८ वैशाख २०८१ शनिबार
कला

‘गोविन्दा’ बनाउँदै सोनम

मुम्बई–बलिउड मिस्टर परफेक्टसनिष्टका रुपमा परिचित अभिनेता आमिर खान यतिबेला आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’को काम गर्न अन्य सबै काम थाँती राखेर जुटिसकेका छन् । यही फिल्ममा काम गर्न उनले एक बायोपिक फिल्म ‘सल्युट’को प्रमुख भूमिका अर्का अभिनेता शाहरुख खानलाई सुम्पिइसकेका छन् । 
भारतीय सञ्चारमाध्यमका अनुसार महाकाव्य गाथामा फिल्म बनाउने दौडधुपमा रहेका आमिरलाई पछ्याउँदै अभिनेत्री सोनम कपुर पनि अहिले यस्तै दौडाहामा छिन् । बलिउडमा ‘फेसन क्विन’का रुपमा परिचित अभिनेता अनिल कपुर पुत्री सोनमले कृष्ण उदयशंकरको उपन्यास ‘गोविन्दा’को प्रतिलिपि अधिकार लिएकी छन् । यो उपन्यासलाई एक भारतीय पौराणिक थ्रिलरसमेत भनिन्छ । तीन पुस्तकको पहिलो भागका रुपमा लिइने ‘गोविन्दा’लाई महाभारतको आधुनिक पुनर्मिलनको रुपमा फिल्म विश्लेषकले लिएका छन् । सोनमले यसअघि नै अनुजा चौहानको ‘ब्याटल फर बिटोरा’ पुस्तकको प्रतिलिपि अधिकार लिइसकेकी छन् । 
‘म यो दुई किताबमा आधारित रहेर फिल्म बनाउने तयारी गरिरहेकी छु । तर, फिल्ममा म कुन भूमिका निर्वाह गर्छु भन्ने अहिले नै निश्चित भइसकेको छैन,’ उनले भनेकी छन्,‘गोविन्दा एक भारतीय पौराणिक पुस्तक थियो । यो एउटा चखिलो फिल्म हुनेछ । जहाँ धेरै सम्भावना र क्षमता दर्शकले पाउनुहुनेछ ।’
पछिल्लो पटक फिल्म ‘नीरजा’मा देखिएकी सोनमलाई नयाँ सालका लागि फिल्मको लाइन नै लागिसकेको छ । सोनम चाँडै नै सञ्जय दत्तको बायोपिकमा बनेको फिल्ममा छोटा भूमिकामा देखिँदैछिन् । यो बायोपिकको शीर्ष भूमिकामा रणवीर कपुर छन् । 
योबाहेक उनी अक्षय कुमारसँग फिल्म ‘प्याडमेन’मा र अभिनेत्री करीना कपूर खानका साथ फिल्म ‘ वीरे दी वेडिङ’मा देखिँदैछिन् । यी फिल्म पछि सोनम चाँडै नै पिता अनिलका साथ ‘एक लड्कीको देखा तो ऐसा लगा’को तयारीमा जुट्नेछिन् ।

 

प्रकाशित: ५ पुस २०७४ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App