८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘म पार्टी अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ’

काठमाडौं महानगरपालिका पूर्वमेयर तथा काठमाडौं निर्वाचन क्षेत्र– ६ ‘क’ प्रदेशसभाका लागि विजयी केशव स्थापितसँग हिमाल लम्साल र खिलक बुढाथोकीले समसामयिक विषयमा गरेको कुराकानी:

धेरै पार्टीमा कुद्नुभयो, तर सांसद हुन एमालेबाटै जुरेको रहेछ । कस्तो अनुभूति भइरहेको छ ?

सांसद भएपछि निकै खुसी छु । यसअघि महानगरपालिकाको मेयर भएर पनि काम गरेँ । त्यसपछि काम गर्न पाउने निकायमा भइनँ । त्यसैले अहिले प्रदेश सांसद भएपछि चुनौती र अवसर दुवै पाएको छु । अब सपना देखाउने मात्रै होइन, काम गरेरै देखाउने गरी अघि बढ्नेछु । त्यसैले मुख्यमन्त्रीको दाबेदारमा छु ।

बजारमा त मुख्यमन्त्रीको चर्चा अरुकै छ, पार्टीले तपाईंलाई मुख्यमन्त्री बनाउला त ? 

म पार्टीका अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ । पार्टीको अध्यक्षसँग जोडिएको मान्छेलाई नबनाउलान् जस्तो लाग्दैन । सिनियरहरूले सिनियर पोस्ट नै ताक्नुपर्छ । त्योभन्दा सभामुख भए के होला ? सम्मानचाहिँ मुख्यमन्त्रीभन्दा ठूलो सभामुख नै हो नि ! हिजो पार्टीले केही व्यक्तिलाई काम गर्न सक्छन् भनेर मेयरमा उठायो । उपयुक्त पात्र भनेर जिताइयो । तर उनीहरूले सोचेअनुसार काम गर्न सकेनन् भनेर अनौपचारिक रूपमा व्यापक छलफल भइरहेको छ । उपयुक्त ठाउँमा पुगेर काम गर्न नसकेपछि राष्ट्रिय बेइज्जती भयो भनेर पार्टीपंक्तिमा छलफल भइरहेको छ । पार्टीको नाम पनि गुम्यो अनि जनताले पनि दुःख पाए। त्यसैले मेरो महान् पार्टीले अब गल्ती गर्दैनजस्तो लाग्छ । हामीजस्तो काम गर्नेलाई अवसर दिनुप¥यो नि ! पार्टीभित्र सबैलाई मेरो क्षमता थाहा छ । म आफ्नो क्षेत्रमा मात्रै सीमित रहन्न । त्यसैले सबै निर्वाचन क्षेत्रमा खटिएरै लागेको हुँ ।

प्रदेश तीनको मुख्यमन्त्री भए के के गर्नुहुन्छ ?

