coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसी गठबन्धन दुई गठबन्धनको मत तान्न सफल

सुरेन्द्र पौडेल/भाषा शर्मा

 

काठमाडौं- प्रदेश नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ठूलो मत आफूतिर आकर्षित गर्न सफल भएको छ । अन्य ६ प्रदेशमा स्थानीय निर्वाचनको अनुपातमै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनले मत प्राप्त गरे पनि २ नम्बर प्रदेशमा भने दुई गठबन्धनको मत तान्न मधेसी गठबन्धन सफल भएको देखिन्छ ।

स्थानीय निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिएका मतदाता प्रतिनिधि तथा प्रदेशसभामा मधेसी गठबन्धनका पक्षमा ‘स्विङ’ गरेको देखिन्छ ।

प्रदेश नम्बर २ मा प्रतिनिधिसभाको ३२ र प्रदेशसभाको ६४ गरी कुल ९६ क्षेत्रका लागि निर्वाचन भएको थियो । यी क्षेत्रमा यसै वर्ष सम्पन्न दुई निर्वाचनमा खसेको मतको तुलना गर्दा स्थानीय निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिएका मतदाता प्रतिनिधि तथा प्रदेशसभामा मधेसी गठबन्धनका पक्षमा ‘स्विङ’ गरेको देखिन्छ ।
प्रदेश २ मा गत असोज २ गते स्थानीय निर्वाचन भएको थियो । स्थानीय निर्वाचनको साढे २ महिनापछि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेसी गठबन्धनले २ नम्बर प्रदेशका दुईतिहाइभन्दा बढी क्षेत्रमा मत बढाएको छ ।

मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा २ नम्बर प्रदेशका ६८ क्षेत्रमा मत बढाएको छ । यहाँको २८ क्षेत्रमा भने मधेसी गठबन्धनले स्थानीय निर्वाचनमा प्राप्त गरेको भन्दा कम मत प्राप्त गरेको छ । स्थानीय निर्वाचनमा राजपा र संघीय समाजवादी फोरम छुट्टाछुट्टै रूपमा निर्वाचन मैदानमा उत्रेका थिए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मधेसका यी दुई पार्टीले गठबन्धन बनाएपछि यसलाई मतदाताले रुचाएको परिणामले देखाएको छ ।  
अन्य प्रदेशमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बढी मत प्राप्त गरेको भए पनि २ नम्बर प्रदेशमा भने वामको भन्दा लोकतान्त्रिक गठबन्धनले मतमा सुधार गरेको देखिन्छ । लोकतान्त्रिक गठबन्धनले स्थानीयको तुलनामा प्रतिनिधि तथा प्रदेशससभा निर्वाचनमा यो प्रदेशको ४१ क्षेत्रमा मत बढाएको छ भने ५५ क्षेत्रमा मत घटेको छ ।
स्थानीय निर्वाचनको तुलनामा प्रदेश नम्बर २ मा सबैभन्दा बढी घाटा वाम गठबन्धनले व्यहोर्नुपरेको छ । वाम गठबन्धनले यहाँ स्थानीय निर्वाचनमा पाएको ठूलो मत गुमाएको देखिन्छ । स्थानीयको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यो प्रदेशमा वाम गठबन्धनले मात्र १९ क्षेत्रमा मत बढाएको छ भने ७७ स्थानमा मत घटेको छ ।

स्थानीय निर्वाचनमा मधेसी गठबन्धनले प्रदेश नम्बर २ का प्रतिनिधिसभातर्फको ३२ क्षेत्रमध्ये ८ मा र प्रदेशसभातर्फ ६४ क्षेत्रमध्ये २३ मा अन्य दुई गठबन्धनले भन्दा बढी मत प्राप्त गरेको थियो । साढे २ महिनापछि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेसी गठबन्धनले प्रतिनिधिसभाका २० क्षेत्र र प्रदेशसभाका ३५ क्षेत्रमा अन्य दुई गठबन्धनले प्राप्त गरेभन्दा बढी मत पाएको छ । स्थानीयको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मधेसी गठबन्धनले थप २४ क्षेत्रमा आफ्नो पकड बढाएको देखिन्छ ।
वाम गठबन्धनले स्थानीय निर्वाचनमा २ नम्बर प्रदेशका प्रतिनिधिसभातर्फका १७ र प्रदेशसभातर्फका ३० गरी कुल ४७ क्षेत्रमा मधेसी र लोकतान्त्रिक गठबन्धनको भन्दा बढी मत पाएको थियो ।
वाम गठबन्धनले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ २० क्षेत्र गरी कुल २७ क्षेत्रमा मात्र अन्य दुई गठबन्धनले भन्दा बढी मत पाएको छ । स्थानीयको तुलनामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले २० क्षेत्र गुमाएको छ ।

लोकतान्त्रिक गठबन्धनले स्थानीय निर्वाचनमा प्रदेश नम्बर २ को प्रतिनिधिसभातर्फका ७ र प्रदेशसभा तर्फका ११ गरी कुल १८ निर्वाचन क्षेत्रमा वाम र मधेस गठबन्धनको भन्दा बढी मत पाएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको जस्तै लोकतान्त्रिकको अवस्था पनि यो प्रदेशमा खस्केको छ । लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा २ नम्बर प्रदेशको प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ ९ क्षेत्रमा मात्र अन्य दुई गठबन्धनको भन्दा बढी मत पाएको छ । स्थानीय निर्वाचनको तुलनामा लोकतान्त्रिक गठबन्धनले ४ निर्वाचन क्षेत्रमा आफ्नो पकड गुमाएको देखिन्छ ।

प्रकाशित: ४ पुस २०७४ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App