५ वैशाख २०८१ बुधबार
कला

म मरे पनि मलाई मेरो देशको माया छ

काठमाडौं–गीति नाटक, नृत्य नाटक र केही नेपाली फिल्ममा संगीत भरेका संगीतकार तथा गायक चन्द्रराज शर्माको ७८ वर्षको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको राजधानीको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो ।
काठमाडौंको मैतीदेवीमा संगीत शिरोमणि पिता यज्ञराज शर्मा र आमा होम कुमारीको सन्तानका रूपमा जन्मिएका चन्द्रराज बाल्यकालदेखि नै संगीतमा रुचि राख्दथे । बाल्यकालमा उनको ध्यान पढाइभन्दा पनि संगीत र गायनमै थियो । शास्त्रीय संगीतमा रुचि राख्ने चन्द्रराजलाई उनका पिता यज्ञराजले बाल्यकालदेखि नै त्यही वातावरणमा हुर्काएका थिए ।
आफ्नो सांगीतिक करियरमा चन्द्रराजले झन्डै ३ सय ५० आधुनिक गीतमा संगीत भरे । मेलोडी गायनमा ज्ञान भएका उनले ५० बढी आधुनिक गीतमा स्वर पनि दिएका छन् । इलाहावादको प्रज्ञा संगीत विद्यालयबाट बिम्युज गरेका उनले कमर्समा बिकम पनि सकेका छन् । उनको संगीत तथा नारायण गोपालको स्वरमा रहेको गीत ‘म मरे पनि मलाई मेरो देशको माया छ’ सर्वाधिक लोकप्रिय गीत हो ।
गीति नाटक, नृत्य नाटकमा सक्रिय उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित रहेर बनाइएको नाटक ‘मुनामदन’मा संगीत भरेर बढी चिनिए । ‘मुनामदन’ पछि उनले ‘कुञ्जनी’, ‘धने’, ‘स्वतन्त्रको सम्मान’, ‘राजकुमार विश्वान्तर’, ‘भृकुटी’, ‘श्रीकृष्ण लिला’, ‘सत्य हरिशचन्द्र’ र ‘मुटुको व्यथा’ जस्ता नाटकमा पनि संगीत दिए ।
उनले ‘सत्यनाग’, ‘दुर्गा अवतार’ र ‘भस्मासुर’जस्ता नृत्य नाटकमा पनि संगीत दिएका थिए । उनका चर्चित गीतमा ‘सुनौला घाम झुल्केन’, ‘नदीका दुई किनारा’, ‘आँखाहरुले रुन नखोजे’, ‘चपला अबला एक सुरमा’, ‘मेरो माल मलाई फर्काइदे बाबु’, ‘ए मेरी मुना नभन तेसो जुनमा फुलेकी’, ‘तिम्रो आकाशमा जून’, ‘तिमी आफूलाई’, ‘मोतिका दाना’लगायत छन् ।

संगीतकार चन्द्रराजसँग व्यावसायिक रूपमा काम नगरेका गीतकार डा. कृष्णहरि बराल चन्द्रलाई सरल, सजिलो र मिलनसार संगीतका रुपमा चित्रण गर्छन् । ‘उहाँसँग राजाको शासनकालमा भएको पहिलो फिल्म महोत्सवमा जुरीका रूपमा सँगै काम गर्ने अवसर पाएको थिएँ । उहाँको कुराकानीमा इमान्दारीपन पाएँ । सबै संगीतकार संगीतका ज्ञाता हुँदैनन् । तर त्यसको अपवादामा चन्द्रराज शर्मा हुनुहुन्थ्यो,’ डा. बरालले स्मरण गरे, ‘संगीतको जजमेन्ट गर्दा उहाँ सैद्धान्तिक कुरालाई पनि हेर्नुहुन्थ्यो । उहाँमा म वरिष्ठ हुँ भन्ने भावना कहिल्यै देखिन ।’
नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’मा संगीत दिएका चन्द्रका संगीत ‘जीवन ज्योति’, ‘धर्ती आकाश’, ‘श्री स्वस्थानी’ र ‘भानुभक्त’मा पनि सुन्न सकिन्छ । उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’मा पनि संगीत दिएका छन् ।
चन्द्रले तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत शिक्षकका रूपमा केही वर्ष काम गरेका थिए । उनले केही वर्ष नेपाल संगीत महाविद्यालयमा पनि संगीत विषय पढाएका थिए । उनले रत्न कला कुञ्जमा सचिव र प्रधान नाट्य समूहमा संगीतकारका रूपमा काम पनि गरे । उनले झन्डै २७ वर्ष सरकारको सांस्कृतिक विभागमा संगीत अध्यक्षको रुपमा पनि काम गरे ।
उनले प्रबल गोरखा दक्षिण बाहु, श्री ५ वीरेन्द्र राज्यभिषेक पदक, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल सम्मान, शिक्षा पुरस्कार र चलचित्र सम्मानलगायतका सम्मान तथा पुरस्कार पाएका थिए । चन्द्रराजको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो । उनको श्रीमति  र दुई छोरा छन् ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App