१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वैदेशिक रोजगारसम्न्बधी सचेतना फैलाउने गीति यात्रा

दिक्तेलमा वैदेशिक रोजगारसम्बन्धी गीत प्रस्तुत गर्दै गन्धर्व दाजुभाइ ।

खोटाङ–वैदेसिक रोजगारसम्बन्धी सचेतना फैलाउनका लागि खोटाङमा गन्धर्व गीति यात्रा थालिएको छ । गन्धर्व गीत र संगीतको माध्यमबाट गाउँ–गाउँमा पुगेर वैदेसिक रोजगार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सोमबारदेखि रूपाकोट मझुवागढी नगरपालिकामा गन्धर्व गीति यात्रा थालिएको हो । वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउने उद्देश्यले गन्धर्वको साहरामा सदरमुकाम दिक्तेलबाट सुरु गरिएको सचेतनामूलक सांगीतिक यात्रा रूपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा सञ्चालन हुने सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ । रूपाकोट मझुवागढीकाका १० वडामा स्वयं नगरपालिका तथा ५ वडामा सामीको आर्थिक सहयोगमा गन्धर्व गीति यात्रा सञ्चालन हुनेछ ।
बिनाजानकारी, बिनासीप र तालिम विदेश पुगेर अलपत्र पर्नबाट युवालाई जोगाउने सचेतनाका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर गन्धर्व गीति यात्रा थालिएको बालसेवा समाज अन्तरगतको परियोजनाका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । सामीले जिल्लामा केही वर्षयता गिती यात्रा कार्यक्रम चलाउँदै आएको छ । ‘गीतका माध्यमबाट हामी सकेसम्म विदेश नजाऔं, आफ्नै गाउँमा केही गर्न आग्रह गर्छौं,’ कार्यक्रम संयोजक आचार्यले भने, ‘विदेश जाने नै भए सूचना, सीप र तालिम लिएर मात्र जाऔं भनेर आग्रह गरिन्छ ।’
सारांगी रेट्दै गाउँ–गाउँमा डुल्ने गन्धर्वको टोलीले वैदेशिक रोजगारसँग सम्बन्धित सीप, वैदेशिक रोजगारका चुनौती, समस्या, समाधानका उपाय, महिला कामदार, सूचना केन्द्र, निशुल्कः कानुनी सहायता, मनोसामाजिक परामर्श, ठगी लगायतका विषय समेटिएको गीत गाउँदै सर्वसाधारणलाई सचेत गराउने छ । लोकलयमा आधारित गन्धर्व गीतको माध्यमबाट ‘सकेसम्म विदेश नजान, स्वदेशमै पसिना बगाउन, विदेश जाने भए सूचना, सीप र तालिम लिएर मात्र जान, विदेश जानअघि सम्पूर्ण कागजातको प्रतिलिपि घरमा छाड्न’ आग्रह गरिने कार्यक्रम संयोजक आचार्यले बताए । गीति यात्राका लागि भोजपुरका दुई गन्धर्व खटिएका छन् ।
सारांगीको सुरिलो धुन र गन्धर्वको स्वरले सबैको ध्यान आकर्षित गर्ने भएकाले गीत संगीतको माध्यमबाट वैदेशिक रोजगारी सम्वन्धी चेतना फैलाउन सांगीतिक अभियान चलाइएको हो । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन यसअघिका वर्ष सञ्चालन गरिएको सांगीतिक यात्रा फलदायी भएकाले यसलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । ‘सारांगी र गन्धर्वको स्वरमा केटाकेटीदेखि बुढापाकासम्म झुम्मिन्छन्,’ आचार्यले भने, ‘त्यही भएर चेतना फैलाउन गीतियात्रा विधि अपनाइएको हो ।’
 

 

प्रकाशित: ६ पुस २०७४ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App