तीन नम्बर प्रदेश प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यो प्रदेशमा नपाइने भन्ने चिज नै छैन । अहिले व्यवस्थापन गर्न मात्रै नजानिएको हो । सही ढंगले व्यवस्थापन गर्न सके केही वर्षभित्रै काँचुली फेर्न सकिन्छ । त्यसमा योजनाबद्ध भएर लाग्नुपर्ने हुन्छ । चितवन, धादिङ, मकवानपुर, नुवाकोटका भू–भागलाई समेटेर पाँच लाख रोपनी क्षेत्रमा नयाँ अत्याधुनिक सहर बनाउने योजना बनाएको छु । त्यस आसपास पाँच–सात सय मिटरको दायाँ–बायाँ क्षेत्रमा ल्यान्डपुलिङ (जग्गा एकीकरण) मार्फत नै बस्ती बसाल्नेछु । त्यस्तै पानी, विद्युत्को अभाव हुनेछैन । भूकम्प प्रतिरोधात्मक भवन बनाउनेछु । जहाँ जातीय घुलनदेखि जातीय संहिष्णुतायुक्त क्षेत्र बनाउने लक्ष्य राखेको छु । दोलखालाई कृषि र पशुपालनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्नेछु । रामेछापमा जलविद्युत्को प्रचुर सम्भावना छ । त्यसलाई समेटेर अघि बढ्ने योजना छ । बोधीचितको केन्द्रबिन्दुका रूपमा स्थापित गरिनेछ । त्यस्तै, सिन्धुलीगढी आसपास क्षेत्रलाई समेटेर रिङरोड बनाउने परिकल्पना गरेको छु । तीन नम्बर प्रदेश बहुमूल्य पत्थरदेखि प्राकृतिक रूपमा निकै धनी छ । ती प्रचुर सम्भावनालाई उचित व्यवस्थापन गरेर अघि बढ्ने हो । केरुङबाट नुवाकोटसम्म रेलमार्ग ल्याउनेछौँ । त्यस क्षेत्रमा सुक्खा बन्दरगाह बनाएर अर्थतन्त्रलाई सुधार्नेछौँ । धादिङमा पानीको प्रचुर सम्भावना छ । धादिङबाट खर्बौं रुपैयाँका निर्माण सामग्री नै बिक्री–वितरण गर्न सकिन्छ । रसुवा खानी क्षेत्र हो । जस्ता, युरेनियन लगायत खनिज पदार्थबाट धेरै फाइदा लिन सक्छौँ ।

यो क्षेत्र प्राकृतिक र सांस्कृतिक दुवै हिसाबले सम्भाव्यता व्यापक रहे पनि बोलेजसरी व्यवहारमा उतार्न सकिएला ?

यो ईश्वरले वरदानस्वरूप दिएको क्षेत्र हो । त्यसैले प्रदेश ३ प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । सम्भावना हुँदाहुँदै पनि उचित व्यवस्थापन गर्न नसक्दा अहिले हामी पछि परेका हौँ । अहिले केन्द्रमा एउटा सरकार, स्थानीय तहमा अर्काे पार्टीको सरकार भएर समन्वयका अभावले नै काम हुन नसकेको हो । अब त त्यस्तो वातावरण छैन । स्थानीय सरकार पनि वाम गठबन्धन नेतृत्वकै बहुमतको सरकार छ । अब प्रदेश सरकार र केन्द्रीय सरकार पनि हाम्रै नेतृत्वमा हुनेछ । त्यसैले अब हामीले अवरोधविनै काम गर्न सक्छौँ । अब प्रदेश सरकारले नै कन्स्ट्रक्सन कम्पनी, पूर्वाधार बैंक र इन्भेस्टमेन्ट खोल्नुपर्छ । सरकार मातहतकै निर्माण कम्पनी बनेपछि कमसल खालका संरचना बन्ने डर हुँदैन । पूर्वाधार बैंक र इन्भेस्टमेन्ट कम्पनीले सहजै लगानीको वातावरण बन्नेछ। जसकारण कार्यसम्पादन गर्न सहज हुनेछ । हाम्रो मुलुक कर्मचारी संयन्त्रले पनि अघि बढ्न नसकेको हो । त्यसैले अब राम्रो काम गर्ने कर्मचारीलाई ‘हायर’ र खराब चरित्रका कर्मचारीलाई ‘फायर’ गर्ने नीति लिएर नै अगाडि बढ्नुपर्छ ।

मुख्यमन्त्री बन्ने सपना साकार हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

पार्टीले मुख्यमन्त्री नबनाए मेरो एजेन्डामा प्रतिबद्ध भएरै लाग्नेछु । मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता हो । त्यो पूरा गर्न प्रदेश सांसद भएर पनि गर्न सकिन्छ । जुनसुकै नेतृत्वमा आए पनि जनताको आवश्यकता अनुसारको विकास निर्माणको काम नगरी सुखै छैन । त्यसैले सबैसँग मिलेर अघि बढ्नुपर्छ ।

तपाईं सपना मात्रै बाँड्नुहुन्छ, काम पूरा गर्नुहुन्न भन्छन् नि ?

