७ वैशाख २०८१ शुक्रबार
राजनीति

उदयपुरका ३७ उम्मेदवारको जमानत जफत

उदयपुर- मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने यहाँका ३ दर्जन बढी उम्मेदवारको धरौटी (जमानत) रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार कूल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेका बिभिन्न राजनीतिक दलसँग आबद्ध तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

चुनावमा कूल खसेको सदर मतको १० प्रतिशत हिस्सा प्राप्त गर्न नसक्ने ३७ जना उम्मेदवारको कानुन बमोजिम जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तोकिए बमोजिम मत ल्याउन नसक्ने ३७ जना उम्मेदवारको धरौटी गुमेको छ’ २ नम्बर निर्वाचन अधिकृत रितबहादुर पुलामीले भने ‘यसमा बिभिन्न दलहरु छन्, कतिपय स्वतन्त्र उम्मेदवार पनि छन्।’

उनका अनुसार उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १० जना र २ मा ९ गरी १९ जना उम्मेदवार थिए। प्रतिनिधिसभामा उम्मेदवारी दिनेले १० हजार र प्रदेशसभामा उम्मेदवारी दिनेले ५ हजार धरौटी राख्नुपर्ने प्रावधान निर्वाचन आयोगले तोकेको थियो । महिलाको हकमा भने त्यो शूल्क ५० प्रतिशत कम थियो । जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा गरी ४ लाख ७ हजार ५ सय रुपैंया धरौटीवापत रकम जम्मा भएको पुलामीले बताए।

१ नम्बर निर्वाचन क्षेत्र र त्यसअन्तरगतका २ प्रदेशसभामा २ लाख ३० हजार तथा १ नम्बर क्षेत्र र त्यसअन्तगतका प्रदेशसभामा १ लाख ७७ हजार ५ सय रुपैंया धरौटी जम्मा भएको अधिकृत पुलामीले बताए । दुवै निर्वाचन क्षेत्र र प्रदेशसभाका गरी ३७ जनाको धरौटी जफत भएको उनले बताए । धरौटी जफत हुनेमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेकका उम्मेदवारहरु रहेका छन् । ठूला ३ दलबाहेक साना दल र स्वतन्त्र १५ जना उम्मेदवारको जमानत जफत भएको अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा (१) बाट उम्मेदवार बनेका ८ मध्ये ६ को धरौटी गुमेको छ । प्रदेशसभा १ (२) का १० मध्ये ८ जनाको जमानत गुमको छ । प्रतिनिधिसभा २ (१) बाट ४ जना र (२) बाट ४ जना गरी ८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एमालेका ३, कांग्रेसका ३ र माओवादी केन्द्रका ३ जनाको मात्र तोकिए बमोजिम जमानत जोगिएको छ ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार १ नम्बर प्रतिनिधिसभामा ७४ हजार १ सय ४ मत खसेकोमध्ये ६९ हजार २ सय १५ मत सदर भएको छ । क्षेत्र नम्बर २ मा जम्मा खसेको ४२ हजार ८ सय ९१ मध्ये ४० हजार २ सय १९ मत सदर भएको थियो ।

यस्तै, प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा (१) मा खसेको ३८ हजार ६ सय ३० मतमध्ये ३६ हजार ४ सय १२ मत सदर भएको थियो भने प्रदेशसभा १ (२) मा ३५ हजार ३ सय ५५ मत खसेकामा ३३ हजार ९ सय २५ मत सदर भएको थियो । प्रतिनिधिसभा २ (१) मा खसेको १७ हजार ९ सय ७० मतमध्ये १७ हजार ११ मत सदर भएको थियो भने २ (२) को २४ हजार ८ सय ८९ मतमध्ये २३ हजार ७ सय २० मत सदर भएको थियो ।

प्रतिनिधिसभातर्फ जमानत जफत हुनेमध्ये सबभन्दा बढी मत १ नम्बरका नेकपा (माले) का उम्मेदवार रामप्रसाद चौलागाईंले पाएका छन् । उनले १ हजार २ सय ९५ मत पाएका छन् । १ मा जमानत जफत हुनेहरूमा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र राई, संघीय समाजवादी फोरम नेपालका गोपाल राई, नयाँ शक्ति पार्टी नेपालका विश्वराज राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) का कनकबहादुर रानामगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अम्बरबहादुर परियार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कसिककुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) का गम्भीरबहादुर कार्की रहेका छन् ।

यस्तै, प्रतिनिधिसभा २ मा जमानत गुमाउनेमा राष्ट्रिय जनता पार्टी नेपालका भूपेन्द्र राई, संघीय समाजवादीका विष्णुबहादुर राई दनुवार, नयाँ शक्तिका खुम्बराज खत्री, एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) का गोपी गिरी, नेकपा (माक्र्सवादी) का शंकर राई, नेपाल मजदुर किसान पार्टीका नैनबहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनका खड्गबहादुर किङरिङ मगर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४ वटा प्रदेशसभातर्फ १ स्वतन्त्रसहित २२ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभा १ (१) मा संघीय समाजवादीका गणेशकुमार राईले सबभन्दा बढी मत ल्याएर जमानत गुमाएका छन् । राईलाई १ हजार ५ सय ४५ मत प्राप्त भएको छ । अन्यले त्यसभन्दा कम मत प्राप्त गरेर धरौटी गुमाएका छन्।

प्रकाशित: ४ पुस २०७४ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App