८ वैशाख २०८१ शनिबार
अर्थ

‘आइसिपी’ धान्ने सम्पर्क सडक नहुँदा सञ्चालनमा अलमल

वीरगन्ज–नेपाल–भारतको सीमामा बनेको बहुप्रतीक्षित एकीकृत जाँच चौकी (इन्टरग्रेटेड चेक पोस्ट–आइसिपी) सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला त्यसलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सम्पर्क मार्ग निर्माण भने अन्योलमा परेको छ । द्विदेशीय सहमति अनुसार दशगजा वारिपारि एकसाथ सुविधासम्पन्न र उस्तै संरचना भएको आधुनिक तथा प्रविधियुक्त भन्सार प्रांगण बन्ने योजना हो– आइसिपी । करिब पाँच सय करोड रुपैयाँ लगानीमा तयार उक्त योजना सञ्चालन गर्न सडक अभावले ढिलाइ हुने भएपछि सरोकारवाला चिन्तित बनेका छन् । 
‘आइसिपी राष्ट्रकै लागि महत्वपूर्ण परियोजना हो, यो सञ्चालनमा आएपछि भन्सारलाई व्यवस्थित गर्न र त्यसका बेथिति अन्त गर्न मिल्ने रहेछ,’ पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, ‘आइसिपी लगभग तयार भएपछि अब सम्पर्क सडकको समस्या छ । त्यसलाई चाहिए अनुसारको फराकिलो बनाउनु अति आवश्यक छ ।’ 
नेपालतर्फ पर्साको अलौंमा एक सय १५ बिघामा आइसिपीको संरचना ९० प्रतिशतभन्दा बढी तयार भइसकेको र अन्तिम चरणका काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागको वीरगन्जस्थित कार्यालयका प्रमुख रहेका डिभिजनल इन्जिनियर सुुरेशकुमार वाग्लेले बताए । हाताभित्रको भुइँ सतह सम्याउने, विद्युत्का वाइरिङ, कम्प्युटर तथा इन्टरनेट सञ्चालन गर्ने वाइरिङ लगायत काम भइरहेको र आफूहरु सञ्चालनका लागि हस्तान्तरण गर्न तयार रहेको उनले जानकारी गराए । 
भारततर्फ एक सय १० बिघामा उताको पाटोको संरचना बनेर एक वर्षअघि नै तयार छ । दुई देशका परराष्ट्र तथा वाणिज्यका अधिकारीहरुले तय गरे अनुसारको मितिमा आइसिपी सञ्चालनमा आउने इन्जिनियर वाग्लेले बताए । दुवैतर्फ गरी सवा दुई सय बिघामा तयार भएको आइसिपीबाट नेपालतिर निकासी हुने बाटो साँघुरो भएकाले यो सञ्चालन नै अन्योलमा परेको हो । आइसिपीसँगै त्यहाँबाट निस्किने सय फिट चौडा बाटो बनेर तयार भइसकेर वीरगन्ज–पोखरिया सडकखण्डको हुलाकी राजमार्गमा जोडिएको छ । 
आइसिपीको निकास बाटो जोडिएको हुलाकीको सडकखण्ड भने दुई लेनको साँघुरो छ । ‘आइसिपी सुरु भएपछि दिनहुँ हजारौं गाडी त्यहाँबाट आवागमन हुने हो, जसमा ग्यास बुलेट, प्लेटफर्म ट्रक र ठूला लरी गरेर सयौं हुनेछन्,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेलले भने, ‘हुलाकी सडकमा जोडिने घुम्तिमा ती गाडी नै घुम्दैन, न त त्यो सडकले त्यत्रो सवारीको चाप धान्न सक्छ ।’ 
आइसिपीको निकास सडक आएर जोडिने ठाउँदेखि सिर्सिया चोकसम्मको ६ सय १० मिटर सडकखण्ड फराकिलो नबनाई नहुने उनले बताए । यता सिर्सिया चोकसम्म ‘पथलैया–वीरगन्ज ६ लेन बाटो’ बन्न लागेको छ । आइसिपीको निकास बिन्दु र ६ लेनको अन्तिम बिन्दुबीचमा ६ सय १० सय मिटर खण्ड पनि ६ लेन बनाउने ठेक्का भइसकेको छ । पहिलेको साबिक हुलाकी सडकको जग्गा ३० मिटरमात्र छ । त्यसलाई ६ लेनका लागि ५० मिटर बनाउन स्थानीयको जग्गा अधिग्रहण गर्नुपर्ने रहेछ । अधिग्रहणमा ढिलाइले टेन्डर भएर पनि सो सडक खण्ड बन्न नसक्दा समग्र परियोजनाको लगानी निरर्थक साबित हुँदैछ । 
‘६ बिघा एक कट्ठा जग्गा अधिग्रहण गर्नु परेको छ, ६२ लाख रुपैयाँ प्रतिकट्ठाका दरले मुआब्जा दिने निर्णय पनि भइसकेको छ,’ सिडिओ सिंहले भने, ‘अहिले जग्गा यकिन गर्न सर्भेको काम भइरहेको छ, त्यो सकिएलगत्तै सूचना निकालेर मुआब्जा वितरण गर्ने हो, एक महिनाभित्र सबै काम सकिने छ ।’ सिडिओले भनेको काम सकिएपछि ठेकेदारले त्यो सडक खण्डको निर्माण कार्य थाल्ने हो । 
जग्गा खाली गराएर ठाउँ पाउनेबित्तिकै आफूहरुले काम थालिहाल्ने तयारीमा रहेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारले बताए । जग्गा पाएको तीन महिनाभित्र सडक निर्माण गरेर दिन सकिने उनले दाबी गरे । आइसिपी सञ्चालनमा अनपेक्षित विलम्ब भइरहेको र पूरक पूर्वाधार प्रबन्धमा सरकारले बेवास्ता गरेको आरोप वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले लगाए ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App