यो मेरा विपक्षी र इष्र्या गर्नेले भन्ने कुरा मात्रै हो । मेरो बुवा अस्पतालमा छटपटाइरहेका बेला समेत माइतीघर मण्डला विस्तार गरेको हुँ । मेरो कर्म नै काम गर्ने हो, जे गर्दा जनता खुसी हुन्छन् । राजा महेन्द्रले ताकेको सोल्टीमोडदेखि कलंकीको बाटो मैले नै तोडेको होइन ? मलाई त्यो बेला तीन हजार मान्छेले हमला गरे । त्यो बेला बाटोमै कुस्ती खेलेको मान्छे हुँ । मलाई सप्पैले प्रशंसा गर्छन् । केही मान्छे मबाट आतंकित छन्, किनभने मैले राजनीति समाप्त पारिदिन्छु भन्ने उनीहरुलाई डर छ । उनीहरूले नानाथरीका प्रोपगान्डा मात्रै मच्चाउने गरेका हुन् । नयाँबजारमा जग्गा एकीकरण गर्दा ममाथि नै सांघातिक आक्रमण नै भयो । तर, अहिले जग्गा एकीकरणमार्फत बस्ती बसाल्ने कार्य संसारभर नै प्रख्यात भइराखेको छ ।

तपाईंले बाँडेका सपना व्यावहारिक रूपमा कार्यान्वयन गर्न कतिको अप्ठेरो छ ?

मैले बाँडेका सपना पूरा गर्न केही अप्ठेरो छैन । त्यो काम गर्ने अवसर मलाई दिनुप¥यो, सहजै कार्यान्वयन गरेर देखाइदिन्छु । अबको विकास ल्यान्ड पुलिङ (जग्गा एकीकरण) र हाउस पुलिङमार्फत नै गर्नुपर्छ । तत्कालका लागि जग्गा एकीकरणमार्फत काम गर्दा जग्गाधनीको जग्गाको लागत घट्छ । किनकि यहाँ सबै प्रकारका व्यवस्थित पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । अन्ततः जग्गाधनीलाई फाइदा नै पुग्ने हो । त्यो कुरा हामीले जनतालाई बुझाउन मात्रै नसकेको हो । आनाको ५० लाख पर्ने जग्गा एकीकरणमार्फत सोही जग्गा दुई करोड पर्ने हुन्छ ।

तीन नम्बर प्रदेशको राजधानी कहाँ हुनुपर्ला ?

हाललाई तीन नम्बर प्रदेशको राजधानी काठमाडौं उपत्यकामै हुनुपर्छ । किनकि अन्य जिल्लामा तत्कालै नयाँ संरचना बनाउन अप्ठेरो छ । केही समयभित्रै चितवन, धादिङ, मकवानपुर, काभ्रेलगायत क्षेत्र समेटेर नयाँ सहरीकरण गरेर अत्याधुनिक सहर बनाइन्छ । त्यसैले सोही पायक पर्ने क्षेत्रमै प्रदेशको स्थायी राजधानी बनाउन उपयुक्त हुन्छ ।

प्रदेशसभा र सरकारसँग खासै अधिकार रहँदैनन्, तपाईंका सपना कसरी पूरा गर्नुहुन्छ ?

