८ वैशाख २०८१ शनिबार
खेल

कीर्तिमानमा भन्दा प्रदर्शनमा ध्यान

पार्ल–आफ्नो दक्षिण अफ्रिकाका सर्वकालीन विकेट लिने खेलाडी बन्ने उपलब्धिमा ध्यान केन्द्रित नभएको तीव्र गतिका बलर डेल स्टेनले बुधबार बताएका छन् ।
दक्षिण अफ्रिकाले एबी डी भिलियर्ससँगै स्टेनलाई पनि डिसेम्बर २६ बाट सुरु हुने जिम्बावेविरुद्धको एक मात्र दिवा–रात्रि टेस्टका लागि टोलीमा फिर्ता बोलाएको थियो ।
३४ वर्षे स्टेन दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडीको उपलब्धि चुम्न मात्र पाँच विकेट टाढा छन् । स्टेनले ८५ टेस्टमा ४ सय १७ विकेट लिएका छन् । सान पोलोकको नाममा ४ सय २१ टेस्ट विकेटको कीर्तिमान छ ।
सन् २०१६ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको टेस्टमा पाखुरामा चोट लागेपछि स्टेन अधिकांश समय मैदानबाहिर बस्दै आएका छन् । त्यसयता दक्षिण अफ्रिकाले खेलेका २५ टेस्टमा उनले ४ वटा टेस्टमा मात्र सहभागिता जनाएका छन् ।
‘अहिले पनि म टोलीका अन्य युवा खेलाडीभन्दा फिट छु,’ स्टेनले भने, ‘मेरो ध्यान सर्वकालीन विकेट लिने खेलाडी बन्नु भन्दा कसरी उत्कृष्ट प्रदर्शन गर्र्दै टोलीलाई धेरैभन्दा धेरै सफलता दिलाउनुमा हुनेछ ।’
‘जब कसैले कीर्तिमानको विषय निकाल्छ । तब म घाइते हुन्छु,’ स्टेनले थप गर्दैै भने, ‘त्यसैले म कीर्तिमानमा नभई उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित छु ।’ 

 

प्रकाशित: ७ पुस २०७४ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App