coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नातिकाजी सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं– गीत ‘रिटिङ रिटिङ नबजाऊ विनायो’का सर्जक गायक एलपी जोशीलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४’ प्रदान गरिने भएको छ । संगीतकार नातिकाजी श्रेष्ठको सम्झनामा स्थापित संस्था नातिकाजी स्मृति समाजले सोमबार नातिकाजीकै निवासमा आयोजित उनको ९३ औं जन्मजयन्तीमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
समाजले सात स्रष्टालाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७४’बाट सम्मानित गर्ने निर्णय गरेको छ । समाजले गायकहरू प्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, रमेश ताम्राकार, प्रेमराजा महत, गीतकार डा. भोला रिजाल, , डा.अरुण सायमी र पत्रकार पुष्करलाल श्रेष्ठलाई यो सम्मान प्रदान गर्नेछ ।
यसैगरी ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७४’ गीतकार सुवासचन्द्र ढुंगेल, गायिका कोमल वली, संगीतकार नारायण वली र गायक राजेशपायल राईलाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले संगीतकार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायिका मीना निरौलालाई ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार २०७४’ प्रदान गर्ने जनाएको छ । समाजका अनुसार सम्मान तथा पुरस्कार छनोटका लागि गायक योगेश बैद्यको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

कार्यक्रममा गीतकार रत्मशमशेर थापाले नातिकाजी नेपाली माटोको संगीत भर्ने संगीतकार रहेको जनाउँदै आफ्नो जीवनजस्तै उनको संगीत पनि सरल जीवनशैलीजस्तै रहेको बताए । उनले त्रिचन्द्र कलेजमा २०१८ सालमा नातिकाजीसँगै पढेको स्मरण गर्दै नेपाली गीत संगीतको क्षेत्रमा नातिकाजीको योगदानलाई आधुनिक पुस्तामा हस्तान्तरण गनुपर्नेमा जोड दिए । यस्तै, समाजका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नेपाली संगीतलाई चीरकालसम्म जिवन्त राख्न नातिकाजीको संगीत कोशेढुंगा सावित हुने बताए ।

 

प्रकाशित: ४ पुस २०७४ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App