प्रदेश सरकारको छुट्टै अधिकार र क्षेत्राधिकार रहेका छन् । प्रदेश सरकारले धेरै ठाउँमा राम्रो काम गरेर देखाउने अवसर पाएका छन् । यसैको ज्वलन्त उदाहरण हो– भारतको गजुरातका मुख्यमन्त्री नरेन्द्र मोदीले प्रदेश सरकारबाट उत्कृष्ट काम गरेरै भारतको नेतृत्व सम्हाल्ने मौका पाए । पार्टीमा उनीभन्दा कैयौँ ठूला व्यक्ति थिए । अवसर त उनैले पाए नि । त्यसैले प्रदेश सरकारले राम्रो काम गर्न सके मुलुक हाँक्ने नै जिम्मेवारी प्रदेश सरकारकै प्रमुखले पाउने रैछन् । त्यसैले आशावादी भएरै अघि बढ्नुपर्छ । प्रदेश सरकारको खुबी नभएको खण्डमा कारिन्दा मात्रै हुन्छ । खुबी भयो भने त ऊ सरकार तथा शासक नै भयो नि । यो प्रदेश ‘इनलाइट हाउस’ हो । यहाँ राम्रो जे हुन्छ, त्यो सबै अन्य प्रदेशले सिक्ने गर्छन् ।

तपाईंले विदेशी पर्यटकलाई रारातालमा पौडी खेलाउने भन्नुभएको छ, यो कसरी सम्भव छ ?

गणेश हिमालको फेदमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने मेरो योजना हो । टे«निङ सेन्टर बनेसँगै खेलाडी उत्पादन मात्रै होइन, यसलाई विदेशी पर्यटक आकर्षणको केन्द्रबिन्दु बनाउन समेत सकिन्छ । हाई अल्टिच्युट टे«निङ सेन्टरबाट खेलाडी उत्पादन गर्न सके अन्तर्राष्ट्रिय पदक ल्याउने सम्भावना उत्तिकै हुन्छ । त्योसँगै पर्यटनमार्फत आम्दानीको स्रोत समेत बढाउन सकिन्छ । रारामा स्पोर्टस फेस्टिभल मनाउन सकिने पर्याप्त आधार रहेका छन् । अहिले रारा पुग्दा जो–कोहीलाई रिंगटा लाग्ने अवस्था छ । त्यसैले त्यहाँका स्थानीय युवायुवतीले सहजै रारातालमा पौडी खेल्न सक्छन् । विदेशी पर्यटकलाई बोलाएर पौडी प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । हामीसँग जे खुबी छ, त्यसैलाई नै सदुपयोग गर्न सकिन्छ । त्यहाँका मान्छेले गर्न सक्छन्, त्यसैले सोहीअनुसारको खेल प्रवद्र्धन गर्न सकिन्छ ।

कामनपा मेयरका सय दिनको एक सय एक कार्यक्रमको डिजाइनर समेत हुनुहुन्थ्यो, तर सम्पूर्ण काम हुन सकेन नि ?

मेयरसाप नयाँ पर्नुभयो । केन्द्रीय सरकारले स्थानीय तहलाई काम गर्ने वातावरण नै बनाइदिएन । उपत्यकामा भएका सडक निर्माण र मर्मत–सम्भारको जिम्मेवारी अर्कै संयन्त्रको छ । महानगरको जिम्मेवारीभित्र नपर्ने भएकाले पनि काम गर्न असहज भएको हो । यहाँ समन्वयको अभाव जताततै छ । त्यसैले काम गर्न अप्ठेरो भएको होला । त्यस्तै, कानुनी जटिलताले समेत द्रूत गतिमा काम अघि बढ्न नसकेको हुनुपर्छ । सय दिनमा गर्नुपर्ने एक सय एक कामको ड्राफ्ट मैरे हो । उहाँले के कारणले काम गर्न सक्नुभएन, त्यो मलाई थाहा भएन ।

‘गगन थापाको राजनीतिक भविष्य नै सिध्याइदिन्छु’ भन्दै हराउन लाग्नुभयो ? उनले निर्वाचन त जितिछाडे नि ?

