८ वैशाख २०८१ शनिबार
कला

‘गीत गाउँदा बारम्बार नर्भस भएकी छु’

काठमाडौं–बढ्दो उमेरसँगै धेरै गायक गायिकाले गायनबाट सन्यास लिन्छन् । तर, अन्जु पन्त यस्तो अपवाद बन्न थालेकी छिन् , जहाँ करिअरको उत्तराद्र्धमा उनको लोकप्रियता झन्–झन् बढ्दो छ । करिष्मा मानन्धर पुस्ताका अभिनेत्रीदेखि दीपिका प्रसाइँको पुस्तासम्ममा समान रूपले उनको स्वर अभिनेत्रीमा सुहाएको छ । नागरिकसँगको एक भेटमा उनले सुरिलो स्वरको रहस्यदेखि अविस्मरणी कन्सर्टका बारेमा कुरा गरिन् ।

– कन्सर्टमा कहिलै नर्भस हुनुभएको छ ?

बारम्बार भएकी छु । सम्झनै पर्दाचाहीँ नारायणघाटमा भएको कन्सर्टको सम्झना हुन्छ । धेरै वर्ष अगाडिको कुरा हो, गाइरहँदा दर्शकबाट अभद्र व्यवहार खेपेकी थिएँ । एकदमै चित्त दुखेको थियो । सुरुमै दर्शकबाट नमिठो व्यवहार खेपेपछि एकदमै नर्भस भएकी थिएँ ।

– कुनै गीत गाउँदा मजा लाग्छ ?

नयाँ गीतसँगै पुराना गीत गाउन छाडिन्छ । आजभोलिको कुरा गर्ने हो भने ‘प्रेमगीत’, ‘तिमी रोएको पल’, ‘जिन्दगी यो फूलै फूलको’, ‘किन हो किन तिम्रो याद’ गाउँदा आफैंलाई पनि बिर्सन्छु ।

– तपाईंको स्वरमा झन्झन् चम्किरहेको छ । स्वर कसरी दुरुस्त राख्नु हुन्छ ?

हरेकको गलाका आआफ्नै विशेषता हुन्छन् । मेरो हकमा भने आजभोलि म आधा घण्टा मात्र रियाज गर्छु । तर, आधा घन्टा मात्र रियाज गरेर मात्र स्वर यस्तो भयो भन्ने नठान्नू होला । कुनै समय मैले १४ रियाज गर्ने गरेकी थिएँ । यही कारण मेरो स्वरको जग बलियो भयो । अहिले त दिनको दुई गीत रेकर्डिङ नै पर्छ । यसले पनि रियाज भइरहेको हुन्छ । तर, मेरो अनुभवमा  रेकर्डिङ त ठिक छ तर कन्सर्टले चाहीँ आवाज बिगार्छ । गायनमा लामो यात्रा तय गर्न चाहनेले यस्ता कुरामा सन्तुलन राख्न जान्नुपर्छ । अनि मेरो स्वर राम्रो हुँदै जानमा प्रार्थनाको पनि ठूलो भूमिका छ ।

– आफूपछिको पुस्तामा कस्को गायकी मनपर्छ ?

सबै जनाको राम्रो छ । तर, व्यक्तिगत रूपमा मलाई मेलिना राई, निशा देसार, मनीषा पोखरेल, मिना निरौला, रजिना रिमाल आदि राम्रो लाग्छ ।

– एकदमै सम्झन लायक कन्सर्ट कुन थियो ?

आफ्नै एकल साँझ । पहिलो पटक एकल साँझ गर्ने भनेपछि मिडियामा सबैतिर अन्जुको ऐतिहासिक एकल साँझ भन्ने खालको चर्चा भयो । एकल साँझ नसकिउन्जेलसम्म, कसरी ऐतिहासिक भनेको होला भनेर आफैंलाई अप्ठ्यारो लागिराथ्यो तर सकिएपछि साँच्चिकै ऐतिहासिक भयो । बग्गीमा बसेर राजकुमारीले जस्तो इन्ट्री मारेकी थिएँ । गरेको मध्ये दर्शक र भव्यताका हिसाले आफ्नै एकल साँझ विशेष लाग्छ ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App