coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

काठमाडौं- सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।
फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् ।

फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् ।

‘ती चारवटै निकायले ‘मिलेमतो’ गरी क्याप्टेन अवालेलाई तालिममा पठाउने निर्णय गरेका छन्,’ सम्बद्ध स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘अवाले आगामी शुक्रबार राति साढे ११ बजे निगमकै जहाजबाट सिंगापुर जाँदैछन् । उनले त्यहाँ एक साता बिताउनेछन् ।’
स्रोतका अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जोडबलमा अवालेलाई तालिममा पठाउन अनुमति दिइएको हो । राजस्व अनुसन्धान विभागबाट अवालेले ‘नो अब्जेक्सन सर्टिफिकेट’ ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अद्यावधिक तालिम (सिमुलेटर) पठाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो । राजस्वले अवालेलाई दिएको प्रमाणपत्रमा ‘क्याप्टेन अवालेलाई तारिखमा राखिएको र उनलाई तालिममा विदेश पठाउन आपत्ति छैन’ भनिएको छ ।
राजस्वको पत्रसहित निगमले पर्यटन मन्त्रालयसँग थप अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले ‘कडा सर्त’ राखेर तालिममा पठाउन सकिने र थप प्रक्रियाका लागि उड्डयन प्राधिकरण पठाएको थियो । प्राधिकरणले करिब तीन सातापछि ‘ग्रिन सिग्नल’ दिएको हो ।
यसअघि गत भदौ ८ गते निगमले अवालेलाई तालिममा सिंगापुर पठाउने निर्णय गरेको समाचार अघिल्लो दिन नागरिकमा प्रकाशित भएको थियो । भदौ ८  मध्यरात उडान समय भए पनि अवालेको विदेश भ्रमणको खबर सार्वजनिक हुनासाथ पर्यटन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बराल, उपमहानिर्देशक यज्ञराज कोइराला र अनुसन्धान अधिकृतहरूबीच छलफल भएपछि अवालेको उडान रोक्न निर्देशन दिइएको थियो । त्यसपछि उनको तालिम रोकिएको थियो ।
‘त्यसबेला ‘गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनविपरीत रहेको’ भन्दै अवालेलाई विदेश जान रोकेका पर्यटन मन्त्रालय, राजस्व अनुसन्धानजस्ता निकायले अहिले आफैं उनलाई तालिममा पठाउन अनुमति दिनु मिलेमतो नभएर के हो ?’ स्रोतले भन्यो, ‘उनीमाथि जे अभियोग छ, त्यसको छिनोफानो भएको छैन भने उनलाई तालिममा पठाउन मिल्दैन, यो कानुनविपरीत हो ।’
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अवालेलाई तालिममा पठाउनुअघि केही कडा सर्त बनाइएका छन् । अवालेमाथिको अनुसन्धान प्रभावित हुन नहुने, तालिममा जाँदा लाग्ने खर्च धरौटीबापत अवालेसँग लिनुपर्ने, निगम सञ्चालक समितिबाट पनि अनुमति लिनुपर्ने, सिंगापुरबाट फर्किएनन् वा भविष्यमा मुद्दा हारे भने त्यसबापतको सबै खर्च निगमका महाप्रबन्धक कंसाकारले लिनुपर्नेलगायत सर्त छन् । सर्तनामामा कंसाकारले हस्ताक्षर गरेका छन् ।
क्याप्टेन अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेलाई राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अवैध डलर बरामद भएको थियो । कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ ।
त्यसपछि उनलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको थियो । एक महिना हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता विभागले उनीबारे अनुसन्धान गरिरहेको छ । धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि निगममा जागिर खाएर मासिक ३ देखि ४ लाख रुपैयाँ तलब बुझिरहेका छन् ।
स्रोतका अनुसार निगमको अपरेसन विभागको सिफारिसपछि महाप्रबन्धक कंसाकारले अवालेलाई तालिममा सिंगापुर पठाउने निर्णय गरेका थिए । धरौटीमा रिहा भएलगत्तै पनि कंसाकारले अवालेलाई निलम्बन गर्नुको सट्टा उल्टै जहाज उडाउन दिने निर्णय गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेका थिए । तर, प्राधिकरणले फौजदारी मुद्दाको किनारा नलागेका कारण अवालेलाई जहाज उडाउन दिन नमिल्ने भन्दै रोकेको थियो ।
पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राजस्व अनुसन्धान विभाग, अदालत वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कतैबाट पनि क्याप्टेन अवालेलाई निलम्बन गर्न निर्देशन नआएका कारण लाइसेन्स अद्यावधिक गर्न उनलाई सिंगापुर पठाउने निर्णय गरेको महाप्रबन्धक कंसाकारले बताउँदै आएका छन् ।
स्रोतका अनुसार फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई थप लाखौं लगानी गरी लाइसेन्स अद्यावधिक गर्ने भन्दै विदेश तालिममा पठाउने निर्णयमा निगम व्यवस्थापनले विवेक प्रयोग गरेन । उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ ।
निगम सम्बद्ध अधिकारीका अनुसार अवालेको तालिममा १४ हजारदेखि १६ हजार अमेरिकी डलर (१४ लाखदेखि १६ लाख रुपैयाँ) खर्च लाग्नेछ । त्यसबाहेक उनले  दैनिक २ सय डलर (२० हजार रुपैयाँ) भत्ता पाउनेछन् ।  
नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ ।
‘क्याप्टेन अवालेको फौजदारी अभियोगको अन्तिम किनारा नलागेसम्म हामी उनलाई उडाउन भने दिँदैनौं,’ ती अधिकारीले भने, ‘यात्रु र जहाजको सुरक्षाको विषय भएकाले यसप्रति हामी गम्भीर छौं ।’
करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए ।

प्रकाशित: ४ पुस २०७४ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App