गगन थापा हारेकै हो । किनभने प्रधानमन्त्री शेरबहादुर देउवासँग त्यो विषयमा कुरा गरेँ । थापाले अहिले पनि हिसाब (प्याक्ट नामक संस्थाबाट अनुदान  रकम लिएको)  बुझाउनुभएको छैन । अहिले उहाँले रकम लिएकै छैन भन्नुभयो । यसमा भनेर मात्रै हुँदैन, कागजात पेस गर्नुपर्छ, त्यो उहाँको काम हो । पैसा लिएकै छैनन् भनेर प्याक्ट किन आयो ? त्यसैले प्रधानमन्त्री देउवाले प्याक्टलाई दबाब दिएको बुझिन्छ ।

यसमा थापाले कागज पेस गर्नुपर्ने हो । तर, प्याक्टलाई किन अघि सार्नुप¥यो ? त्यो भनेकै अधिनायकवाद हो । जनताले हिसाब मागेपछि मैले पनि मागेको हुँ । गगनको कुरामा राज्य किन अघि आयो ? अवश्य नै प्रधानमन्त्री देउवाको निर्देशनमा प्याक्टले विज्ञप्ति गरेर प्रतिरक्षा ग¥यो । त्यो प्याक्टले गर्ने होइन नि । मुख्यमन्त्री भए पनि हिसाबकिताब त खोजिन्छ । बम पड्केपछि सहानूभूति भोट आएर उहाँले जित्नुभयो । तर, सरकारले त्यो पटका बम हो कि साँच्चिकै बम हो भन्ने पत्ता लगाउनुपर्दैन ? निर्वाचन अभियान नै रोकेर विशेष छानबिन गर्नुपथ्र्यो नि होइन ? उनीहरूले गरेनन्, त्यसैले उक्त घटना रहस्यात्मक नै छ ।

उपत्यकाको सडक विस्तार किन अघि बढ्न नसकेको होला ?

यसमा मेरो सूत्र लागू नभएर सडक विस्तार हुन नसकेको हो । जग्गा एकीकरणमार्फत नै हरेक विकास निर्माणको काम गर्नुपर्छ । तब मात्रै सहज रूपमा काम गर्न सकिन्छ । नागढुंगा–त्रिपुरेश्वर सडकखण्डको मापदण्ड दायाँ–बायाँ २५–२५ मिटर मापदण्ड तोकियो । तर, सरकारले स्थानीयलाई चलनचल्ती अनुसारको क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराएन । यसमा दायाँ–बायाँ गरे ५० मिटरको होइन, ७० मिटरको बाटो बनाउनुपथ्र्यो । त्यो क्षेत्रमा बाटोको पाँच सयदेखि सात सय मिटर वरपर बस्ती भत्काएरै एकीकृत बस्ती बसाल्नुपथ्र्यो । तर, त्यो हुन सकेन । बाटोछेउका घरधनी सबै विस्थापित हुनुपर्ने भयो, उनीहरूलाई राज्यले चलनचल्ती अनुसारको मुआब्जा दिएन । त्यसैले स्थानीय आक्रोशित भएका हुन् । त्यो ठाउँमा जग्गा एकीकरणमार्फत नै व्यवस्थित गर्नुपथ्र्यो । कोही विस्थापित हुँदैनथे । त्यो हुन नसक्दा अहिले समस्या उब्जिएको हो । जनतालाई दुःख दिएर मात्रै समस्या समाधान हुँदैन । चलनचल्तीमा ५० लाख आना पर्ने जग्गालाई सरकारी नियमअनुसार ६ लाख उपलब्ध गराउँदा समस्या भएको हो।

तपाईंले आफ्नो कार्यकालमा नयाँ बसपार्क र धरहराको स्वामित्व, भोगचलन निजी क्षेत्रलाई दिनुभयो, तर उनीहरूले कमाइखाने भाँडो मात्रै बनाए नि ?

