रै दोस्रो उत्पादनका रुपमा सिटामोल बजारमा आउन लागेको सुवेदीको भनाइ छ । 
उद्योग बन्द भएको सात वर्षपछि तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा वैशाखमा औषधि लिमिटेडलाई पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा ल्याउँदै दुई वर्षभित्रमा नाफामा जाँदा आधारभुत आवश्यकताका सम्पुर्ण औषधि उत्पादन गर्ने योजना सार्वजनिक गरिएको थियो । 
हाल यस उद्योगले दैनिक पाँच हजार प्याकेट जीवनजल उत्पादन गर्ने क्षमता भए पनि त्यसको आधा मात्र उत्पादन भइरहेको छ । यो अफसिजन भएकाले अहिले अलि कम मात्र जीवनजल उत्पादन भएको सुवेदीले बताए । 
२०३५ सालदेखि नेपाल औषधि लिमिटेडले जीवनजल उत्पादन सुरु गरेको थियो । यो प्रविधिलाई बंगालादेशबाट सिको गरिएको थियो । बंगलादेशमा लाखौं बच्चाको ज्यान जोगाउन सफल रहेको जीवनजललाई नेपालमा उत्पादन गर्न युनिसेफ, डब्लएचओ सहयोग गरेका थिए । त्यो बेला वार्षिक रुपमा करोडौं प्याकेट जीवनजल उत्पादन भएको थियो । सुरुमा २८ ग्रामको आउँथ्यो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिएमपी मोडलमा उद्योगलाई परिवर्तन गरेर उत्पादन सुरु गरिएको हो । उद्योगको पुनः सञ्चालन गर्दा आसोज महिनाभित्र १४ थरी र वैशाख १ गतेसम्म ४० थरी औषधि उत्पादन गर्ने लक्ष्यसहितको समय तालिका बनाएर काम सुरु गरेको जानकारी गराइएको थियो । ०७६ वैशाख १ गतेभित्र सबै प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएका थियो । विश्व स्वाथ्य संगठनले तय गरेको कुशल निर्माण विधि सुरु गर्न मन्त्रिपरिषदले १४ करोड ६५ लाख रुपैया ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । 
सरकारले निशुल्क वितरण गर्ने औषधि मात्र उत्पादन गर्न सक्ने हो भने पनि यस उद्योले राम्रो व्यवसाय गर्न सक्नेछ । हाल स्वास्थ्य मन्त्रालयले वार्षिक १ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको औषधि निःशुल्क वितरण गर्दै आएको छ । 
स्वास्य मन्त्रालयले अहिले पनि करोडौं प्याकेट जीवनजल किनेर ग्रामीण क्षेत्रमा निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यो बजारलाई औषधि लिमिटेडले लिन सक्छ । सरकारी जीवनजल बन्द भएपछि मुलुकका अन्य निजी क्षेत्रका कम्पनीहरूले बजार लिएका थिए ।
स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि ०२९ मा स्थापना गरिएको उद्योग ०६६ सालमा उत्पादन बन्द गरेको थियो । उद्योग बन्द गर्नुको प्रमुख कारण आर्थिक घाटाभन्दा पनि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जिएमपी मोडलमा जान नसक्नु थियो । जिएमपी मोडल भनेको औषधि उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुविहीन तथा हावा छिर्न नसक्ने अवस्थाको हुनु हो । विगतमा यस उद्योगले एक सय २० थरिका औषधि उत्पादन गरेको थियो ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App