काठमाडौ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाँडै नै माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् । ओलीले भने, ‘निकट भविश्यमा पार्टी एकता हुन्छ ।’
काठमाडौबाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी प्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकता हुन नदिन भड्काउने खेल भइरहेको तर्फ आफूहरु सचेत रहेको बताए । ‘कोही कोही गैंडाका जस्ता जिब्रा लिएर सुँघ्दै छन् । भड्काउने कोसिस भइरहेको छ।’ ओलीले भने, ‘एकले अर्कोलाई निल्छ भनेका छन् । अब स–साना कुरामा अल्झिने कुरै छैन।’
कसैले हात समाएर लगेर चुनावी गठबन्धन नभएको बताउँदै ओलीले अहिले चुनावपछि कम्युनिष्ट आन्दोलन एकजुट हुने क्रममा आइपुगेको उल्लेख गरे । अब बाँकी रहेका कम्युनिष्ट घटकहरु पनि एमाले माओवादीको मुलधारमा समाहित हुनुपर्ने ओलीले बताए ।
‘कोही कोही गैंडाका जस्ता जिब्रा लिएर सुँघ्दै छन् । भड्काउने कोसिस भइरहेको छ।’ ओलीले भने, ‘एकले अर्कोलाई निल्छ भनेका छन् । अब स–साना कुरामा अल्झिने कुरै छैन।’
माओवादी र एमालेको एकीकरण अभियानले जनतामा जागरण ल्याएको बताउँदै ओलीले कार्यकर्ताहरुलाई उत्साहका साथ अघि बढ्न आग्रह गरे । अब बन्ने बामपन्थी सरकारले जनतासँगका बाचा इमान्दार भएर पुरा गर्नेतर्फ अग्रसर हुने पनि ओलीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काम विशेषले धुलिखेल गएकाले कार्यक्रममा आउन नसकेको जानकारी दिंदै ओलीले आफूले बोलेकै कुरा दाहालका पनि भएको बताए । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब कम्युनिष्ट आन्दोलन एकीकृत रुपमा अघि बढ्ने क्रममा आइपुगेको बताएका थिए ।
प्रकाशित: ५ पुस २०७४ ११:११ बुधबार