सरोकारवाला निकाय काठमाडौं महानगरपालिकाले यसलाई हेर्नुपर्ने हो । पहिला धरहरा र नयाँ बसपार्क क्षेत्रमा चोरी लुटपाट र अस्तव्यस्त हुन्थ्यो । यहाँ विभिन्न प्रकारका उच्छृंखल तथा आपराधिक क्रियाकलाप हुन्थ्यो । त्यो बेला बसपार्क क्षेत्रमा सवारीसाधनभित्रै एउटी महिलाको बलात्कार समेत भयो । त्यसको नैतिक जिम्मेवारी समेत मेयरले लिनुप¥यो भनेर दोषजति ममाथि थुपारेर अराजक राजनीति गर्न थालियो । त्यसपछि बसपार्क र धराहराको रेखदेख, सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको हो । अब ती निजी क्षेत्रलाई नियम–कानुनमा बाँध्ने काम महानगरको हो । अब म मुख्यमन्त्री भएँ भन्ने त्यसको जिम्मेवार लिएर नै अघि बढ्नेछु ।

तपाईंले काठमाडौंमा ‘लभ पार्क’ बनाउने भन्नुहुन्थ्यो ?

अहिले पनि लभ पार्कको आवश्यकता उत्तिकै छ । प्रेम भन्नाले युवायुवतीको उच्छृंखल गतिविधि मात्रै होइन । प्रकृतिसँग नजिकिने, चराचुरुंगीको आवाज सुन्ने, विभिन्न थरीका जनावर हेर्ने, घुलमिल गर्ने कुरा हो । बालाजुमाथि लभ पार्क बनाउन २७ सय पृष्ठको योजना बनाइसकेको छु । मुख्यमन्त्री हुनेबित्तिकै लभ पार्कको योजना अघि बढाउनेछु । प्रदेशमा सयौँभन्दा धेरै स्थानमा लभ पार्क बनाएर प्रेमिल वातावरण बनाउनेछौँ ।

पाँच वर्षभित्रै उपत्यकामा मोनोरेल ल्याउनुहुन्छ त ?

मोनोरेल त होइन, ‘सस्पेन्सन्स’ रेल–वे भने पक्कै ल्याउनेछु । यो एक प्रकारको केबल कारजस्तै हुन्छ ।

असरल्ल र भद्रगोल काठमाडौं उपत्यकालाई सुधार्ने योजना के छ ?

अब कम्तीमा दुई वर्षभित्रै उपत्यकाको भद्रगोल अन्त्य हुनेछ । उपत्यकामा अबको डेढ वर्षपछि धुलोको अन्त्य हुनेछ । मेलम्चीको पानी आउनेछ । बिजुलीको समस्या हट्नेछ । उपत्यकामा अकासेपानी संकलनका लागि ‘रिजरभोयर’ बनाएर व्यवस्थित गर्नेछौँ । सहरी सेवा केन्द्र बनाएर जनताको पीर तथा मर्काको अन्त्य गरिनेछ । केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा, युवाका लागि खेलकुदको गतिविधि, ज्येष्ठ नागरिकको  हेरचाह केन्द्र, सस्तोमा खाना तथा आवासको समेत व्यवस्था गर्नेछौँ । त्यसपछि त जनताको अन्य आवश्यकताको परिपूर्ति गर्नेछौँ ।

 

उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको योजना के छ ?

उपत्यकामा दुई वर्षभित्रै ट्राफिक जामको अन्त्य गर्छाैं । सबै ठाउँमा कार पार्क बनाइनेछ । भित्री सडकमा गाडी प्रतिबन्ध लगाइनेछ । पुरानो बसपार्क बन्दैन । सवारीसाधन पिक तथा ड्रप मात्रै गरिनेछ । साझाको भन्दा ठूला पाँच सय बस मगाइनेछौँ । जसमा अपांग र महिला तथा ज्येष्ठ नागरिकमैत्री सवारीसाधन गुडाइनेछ । देश बनाउने भनेको मःमः बनाएजस्तै हो ।

प्रकाशित: ३ पुस २०७४ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App