coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

राजधानी धुलेमाडौं

नबनाउने भए किन भत्काउनु ? यतिबेला राजधानीबासीका मनमा बसेको प्रश्न हो, यो । सडक र अन्य पूर्वाधार निर्माणका नाममा भत्काउने र वर्षौंसम्म त्यत्तिकै छाडिदिने गरेको देखिन्छ । कुनै पनि संवेदनशील सरकारका निम्ति यस्तो काम क्षम्य हुँदैन । यस्तो अवस्था हुँदा नागरिक समाज र सर्वसाधारण पनि उठ्नुपर्ने हो । दुर्भाग्यबस, यो अवस्था हाम्रा निम्ति कुनै मुद्दा बन्न सकेको छैन । अधिकारमुखी आन्दोलन र राजनीति गरेर थाकिसकेका व्यक्तिका कारण राजधानीको बेथितिमाथि सकारात्मक योगदान पुग्न सकेको छैन । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले उद्घाटन गरेका आयोजनाको समेत बेथिति मुलुकमा भइरहेको छ । सर्वसाधारणप्रतिको योभन्दा ठूलो हेपाइ केही हुँदैन । सडक खनेर त्यत्तिकै छाडिदिएपछि सर्वसाधारणको आवागमनमा परेको समस्यामा कुनै ध्यान पुग्न सकेको छैन । असरल्ल छाडिएको विकासको कामले राजधानी काठमाडौं धुलाम्य भएको छ । त्यसले राजधानीबासीको स्वास्थ्य अवस्थामा गम्भीर असर पारिरहेको छ । यहाँका बासिन्दामा श्वासप्रश्वासका बिरामी बढिरहेका छन् । बर्सेनि हजारौं मानिस प्रदूषणका कारण अकालमै जीवन गुमाउने अवस्थामा पुगेका छन् । यस्तो गम्भीर अवस्थामा समेत कुनै ध्यानाकर्षण भएको छैन । विकास निर्माणलाई अधुरै छाडेको यो अवस्थाले त यो मुलुकमा सरकार नभएको अनुभव भइरहेको छ ।
दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको सपना यो मुलुकले देखेको हो । त्यो आयोजना समयमा पूरा गर्नेतर्फ कत्ति पनि तत्परता देखिएको छैन । जहिल्यै त्यो आयोजना लम्ब्याएर लाभान्वित हुने कर्मचारीदेखि ठेकेदारसम्मको मिलेमतो रहेको छ । मेलम्चीका नाममा राजधानीबासीले अहिले भोगेको कन्तबिजोगको कुनै लेखाजोखा छैन । सडक भत्काएको छ, त्यत्तिकै छाडेको महिनौं भएको छ । रत्नपार्क–सहिदगेट आसपासमा बेलाबेलामा सडक लिपलाप पारेको देखिन्छ । कहिले आधा काम हुन्छ । फेरि अर्को ६ महिनामा फेरि त्यही पिच गरेको देखिन्छ । यी सबै काम पछाडिको उद्देश्य बुझ्न गाह्रो छ । यही क्षेत्रका सडक पेटी भत्काउँदै–बनाउँदै–भत्काउँदै गरेको देखिन्छ । सडक बत्तीका लागि पटकपटक योजना बन्छन् । एकपटक राखेपछि केही वर्ष पनि टिक्दैनन् । त्यसपछि फेरि नयाँ आयोजना बनाएर कार्यान्वयन हुन्छ । कसको कारणले ती बत्ती लामो समय टिकेनन् भन्नेमा कसैको ध्यानाकर्षण हुँदैन । कतिपय ठाउँमा सडक बनाइएको छ तर केही दिनमै पिच कामै नलाग्ने भइसकेको हुन्छ । निर्माणको गुणस्तर निर्धारण गरिएको छैन । सरकारले प्रदूषण कर भनेर जनताबाट उठाउँछ तर त्यसको सदुपयोग गर्दैन बरु नागरिकले धुवाँधुलोको नारकीय जीवनयापन गर्नुपर्छ ।
रानीपोखरी बनाउने भनेर ठूलै तामझाम गरियो । तर, दुई वर्षदेखि राजधानीको मुटुमा बिजोग गराइएको छ । वास्तवमा रानीपोखरी एउटा गहनाजस्तो थियो, त्यसलाई अहिले पूर्ववत् अवस्थामा फर्काउन भूमिका निर्वाह गरेको पनि देखिएको छैन । राजधानी उपत्यका पुरानो मानव बस्तीमध्येको एक हो । यहाँका कलाकौशल र सम्पदा जोगाउने गरी काम हुन सकेको छैन । भूकम्पपछि राजधानीमा खाली जग्गाको आवश्यकता सबैलाई महसुस भएको हो । तर, अहिले टुँडिखेलसमेत मास्ने काम भइरहेको छ । एकपछि अर्को गरी टुँडिखेलमा नेपाली सेनाले समेत आफ्ना भवनले यसलाई भरिरहेको छ । सुनको टुक्राजस्तो काठमाडौंलाई यतिबेला कौडीतुल्य नरकमा रूपान्तरण गर्नेहरूमाथि कसले कारबाही गर्ला ? यस्तो ज्यादती र अन्याय पनि कति सहन गर्नु ? मेलम्ची आयोजना आउनै एक वर्ष अझै कुर्नुपर्नेजस्तो देखिएको छ । त्यो आयोजना आइहाल्यो भने पनि राजधानीबासीका समस्या समाधान भइहाल्ने छैनन् । टेलिफोन र बिजुलीका तारलाई जमिनमुनि राख्ने नाममा फेरि अर्को ठूलो बेथिति भोग्नुपर्ने अवस्था छ । अहिल्यै पनि विभिन्न निकायबीच समन्वय छैन । एउटाले बनाइसक्न पाएको छैन, अर्कोले खन्न थालिसकेको हुन्छ । विकासका नाममा भएको यस्तो ज्यादतिविरुद्धमा बोल्ने नागरिककै अभाव भयो । राजधानी प्रवेशमार्ग थानकोटदेखि कलंकीको अवस्था होस् वा अन्य सडक सबै यस्तै बेहाल अवस्थामा छन् । यो दुःखद अवस्था अन्त्यका निम्ति नागरिक समाजका अगुवाको अगुवाइमात्र भए पनि केही राहत हुन्थ्यो कि ?

प्रकाशित: ५ पुस २०७४ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App