८ वैशाख २०८१ शनिबार
खेल

पिएफए अत्तरिया फाइनलमा

धनगढी–सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई १–० ले पाखा लगाउँदै पिएफए अत्तरिया ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपको फाइनल पुगेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा पिएफएका तर्फबाट निर्णायक गोल मणिराम चौधरीले गरे । निकै प्रतिस्पर्धात्मक उक्त खेलको ६६औं मिनेटमा डी बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गोल गरेका थिए । 
 खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिएफए अत्तरियाका विश्व अधिकारी म्यान अफ द म्याच भए । निकै प्रतिस्पर्धात्मक खेलमा जित हात पारेपछि खुसी व्यक्त गर्दै पिएफए अत्तरियाका प्रशिक्षक सन्तोष भट्टले अब उपाधि जित्ने दाबी गरे । सुदूरपश्चिम ११ का प्रशिक्षक ललित चन्दले भाग्यले साथ नदिएका कारण सजिलै गोल गर्न सकिने मौका चुकेकाले हार बेहोरेको बताए । 
मंसिर २८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक फारवेस्ट पशुपति युवा क्लव र न्यु बुद्ध युवा क्लब फूलबारीबीच प्रतिस्पर्धा हुँदै छ ।

कुल ५ लाख रुपियाँ  पुरस्कार राशि रहेको फारवेस्ट पशुपति कपका विजेताले  तीन लाख र उपविजेताले डेढ लाख रुपियाँ प्राप्त गर्नेछन् । विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल पुस ८ गते शनिबार धनगढी रंगशालामा हुने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेलम रावतले जानकारी दिए । 

 

प्रकाशित: ६ पुस २०७४ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App